आन्तरिक द्वन्द्वमै रुमल्लिएको फुटबल

काठमाडौं । आन्तरिक द्वन्द्व, आपसी कुण्ठाको रोपाइँ र गोडमेल अनि विवादै विवादमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले वर्ष २०८० बिताएको छ । 

नतिजा ? स्वाभाविक थियो, उपलब्धिभन्दा धेरै निराशा । ठुल्ठूला दाबी तर यथार्थमा शून्यभन्दा पनि तल । 

नेपालको फुटबललाई केन्द्रमा राखेर स्मरण गर्ने हो भो समग्रमा यो वर्ष बिर्सनलायक रह्यो । मैदानभित्र र प्रशासनमा पनि आशाको सञ्चार गराउँदै क्रिकेटले सर्वत्र चर्चा कमाइराख्दा एन्फाको दैनिकी द्वन्द्वमात्रै रह्यो । घरेलु लिग हुन सकेन । सहिद स्मारक लिगको साइकल अलपत्र रह्यो । समाचारका शीर्षकमा सधैं विवाद, अस्थिरता, निराशा, भ्रष्टाचार, अपारदर्शिता, यस्तै यस्तै । 

दुई वर्षअघि निर्वाचनले पंकजविक्रम नेम्वाङको नेतृत्वमा एन्फालाई नयाँ कार्यसमिति दियो । बहुमतसहित एन्फा चलाउन आएका नेम्वाङ पहिलो कार्यसमिति बैठकबाटै विवादमा आउन थाले । 

आफूखुसी निर्णय गर्दा बहुमत सदस्यले साथ छाडेका छन् । हालसम्म भएका हरेक कार्यसमिति बैठक र साधारणसभा विवादमुक्त हुन सकेको छैन ।

 

यही वर्ष नेतृत्वले इतिहासमै पहिलो पटक अविश्वास प्रस्तावको सामना गर्नुपर्यो । कात्तिक २३ गते हेटौंडामा भएको साधारणसभाबाट अध्यक्ष नेम्वाङले विश्वासको मत पाए । प्राविधिक रूपमा हेर्दा झनै बलियो भए । तर, फुटबल हाँक्ने मामिलामा उनी त्यसपछि अझै कमजोर बने । 

आफूखुसी विभिन्न निर्णय गरेको, आर्थिक पारदर्शिता नभएको, आफ्ना पक्षमा उभिनेलाई विदेश भ्रमणमा पठाउने र विपक्षमा रहेकालाई पनि विदेश भ्रमणलगायत लोभ देखाउने आरोप लाग्यो । केही मुद्दा अदालतसम्म पुगे ।  

यही कार्यसमितिले अघिल्लो फागुन १९ बाट जेठ २७ सम्म सहिद स्मारक ‘ए’ डिभिजन लिग आयोजना गरेको थियो । पहिलो संस्करणमै चर्च ब्वाइज युनाइटेड च्याम्पियन भयो । तर, विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले फिक्सिङ भएको, प्रतिस्पर्धी थ्री स्टार क्लबले विना भिसा विदेशी खेलाडी खेलाएको भन्दै पटक पटक उजुरी गरेको थियो । 

नतिजाले एपिएफलाई ‘बी’ डिभिजनमा झारिसकेको छ । तर, उसले थ्री स्टारविरुद्ध गरेको उजुरी सफल भए एपिएफको शीर्ष डिभिजन हैसियत जोगिन्छ । थ्री स्टारको नियतिमा रेलिगेसन पर्छ । तर नेतृत्वले राजनीतिक रणनीतिअनुरुप आलटाल गर्दा लिग सकिएको १० महिना बितिसके पनि यसको निक्र्योल हुन सकेको छैन । 

‘ए’ डिभिजन लिगलगत्तै ‘बी’ डिभिजन लिग हुने भनिए पनि दुई वर्षदेखि हुन सकेको छैन । ‘बी’ डिभिजन लिग हुने या नहुने अझै टुंगो लाग्न सकेको छैन । एक पदाधिकारीले अदालतमा एन्फाविरुद्ध मुद्दा दायर गरेका कारण ‘बी’ डिभिजन लिगको टोली मध्यपुर युथ एसोसिएसनविरुद्ध गरेको कारबाहीको टुंगो लागेको छैन । 



वर्षको अन्तिममा चैत २२ देखि सहिद स्मारक ‘सी’ डिभिजन लिग सुरु भएको छ । १४ टोली सहभागी लिगमा ९१ खेल हुनेछ । त्यसबाट दुई टोली बढुवा हुने र दुई टोली रेलिगेसनमा पर्ने एन्फाले जनाएको छ । 

