फाल्गुन १६, २०८२ शनिबार | ०१:३६:१६
ट्वान्टी–२० विश्वकपमा यसपालि शतक हान्नेहरू एक भयानक सम्भावनाः टोटनहमको रेलिगेसन युरोपेली फुटबलमा इङ्लिस क्लबकै दबदबा उदयपुरबाट महिला फुटबलले समातेको गन्तव्य ठूला ५ दलका चुनावी घोषणापत्रमा खेलकुदका मुद्दा: सतही, हचुवा र गोलमटोल लालिगुराँससँग फ्रेन्ड्सले अंक खोस्यो इङ्ल्यान्डसँग न्युजिल्यान्ड पराजित लिग टु - २० खेलाडी बन्द प्रशिक्षणमा बोलाइए एलआरआई स्कुल च्याम्पियन कोशी प्राइड लिगको मिति धकेलियो ट्वान्टी–२० विश्वकपमा यसपालि शतक हान्नेहरू एक भयानक सम्भावनाः टोटनहमको रेलिगेसन युरोपेली फुटबलमा इङ्लिस क्लबकै दबदबा उदयपुरबाट महिला फुटबलले समातेको गन्तव्य ठूला ५ दलका चुनावी घोषणापत्रमा खेलकुदका मुद्दा: सतही, हचुवा र गोलमटोल लालिगुराँससँग फ्रेन्ड्सले अंक खोस्यो इङ्ल्यान्डसँग न्युजिल्यान्ड पराजित लिग टु - २० खेलाडी बन्द प्रशिक्षणमा बोलाइए एलआरआई स्कुल च्याम्पियन कोशी प्राइड लिगको मिति धकेलियो
शनिबारको दिन शनिबारको दिन

ठूला ५ दलका चुनावी घोषणापत्रमा खेलकुदका मुद्दा: सतही, हचुवा र गोलमटोल

काठमाडौं । अकल्पनीय केही नभए अर्को शनिबार (फागुन २३ गते) सम्म देशको राजनीतिले लिने मोड ‘भिजिबल’ भइसक्ने छ । फागुन २१ गते बिहीबार देशैभर चुनाव सम्पन्न भइसकेको हुनेछ । त्यसले आगामी पाँचवर्षे प्रतिनिधि सभाको प्रारम्भिक खाका प्रस्तुत गरिसक्ने छ । सरकारमा को पुग्ने र को प्रतिपक्षमा रहने भन्ने अनुमानका पर्याप्त आधारहरू पनि त्यतिबेलासम्म खुलिसक्ने छन् ।

विघटित संसदको आयु अझै २०८४ जेठसम्म थियो । तर गत भदौ २२ र २३ गते एउटा निश्चित उमेर समूहको आह्वानमा भएको ‘जेनजी आन्दोलन’ र त्यसमाथिको प्रतिक्रियाले हिंसात्मक रूप लिएपछि निर्धारित मितिभन्दा दुई वर्षअघि नै चुनाव गर्नुपर्ने अवस्था आइलागेको हो ।

चुनाव नजिकिएसँगै कस्ले जित्ला ? कसलाई भोट हाल्ने ? कस्ले जित्दा समाज र देशका लागि राम्रो हुन्छ ? जस्ता प्रश्नले आमनागरिकलाई घेरिरहेको छ । राजनीतिक आस्थाका आधारमा कुनै पक्षधरता भएकाले मतदानको विषयमा निर्णय गरिसकेका होलान् । तर आमनागरिकले भने कसलाई मत दिने ? भन्ने प्रश्नको प्रस्ट जवाफ नपाइसकेको हुनसक्छ ।

आमनागरिकलाई आफू संलग्न क्षेत्रमा कसले कस्ता एजेन्डा अगाडि सारेका छन् भन्ने विषयले गर्दा मतदानको निर्णय लिन सहगोग पुग्नेछ । यसैक्रममा खेलाडी डटकमले प्रमुख पाँच राजनीतिक दलका चुनावी घोषणापत्रमा खेलकुदका विषय कसरी उठान गरिएको छ भन्ने जानकारी एकै ठाउँमा समेटेर प्रस्तुत गर्ने जमर्को गरेको छ ।

यस सामग्रीमा सबै दलले घोषणापत्रमा खेलकुद शीर्षकमा समेटेका एजेन्डाहरू जस्ताको त्यस्तैै प्रस्तुत गरिएको छ । यसक्रममा पछिल्लो संसदमा दलको संख्यात्मक उपस्थितिका आधारमा उनीहरूको घोषणापत्र यहाँ प्रस्तुत गरिएको हो । खेलकुदसँग सम्बन्धित खेलकर्मी र समर्थकलाई मतदानको निर्णय गर्नुअघि सबै दलको खेलक्षेत्र हेर्ने दृष्टिकोण र खेलकुदप्रतिको उनीहरूको प्रतिबद्धताबारे जानकारी लिन यो सामग्री उपयोगी हुने आशा हामीले राखेका छौं ।

