पोखरा स्पोर्टस अवार्ड

करण र सावित्रा वर्ष खेलाडी

काठमाडौं । क्रिकेट किरण केसी र फुटबलकी सावित्रा भण्डारी सातौं पोखरा स्पोर्टस अवार्डमा वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शनिबार सम्पन्न कार्यक्रममा करण पुरुष तथा सावित्रा महिलातर्फ वर्ष खेलाडी घोषित भएका हुन् । दुवैले टेल्जीको इलेक्ट्रिक स्कुटर र ट्रफी प्राप्त गरे ।

करणले आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदिप खड्कालाई पछि पारे । करण बागलुङ, गंगाबहादुर तनहुँ र प्रदिप कास्कीका हुन् ।

सावित्राले आर्चरीकी रोजिना थापा मगर र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगरलाई पछि पारिन् ।  रोजिना र सुस्मिता बागलुङका हुन् भने सावित्रा लमजुङका हुन् ।

क्रिकेटका सुवास भण्डारी उदियमान खेलाडी चुनिएका छन् । सुवासले भलिबलका रवी केसी र फुटबलका सुमित श्रेष्ठलाई पछि पारे । सुवास र रवी बागलुङ तथा सुमित कास्कीका हुन् ।

लन टेनिसका निरज थापा र आइटिएफ तेक्वान्दोका सुरज सुनारलाई पार्दै आर्चरीका किशोरकुमार गुरुङ वर्ष उत्कृष्ट प्रशिक्षक चुनिए । गुरुङ स्याङजा तथा थापा र सुनार कास्कीका हुन् ।

यसैगरी उत्कृष्ट खेल पत्रकारको अवार्ड सागरराज तिमिल्सिना, लाइफटाइम अचिभमेन्ट अवार्ड बक्सिङ प्रशिक्षक विद्याप्रसाद मर्सानी तथा वर्ष उत्कृष्ट खेल संस्था वा क्लबतर्फको अवार्ड कास्की जिल्ला ह्यान्डबलसंघलाई प्रदान गरिएको छ ।

वर्ष उत्कृष्ट उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबतर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी प्राप्त गरेका छन् ।

लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गरेका मर्सानीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिएको छ।

नवौं राष्ट्रिय खेलकुदका क्रममा ज्यान गुमाएका प्याराग्लाइडिङका खेलाडी निसिन थापालाई योगदानको कदर गर्दै कीर्तिशेष सम्मानबाट सम्मानित गरियो ।