तर, अब हुने सहिद स्मारक ‘बी’ डिभिजनमै बढुवा हुने दुई टोलीले खेल्ने कि के गर्ने टुंगो छैन । बी डिभिजनकै १४ मध्ये कुन टोली उक्लने र कुन टोली रेलिगेसनमा पर्ने टुंगो लाग्न सकेको छैन । 

डिभिजन लिगको साइकल पूरा नहुँदा निजी कम्पनीको आयोजनामा फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण आयोजना भयो । मंसिर ८ देखि सुरु भएको प्रतियोगिता पुस १४ सम्म भएको थियो । फाइनलमा पुनः धनगढी पराजित भयो । ललितपुर सिटी क्लब पहिलो पटक च्याम्पियन भयो । एन्फाले आफैं केही नगरे पनि यो एक महिना नेपाली फुटबल मैदानभित्रै चलायमान भयो । 

यही वर्ष खेलाडी पलायनको क्रम रोकिएन । नेपाली फुटबलको टिठलाग्दो अवस्थाबाट निराश भएर सुखद भविष्यको खोजीमा विदेसिन खोज्ने प्रतिभा रोक्न एन्फा नेतृत्वले माखो मारेन । बरू कागजी प्रक्रिया सहज बनाइदिँदा ६०–७० को हाराहारीमा यो वर्ष पनि खेलाडीहरू अस्ट्रेलिया, अमेरिका, युरोप र खाडी मुलुकमा पुगे । 

महिला फुटबलमाथि एन्फाले गरेको अन्यायले यो वर्ष पनि निरन्तरता मात्र पाएन । झनै क्रुर भयो । महिलातर्फ कुनै घरेलु प्रतियोगिता नै भएन । महिला फुटबलरले अघिल्लो वर्षझैं यसपालि पनि घरेलु फुटबलमा खुट्टा चलाउन पाएनन् । 



अघिल्लो कार्यसमितिले गरेको राष्ट्रिय महिला लिगको पहिलो चरण सकिएसँगै एन्फाले नयाँ नेतृत्व पायो । तर, नयाँ नेतृत्वले आधा बाटो पुगेको लिगलाई सम्पन्न गर्नेमा कुनै चासो देखाएन । बरू बीचमै रोकेर विजेता घोषणा गरेको एन्फाले अर्को कुनै प्रतियोगिता गर्न सकेन । 

घरेलु महिला फुटबलमा कुनै गतिविधि नहुँदा जसका कारण विभागीय टोलीमा आबद्ध बाहेकका खेलाडी कहाँ कुन अवस्थामा छन् भन्ने समेत पत्तो भएन । यद्यपि कप्तान एन्जिला तुम्बाप्पो सुब्बा, गीता राना, दीपा शाही, प्रीति राई, अमृता जैसी र रश्मिकुमारी घिसिङ चार महिना बढी चलेको भारतीय महिला लिगमा राम्रो अनुभव बटुल्न सफल भए । कीर्तिमानी गोलकर्ता सावित्रा भण्डारी युरोपको लिग खेल्न अनुबन्ध भइन् । उनी फ्रेन्च लिग खेलिरहेकी छन् । 

केन्द्रमा मैदानभित्रको फुटबल गतिविधि ठप्प हुँदा मोफसलमा भने केही प्रतियोगिता भए । कति व्यवस्थित भए त कति आफ्नै स्तरमा भए । आहा–रारा पोखरा गोल्डकप र झापा गोल्डकप धुमधाम साथ आयोजना भए । अन्य प्रतियोगिताको हिसाबमा यी दुई प्रतियोगिता स्तरीय देखिए । 

तर, नेतृत्व नै कमजोर बन्दा यसपालि ‘ए’ डिभिजन लिगका मछिन्द्र र चर्च ब्वाइज तथा विभागीय तीन टोलीमात्रै प्रायः प्रतियोगितामा देखिए । थ्री स्टार केही प्रतियोगितामा मात्रै सहभागी भयो । ठूलो इतिहास बोकेको मनाङ मर्स्याङ्दी क्लबले मोफसलका कुनै प्रतियोगिता खेलेन । 

‘ए’ डिभिजन लिगका मनाङसँगै हिमालयन शेर्पा, संकटा, फ्रेन्ड्स, जावलाखेल, सातदोबाटो र न्युरोड टिम (एनआरटी) ले खेलाडी अनुबन्ध गर्न र धेरैभन्दा धेरै प्रतियोगितामा सहभागी हुने आवश्यकता नै ठानेनन् । क्लबहरू आर्थिक स्थिति बलियो नभएको देखाउँदै पन्छिएका थिए ।