विघटित संसदमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस थियो । त्यसपछि नेकपा एमाले दोस्रो तथा तेस्रो स्थानमा तत्कालीन नेकपा माओवादी केन्द्र (हाल नेपाली कम्युनिष्ट पार्टी) थिए । चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी अनि पाँचौं स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीको उपस्थिति थियो ।

शीर्ष ५ राजनीतिक दल सबैले आफ्ना चुनावी घोषणापत्रमा खेलकुदलाई दिएको ठाउँ प्राथमिकताको आधारमा पुछारमा वा पुछारतिर छ । राजनीतिक दलको खेलकुद बुझाइ कमजोर भएर हो वा प्राथमिकतामै नपरेर हो प्रस्टभन्दा पनि अमूर्त कुरा धेरै छन् । सैद्धान्तिक, गोलमटोल र हल्का विषयलाई एजेन्डाको रूपमा प्रस्तुत गरिएको देखिन्छ ।

विगतमा सरकार चलाउने क्रममा सबै ५ राजनीतिक दलले नै फरक समयमा खेलकुद मन्त्रालयको नेतृत्व लिइसकेका छन् । आफू सरकारमा हुँदा सबैभन्दा बढी आफैं बाधक बनेका विषयमा पनि अब चुनाव जिते ‘हामी यस्तो गर्छौं, उस्तो गर्छौं’ जस्ता नक्कली कुरा सबैका घोषणापत्रमा जताततै भेटिन्छ ।

एकाध बुँदाबाहेक सबै दलका घोषणापत्र यति हल्का छन् कि ‘खेलकुदको महत्व र आवश्यकता’ जस्तै कुनै शीर्षकमा प्राथमिक वा निन्न माध्यमिक तहको विद्यार्थीले लेख्ने निबन्धसँग दलका चुनावी घोषणापत्र मज्जासँग तुलना गर्न सकिन्छ । राष्ट्रिय खेलकुद नीति, विभिन्न खेलसंस्थाका विधान, कार्यनीतिहरूको नक्कल गरिएका पनि थुप्रै शब्दावली भेटिन्छन् । वर्षौं अगाडि सुरू भइसकेका योजनालाई आफैंले कल्पना गरेजसरी ‘हामी आए यस्ता योजना सञ्चालन गर्छौं’ भनिएका छन् ।

सबैले विद्यालय खेलकुद, खेलकुद पर्यटन, खेलाडी सम्मान, खेलाडी रोजगारी, रंगशाला र कभर्डहल बनाउने जस्ता विषयलाई महत्व दिन खोजेका छन् । तर उनीहरूको प्रस्तुति यति सतही छ कि कुन र कस्तो खेलको रंगशाला भन्ने पनि नबुझे जस्तो देखिन्छ । अथवा दलका घोषणापत्र पढ्दा रंगशालाभन्ने बित्तिकै फुटबल वा बहुउद्देश्शीय कभर्डहल बुझ्नुपर्ने जस्तो लाग्छ । 

पर्यटन, निजी क्षेत्र, अर्थतन्त्र र पूर्वाधार निर्माणलगायतका शीर्षक सबै दलको घोषणापत्रमा छन् । तर ती क्षेत्रसँग खेलकुदलाई प्रस्टसँग जोड्ने विषयमा दलमा कुनै विज्ञता नभएको स्पष्ट हुन्छ । सबै राजनीतिक दलका खेलकुद हेर्ने छुट्टै विभाग र भ्रातृ संगठन भए पनि नीतिनिर्माण तहमा तिनको कुनै प्रभाव नरहेको ती घोषणापत्रबाटै बुझ्न सकिन्छ । नेपाली खेलकुदको खास समस्या र समाधान तथा साँचो आवश्यकता, तत्कालिन र दीर्घकालिन प्राथमिकतालगायतका विषयमा सबै राजनीतिक दलको घोषणापत्र पढ्दा उनीहरु कुहिरोको कागजस्तै बुझिन्छन् ।

