काठमाडौं । फेरान टोरेसको उत्कृष्ट प्रदर्शनप्रेरित लिग लिड बार्सिलोनाले ला लिगा अन्तर्गत शनिबार आठ गोल भएको ‘थ्रीलर म्याच’ मा रियाल बेटिसविरुद्ध ५-३ को रोमाञ्चक जित निकालेको छ ।
जितसँगै बार्सिलोनाले १६ खेलमा ४० अंक जोडेको छ । पराजित बेटिस १५ खेलबाट २४ अंकका साथ पाँचौं स्थानमा छ ।
ला कार्टुजा रंगशालामा पाहुना टोली बार्सिलोनालाई जित दिलाउन टोरेसले ह्याट्रिक गर्दा रुनी बर्दघजी र लामिन यामलले समान एक गोल थपे बेटिसका लागि एन्टोनी, डियागो लोरेन्ट र कुचो हर्नान्डेजले समान एक गोल गरे ।
खेलको छैटौं मिनेटमै एन्टोनीको गोलमार्फत बेटिसले अग्रता लिएको थियो । तर टोलीले त्यसलाई लामो समयसम्म टिकाउन भने सकेन । टेरेसले ११ र १३औं मिनेटमा गोल गर्दा बार्सिलोना २-१ ले अगाडि बढ्यो ।
बर्दघजीले ३१औं मिनेटमा बार्सिलोनाका लागि तेस्रो गोल गरे । ९ मिनेटपछि टोरेसले ह्याट्रिक पूरा गरे ।
यामलले ५९औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दा बार्सिलोनाको अग्रता ५-१ मा पुग्यो । निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा लोरेन्टले बेटिसका लागि दोस्रो गोल गरे ।
अन्तिम समयमा हर्नान्डेजले पेनाल्टीमार्फत गोल गरेपछि खेल ५-३ को स्थितीमा सकियो ।
