काठमाडौं । रियाल मड्रिडले स्पेनिस ला लिगामा आइतबार घरेलु मैदानमै सेल्टा भिगोसँग २-० को हार बेहोरेको छ ।
यो पराजसँगैे १६ खेलमा ३६ अंक जोडेको रियाल दोस्रो स्थानमा छ । जित निकालेको सेल्टा भिगो १५ खेलबाट १९ अंकका साथ १०औं स्थानमा छ ।
स्यान्टियागो बर्नाबेउमा पाहुना टोली सेल्टा भिगोलाई जित दिलाउन दुवै गोल विलियट स्वेडबर्गले गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५४औं मिनेटमा स्वेडबर्गको गोलमार्फत सेल्टा भिगोले अग्रता लिएको थियो । १० मिनेटपछि फरान गार्सियाले दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदान छाडेपछि रियाल १० खेलाडीमा समेटिएको थियो ।
इन्जुरी समयमा अल्भारो करेरासले पनि दोहोरो पहेंलो कार्डको सामना गर्दै मैदान छाडेपछि रियाल ९ खेलाडीमा झर्यो ।
करेरास बाहिरिएपछि स्वेडबर्गले अर्को गोल थपे । यो सेल्टा भिगोको सन् २०१४ पछि ला लिगामा रियालमाथिको पहिलो जित हो ।