नेपाली कांग्रेस 

विघटित संसदको सबैभन्दा ठूलो दल कांग्रेसको घोषणापत्रमा ३१ विषय समावेश गरिँदा खेलकुदलाई प्राथमिकताको ३० औं सूचीमा राखिएको छ । २ सय पृष्ठको घोषणापत्रमा खेलकुदका लागि चार पृष्ठ र झन्डै ९ सय शब्द खर्चिइएको छ । सबै दलका जस्तै कांग्रेसको घोषणापत्र पनि हचुवाका भरमा खेलकुदका विभिन्न डकुमेन्टको साभार गर्दै तयार गरिएको कर्मकाण्डीभन्दा माथिल्लो छैन । विगतमा युवा तथा खेलकुद मन्त्रालय कांग्रेसकै नेतृत्वमा रहँदाको इतिहासको अपव्याख्या गरिएको छ, जसले भविष्यका लागि गरिएका संकल्पको विश्वसनीयता घटाएको छ ।

नेपाली कांग्रेसको घोषणापत्रमा खेलकुद, जस्ताको त्यस्तैै:

खेल्ने नेपाल, चिनिने नेपाल

नेपाली कांग्रेस खेलकुदलाई आममानिसको राष्ट्र निर्माणमा सहभागिता र विकासको माध्यम, राष्ट्रिय पहिचानको आधार र एक आकर्षक उद्योगका रूपमा विकास गर्न चाहन्छ । हामी खेलकुदलाई मनोरञ्जनबाट माथि उठाई राष्ट्रिय पहिचान र राष्ट्र निर्माणमा युवा सहभागिताको मेरूदण्ड बनाउने संकल्प गर्दछौं । यसका लागि मौजुदा नीति र संरचनामा व्यापक सुधार गर्दै खेलाडीको वृत्तिविकास, खेल अर्थतन्त्र र खेल कूटनीतिलाई राज्यको नयाँ प्राथमिकताका रूपमा स्थापित गरिनेछ ।

खेलकुदमा रूपान्तरण ल्याउने नेपाली कांग्रेस

नेपाली खेलकुदलाई आधुनिक र व्यावसायिक बनाउने ऐतिहासिक जग नेपाली कांग्रेसकै पालामा बसेको हो । तर बदलिँदो विश्व परिवेशअनुसार अबको खेलकुदलाई केवल रहरमा मात्र सीमित राख्न सकिँदैन । हामी खेलकुदलाई देशको सफ्ट पावर, युवाको सिर्जनशील सहभागिता र अर्थतन्त्रको बलियो हिस्सा बनाउन चाहन्छौं । हाम्रो लक्ष्य खेलकुद ऐनको पुनरावलोकनमार्फत राखेप तथा खेल संघलाई व्यवस्थित बनाउने, खेललाई व्यावसायिक बनाउने, अन्तर्राष्ट्रिय स्तरका पूर्वाधार निर्माण गर्ने र नेपाली खेलाडीलाई विश्वका व्यावसायिक लिगसम्म पुर्याउन सक्ने इकोसिस्टमको निर्माण गर्नु हो ।

खेलकुदको चौतर्फी विकासका लागि हाम्रा संकल्पहरू

१. कानुनी सुधार र संस्थागत सुदृढीकरण: खेलकुदलाई मानव विकास, राष्ट्रिय गौरूव र उद्योगका रूपमा स्थापित गर्न ६ महिनाभित्र खेलकुद ऐन परिमार्जन गरी समयानुकूल बनाइने छ । राष्ट्रिय खेलकुद परिषदलाई एक वर्षभित्र पुनर्संरचना गरी संस्थाको नेतृत्व खुला पारदर्शी प्रतिस्पर्धाबाट छानिएका खेल क्षेत्रका योग्य व्यक्तिले मात्र नेतृत्व गर्ने सुनिश्चित गरिनेछ । साथै सबै खेल संघहरूको सुशासन ढाँचालाई पारदर्शी, उत्तरदायी र नतिजामुखी बनाइने छ । विश्व एन्टी डोपिङ संहिता (वाडा)को मापदण्ड र धारा १८ को मर्मअनुरूप अबिलम्ब छुट्टै एन्टी डोपिङ ऐन जारी गरी नेपाल एन्टी डोपिङ एजेन्सी (नाडा)लाई पूर्ण स्वायत्त, शक्तिशाली र पर्याप्त बजेटयुक्त निकायमा स्थापित गरिनेछ ।

२. खेल अर्थतन्त्र र पूर्वाधार: एक प्रदेश, एक अत्याधुनिक रंगशालाको अवधारणाअन्तर्गत सातै प्रदेशमा अन्तर्राष्ट्रिय मापदण्डका खेल पूर्वाधारहरू निर्माण गरिनेछ र प्रत्येक दुई वर्षमा राष्ट्रिय खेलकुद आयोजनाको सुनिश्चितता गरिनेछ । खेलकुदलाई व्यावसायिक उद्योगका रूपमा विकास गर्न सम्भव भएका फुटबल, क्रिकेट, राष्ट्रिय खेल भलिबल, बास्केटबलजस्ता खेलमा निजी क्षेत्रको लगानीलाई विशेष सहुलियत दिँदै फ्रेन्चाइज लिग र व्यावसायिक क्लबहरूलाई प्रोत्साहित गरिनेछ ।

३. खेल कूटनीति र पर्यटन: खेलकुदलाई सफ्ट पावरको रूपमा प्रयोग गर्दै नेपाललाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको तटस्थ आयोजनास्थलका रूपमा स्थापित गर्न विशेष पहल गर्दै क्रिकेट कूटनीतिमार्फत नेपालको अन्तर्राष्ट्रिय छवि सुधार र कूटनीतिक सम्बन्ध विस्तार गरिनेछ । नेपालको विशिष्ट भू–भागलाई साहसिक खेलको केन्द्र र उच्च उचाइ प्रशिक्षणस्थलको रूपमा विकास गरिनेछ । क्रिकेट, फुटबल र साहसिक खेलका साथै म्याराथन जस्ता खेललाई पर्यटनसँग जोड्दै नेपाललाई आकर्षक स्पोर्ट्स टुरिजम गन्तव्य बनाइने छ ।

४. खेलमै जीवन, खेलमै भविष्य: खेलाडी खेलबाट पलायन हुनुपर्ने अवस्थाको अन्त्य गर्न नियमित लिग हुने वातावरण, उचित पारिश्रमिक र पुरस्कार राशि समयमै पाउने व्यवस्था गरिनेछ । चोटपटकको निःशुल्क उपचार र संन्यासपछिको जीवनका लागि खेलाडी सुरक्षाकोष खडा गरेर आधुनिक तालिम केन्द्रमार्फत सन्तुलित आहार र खेल विज्ञानमा आधारित प्रशिक्षण सुविधा उपलब्ध गराइने छ । पदक विजेतालाई सरकारी सेवामा सम्मानजनक रूपमा समायोजन गर्ने कानुनी व्यवस्था गरी खेलकुदलाई भरोसायोग्य करियर बनाइने छ । साथै राखेपमा रिक्त प्रशिक्षक, प्राविधिक र प्रशासनिक पदहरू तत्काल पूर्ति गर्दै प्रशिक्षक, रेफ्री र व्यवस्थापकका लागि खेल उद्योगभित्रै दिगो रोजगारीका अवसर सिर्जना गरेर समग्र खेलक्षेत्रलाई आत्मनिर्भर र व्यावसायिक बनाइने छ ।

५. डिजिटल मैदान, इ–स्पोर्टसमा व्यावसायिक भविष्य: इ–स्पोर्टसलाई आधिकारिक मान्यता दिँदै गेमरहरूलाई प्रोफेसनल खेलाडीको रूपमा पहिचान गरिनेछ । यसका लागि कर ढाँचा, अनुबन्ध नियमावली र अन्तर्राष्ट्रिय भिसा सहजीकरणका लागि नीतिगत व्यवस्था गरी डिजिटल पूर्वाधारमा लगानी गरिनेछ ।

६. विद्यालयदेखि रंगशालासम्म: हाम्रा विद्यालयलाई नयाँ खेलाडी पहिचानको आधारभूत केन्द्रको रूपमा विकास गर्दै तल्लो तहदेखि नै प्रतिभा पहिचान गर्न र वृत्तिविकासका लागि स्थानीय तहमा खेल प्रशिक्षकको व्यवस्थासहित विद्यालयस्तरमा नियमित प्रतियोगिता र स्पोर्ट्स छात्रवृत्तिको व्यवस्था गर्दै मिसन च्याम्पियन कार्यक्रम सञ्चालन गरिनेछ । विद्यालयको आधारभूत तहदेखि नै राष्ट्रिय खेलकुद पाठ्यक्रम लागू गरी सम्बन्धित खेल संघ–संस्थासँगको सहकार्यमा सम्बन्धित खेलहरूको राष्ट्रिय खेल दर्शन निर्माण गरी लागू गरिनेछ ।

७. मिसन पदक, अन्तर्राष्ट्रिय सफलता र सम्मान: अन्तर्राष्ट्रिय पदकको उच्च सम्भावना भएका खेलको वर्गीकरण गरी ओलम्पिक, एसियाड र दक्षिण एसियाली खेलकुदमा नेपालको बलियो उपस्थिति सुनिश्चित गरिनेछ । मिसन पदक अभियानअन्तर्गत उत्कृष्ट खेलाडीका लागि पर्याप्त मासिक पारिश्रमिक, उच्च दक्ष प्रशिक्षण र विशेष बजेटको व्यवस्था गरिनेछ ।

८. खेलको वर्गीकरण र मौलिक खेलको जगेर्ना: नेपाली खेलकुदलाई व्यवस्थित र नतिजामुखी बनाउन खेलहरूको वैज्ञानिक वर्गीकरण गरिनेछ । व्यावसायिक सम्भावना भएका, अन्तर्राष्ट्रिय सफलता दिलाउन सक्ने र पर्यटनसँग जोड्न सकिने खेलहरूको पहिचान गरी सोहीअनुरूप लगानी र प्रशिक्षणको रणनीति बनाइने छ । साथै डण्डीबियो र बाघचालजस्ता हाम्रा परम्परागत एवं मौलिक खेलहरूको संरक्षण, प्रवर्धन र विस्तार गर्दै यसलाई नेपाली संस्कृतिको अभिन्न अंग र पर्यटकीय आकर्षणका रूपमा स्थापित गरिनेछ ।

९. सीप विश्वको, खेल नेपालको: विश्वका विभिन्न मुलुकमा रहेका नेपाली नागरिक र गैरआवसीय नेपाली खेल प्रतिभाहरूलाई नेपालको घरेलु प्रतियोगिताहरूमा निर्वाध सहभागी हुने वातावरण बनाइने छ । विदेशमा बसेर अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण र अनुभव हासिल गरेका खेलाडीलाई राष्ट्रिय टोलीमार्फत नेपालको प्रतिनिधिन्व गर्न पाउने गरी आवश्यक कानुनी र नीतिगत बाधाहरू फुकाइने छ । यसबाट विश्वभर छरिएर रहेका दक्ष नेपाली खेलाडीहरूको क्षमतालाई देशको प्रतिष्ठा बढाउन र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको विजय यात्रा थप बलियो बनाउन उपयोग गरिनेछ ।

१०. साहसिक खेलकुद र खेल पर्यटन:– नेपाललाई हाइअल्टिच्युट एडभेन्चर स्पोर्टसमा एसियाको प्रमुख केन्द्रका रूपमा विकास गरी हाइअल्टिच्युट ट्रेल रनिङ, र अल्ट्रा इन्डुरेन्स स्पोर्टसको केन्द्रका रूपमा नेपाललाई विकासित गरिनेछ ।

– नेपालका विभिन्न हिमाली क्षेत्रहरूमा अन्तर्राष्ट्रिय स्तरका ट्रल रेस÷ट्रेनिङ क्याम्पहरू सञ्चालन गर्न विशेष प्रोत्साहन तथा सहयोग गरी नेपाललाई विश्वस्तरको माउन्टेन बाइकिङ एन्ड ग्राभेल साइक्लिङ गन्तव्यको रूपमा स्थापित गर्न स्थानीय सरकारसँगको साझेदारीमा पहाडी र हिमाली क्षेत्रमा डेडिकेटेड ट्रेल रुटहरू निर्माण गरिनेछ ।

– प्याराग्लाइडिङ, र्याफ्टिङ, कायकिङ, क्यानोइङ, रक क्लाइम्बिङ र जीप लायनिङजस्ता बहुसाहसिक खेललाई व्यावसायिक र मर्यादित खेल पर्यटनको रूपमा विकसित गर्न आवश्यक कानुनी तथा प्राविधिक व्यवस्था गरिनेछ ।

– अपांगता भएका व्यक्तिको सर्वांगीण विकासका लागि पारा खेलकुदमा पहुँच, अवसर र सम्मान सुनिश्चित गरिनेछ ।

नेकपा एमाले

विघटित संसदको दोस्रो ठूलो दल नेकपा एमालेको । एमालेको घोषणापत्रमा निर्वाचनपछि आफ्नो सरकार बन्ने ठोकुवाका साथ त्यसपछि समयसीमा तोकेरै काम गर्ने भनेर २५ बुँदे प्रतिबद्धतामा खेलकुदले २२ औं प्राथमिकता पाएको छ । निक्कै सतही रूपमा प्रस्तुत एमालेको ८० पेज लामो घोषणापत्रमा खेलकुदले १ पेज र २ सयभन्दा कम शब्दमात्र पाएको छ । अत्यन्तै हचुवा पारामा प्रस्तुत एमालेको घोषणापत्रमा विगतमा आफैले सरकार चलाउँदाको तथ्यगत समीक्षा पनि छैन । भविष्यका लागि गरिएका प्रतिवद्धताहरू पनि निकै अमूर्त र हचुवा देखिन्छन् ।

एमालेको घोषणापत्रमा खेलकुद, जस्ताको त्यस्तैै:

– विद्यालयस्तरबाट नै खेलाडी पहिचान गरी पूर्वाधार विकास, प्रशिक्षण, वृत्ति विकास र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामार्फत स्वस्थ, उर्जावान र राष्ट्रको सान राख्ने खेलाडी उत्पादन गर्दै खेलजगतलाई उन्नत बनाउने छौं ।  

– राष्ट्रिय खेलकुद प्रतियोगिता नियमित र निर्धारित समयमा सम्पन्न गर्ने छौं । कीर्तिपुरस्थित क्रिकेट रंगशालाको दोस्रो चरणको निर्माण सम्पन्न गरी अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्नेछौं ।

– विद्यालयस्तरदेखि नै बालबालिकामा रूचि र लगावअनुसार खेल क्षमताको विकास गर्न वार्षिक रूपमा खेल प्रतियोगिता गर्ने छौं । विद्यालय तथा क्याम्पसहरूमा खेल पूर्वाधार र खेल सामाग्री उपलब्ध गराउन लगानी वृद्धि गर्ने छौं । हरेक विद्यालयमा अतिरिक्त कृयाकलाप, जनस्वास्थ्य चेतना र खेल प्रशिक्षणका लागि कार्यविवरणसहित खेल शिक्षकको व्यवस्था गर्ने छौं ।

– आवधिक रूपमा विद्यालयस्तर, प्रदेशस्तर र राष्ट्रियस्तरमा खेल प्रतियोगिताहरू सञ्चालन गर्ने छौं । नेपाली खेलाडहिरूलाई अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा सहभागी गराउन आवश्यक सबै प्रबन्ध मिलाउने छौं ।

– खेलाडीको वृत्ति विकासमा जोड दिँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता हासिल गर्न खेलाडीलाई सक्षम बनाउने छौं । सम्भावनायुक्त युवाको पहिचान, प्रशिक्षण र प्रोत्साहनमार्फत नेपालको खेलजगतलाई नयाँ उचाइमा पुर्याउने छौं ।

– नेपालमा दुईपक्षीय क्षेत्रीय तथा अन्तर्राष्ट्रिय खेलहरूको आयोजना गरी खेल पर्यटनको प्रवर्धन गर्ने छौं । अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई आकर्षक पुरस्कार र सम्मान उपलब्ध गराउने छौं । 

नेकपा

अघिल्लो संसदमा नेपाली कम्युनिष्ट पार्टीको उपस्थिति थिएन । यो नयाँ दल हो । तथापि तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादी दलको मुख्य हिस्सा मिलेर यही चुनावका लागि नेपाली कम्युनिष्ट पार्टी बनेको छ । यस अर्थमा विगतमा यो दलले पनि युवा तथा खेलकुद मन्त्रालयको नेतृत्व गरिसकेको छ । त्यसअनुसार विगतमा नेतृत्वमा रहँदाको कार्यशैली र घोषणापत्रमा नेपाली कम्युनिष्ट पार्टीमा पनि एकरूपता छैन । कार्यशैली र घोषणा नितान्त फरक देखिन्छ । खेलकुदलाई साँचो अर्थमा अगाडि बढाउनेभन्दा पनि लोकप्रिय सुनिने विषयमा नेपाली कम्युनिष्ट पार्टीले बढी शब्द खर्चिएको पाइन्छ ।

नेपाली कम्युनिष्ट पार्टीको घोषणापत्रमा खेलकुद, जस्ताको त्यस्तैै:

खेलकुदको विकास

नेपाली खेलकर्मी तथा युवाशक्तिप्रति गहिरो सम्मान र खेल क्षेत्रको सर्वाङ्गीण विकासमा दृढ प्रतिबद्धता व्यक्त गर्दै, खेलकुदलाई राष्ट्रिय गौरव, युवा उर्जा तथा समृद्धिको मेरूदण्ड बनाउन निम्नानुसार गरिनेछ:

– वैज्ञानिक तथा आधुनिक खेलकुद प्रशिक्षण: खेलकुद प्रशिक्षण प्रणालीलाई वैज्ञानिक, प्राविधिक तथा परिणाममुखी बनाइने छ । अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षक, स्पोर्ट्स साइन्स, पोषण तथा मनोविज्ञान विशेषज्ञहरूको संलग्नतामा नेपाली खेलाडीहरूलाई विश्वस्तरीय बनाइने छ ।

– राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा विस्तार: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता नियमित आयोजना गरी नेपाली खेलाडीहरूको सहभागिता, प्रतिनिधित्व तथा सम्मान सुनिश्चित गरिनेछ । ओलम्पिक, एसियाली खेलकुद तथा दक्षिण एसियाली खेलकुदमा नेपालको पदक संख्या दोब्बर बनाउने लक्ष्य राखिनेछ ।

– प्रतिभा पहिचान तथा निःशुल्क एकेडेमी: देशव्यापी प्रतिभा पहिचान तथा छनोट प्रणाली लागू गरिनेछ । छनोट भएका प्रतिभाशाली खेलाडीलाई केन्द्रीय तथा प्रदेशस्तरीय निःशुल्क खेलकुद एकेडेमीमार्फत शिक्षा, आवास, प्रशिक्षण तथा जीवन निर्वाह सुविधा प्रदान गरिनेछ ।

– पुरस्कार तथा सम्मानमा दोब्बर वृद्धि: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पदक जित्ने खेलाडीहरूको पुरस्कार, प्रोत्साहन र सम्मान राशिलाई कम्तीमा दोब्बर बनाइने छ । खेलकर्मीहरूको योगदानलाई राष्ट्रिय सम्मानको रूपमा स्थापित गरिनेछ ।

– रंगशाला निर्माण: केन्द्रमा ५० हजार दर्शक क्षमताको स्मारक राष्ट्रिय रंगशाला निर्माण गरिनेछ । आगामी पाँच वर्षभित्र सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरका रंगशाला तथा विभिन्न खेलका लागि कभर्डहलहरू निर्माण गरिनेछ । एक वडा एक खेलमैदान, एक प्रदेश एक एकेडेमी निर्माण गरिनेछ ।

– विद्यालयदेखि ओलम्पिकसम्म खेलाडी विकास: राष्ट्रपति रनिङ सिल्डलाई वैज्ञानिक तथा परिणाममुखी बनाई विद्यालय तहदेखि राष्ट्रिय टोली तथा ओलम्पिकसम्म खेलाडी उत्पादन गर्ने दीर्घकालीन प्रणाली लागू गरिनेछ ।

– विद्यालयस्तरीय खेलकुद प्रशिक्षक व्यवस्था: प्रत्येक विद्यालयमा कम्तीमा पाँच खेलको प्रशिक्षण दिन सक्ने योग्यता भएका, मान्यताप्राप्त एकेडेमीबाट प्रशिक्षित तथा लाइसेन्सप्राप्त खेलकुद प्रशिक्षक नियुक्त गर्ने कानुनी व्यवस्था गरिनेछ । पहिलो चरणमा ५ हजार निम्न माध्यमिक विद्यालयमा प्रशिक्षक नियुक्ति गरिनेछ ।

– विद्यालय खेलकुद पूर्वाधार सुदृढीकरण: देशभरका विद्यालयमा खेलमैदान, खेल सामग्री तथा आवश्यक पूर्वाधारको चरणबद्ध विकास गरिनेछ ।

– क्रिकेट मैदान विकास: त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्तरोन्नति गरिनेछ । मूलपानी (काठमाडौं), भरतपुर (चितवन), मोरङ, फाप्लालगायतका क्रिकेट मैदानहरूको विस्तार तथा नयाँ प्रदेशस्तरीय क्रिकेट मैदानहरू निर्माण गरिनेछ ।

– प्रोत्साहन तथा इन्सेन्टिभ: अन्तर्राष्ट्रिय पदक जित्ने क्रिकेट खेलाडी तथा तिनका सन्तानलाई छात्रवृत्ति तथा विशेष पुरस्कार दिइनेछ । नेपाल प्रिमियर लिगलाई व्यावसायिक बनाई खेलाडीको आयवृद्धि गरिनेछ । प्रादेशिक लिगका लागि समेत आवश्यक सहयोग गरिनेछ । समुदायस्तरमा क्रिकेट खेललाई थप विकास गरिनेछ ।

– विद्यालय/समुदाय स्तरमा खेलाडी उत्पादन: राष्ट्रपति रनिङ सिल्डमा क्रिकेटलाई विशेष प्राथमिकता दिइनेछ । विद्यालय तथा समुदायमा क्रिकेट एकेडेमी तथा प्रशिक्षण सिविर सञ्चालन गरी आधार तहदेखि प्रतिभा पहिचान तथा विकास गरिनेछ । क्रिकेटलाई पर्यटनसँग जोडेर अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरिनेछ । ट्वान्टी–२० विश्वकपजस्ता प्रतियोगितामा युवा सहभागिता बढाइने छ ।

– खेलकुद बजेट तथा लगानी वृद्धि: खेलकुद क्षेत्रको बजेटलाई हरेक वर्ष कम्तीमा ३० प्रतिशत वृद्धि गर्दै पाँच वर्षमा दोब्बर बनाइने छ । निजी तथा वैदेशिक लगानी आकर्षित गर्न कर छुट तथा विशेष प्रोत्साहन नीति लागू गरिनेछ ।

– महिला तथा समावेशी खेलकुद प्रवर्धन: महिला, दलित, आदिवासी जनजाति, अपांग तथा सीमान्तकृत समुदायका लागि विशेष खेलकुद कार्यक्रम, छात्रवृत्ति तथा एकेडेमी सञ्चालन गरिनेछ । महिला खेलकुदमा ५० प्रतिशत आरक्षण तथा विशेष प्रोत्साहन ।

– खेलकुद पर्यटन तथा व्यावसायिक खेल: खेलकुदलाई पर्यटनसँग जोडेर खेलकुद पर्यटन विकास गरिनेछ । क्रिकेट, फुटबल, भलिबल जस्ता खेलहरूको व्यावसायिक लिग तथा वाटर स्पोर्ट्स, माउन्टेन स्पोर्ट्स, इस्पोर्ट्स सञ्चालन गरी खेलाडी तथा प्रशिक्षकको आयवृद्धि गरिनेछ ।

– खेलकुद स्वास्थ्य तथा कल्याण: खेलाडीको स्वास्थ्य, पोषण, चोट व्यवस्थापन तथा पुनस्र्थापना सेवालाई निःशुल्क तथा उच्च गुणस्तरीय बनाइने छ । खेलाडीका लागि विशेष स्वास्थ्य बिमा तथा पेन्सन योजना लागू गरिनेछ । 

रास्वपा 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को इतिहास २०७९ को आमनिर्वाचनबाट मात्र सुरु भएको हो । पहिलो पटक नै उल्लेख्य सफलताका साथ संसदमा चौथो शक्तिका रूपमा रास्वपा उभिएको थियो । विघटित संसदबाटै रास्वपाले पनि केही समय युवा तथा खेलकुद मन्त्रालयको नेतृत्व गर्यो । नयाँ र युवा नेतृत्वको नारा अघि सारेको रास्वपाले रूपान्तरणका लागि नीतिगत प्रस्थानका १०० आधारहरू भन्दै तयार गरेको घोषणापत्रमा खेलकुदलाई ६८ र ६९ औं बुँदामा मात्र सीमित गरिएको छ । ठूला सपना देखाइए पनि त्यसको आधार नदेखाइएको यो घोषणापत्रले पनि वर्षौंदेखि नेताहरूका भाषणले थोत्रा बनाइसकेका विषयमात्र समेटेको छ ।

रास्वपा को घोषणापत्रमा खेलकुद, जस्ताको त्यस्तैै:

६८. खेलकुदलाई केवल मनोरञ्जन र भर्ती केन्द्रबाट मुक्त गरी राष्ट्रिय एकता र आर्थिक समृद्धिको मेरुदण्डका रूपमा विकास गरिनेछ । १५ वर्षदेखि अधुरा रहेका रंगशालाहरूलाई समयमै सम्पन्न गर्दै सातै प्रदेशमा अत्याधुनिक र पूर्णतः पहुँचयुक्त खेल पूर्वाधारहरू निर्माण गर्ने छौं । जहाँ ओलम्पिक र पारालिम्पिक दुवैका लागि विश्वस्तरीय व्यावसायिक प्रशिक्षणको व्यवस्था हुनेछ । विद्यालयस्तरदेखि नै प्रतिभा पहिचान कार्यक्रममार्फत स्कुल स्पोर्ट्सलाई पाठ्यक्रमको अभिन्न अंग बनाइने छ र प्रत्येक स्थानीय तहमा एक बहुउद्देश्यीय खेल मैदान सुनिश्चित गरिनेछ ।

६९. खेलकुद प्रशासनमा राजनीतिक नियुक्ति पूर्णतः खारेज गरि पेसागत नेतृत्व र पारदर्शी बजेट व्यवस्थापन लागू गरिनेछ । जहाँ लगानी भ्रमणमा होइन, खेलाडीको पोषण, प्रशिक्षण र प्रविधिमा केन्द्रित हुनेछ । अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीका लागि सम्मानजनक जीवन निर्वाह गर्न खेलाडी पेन्सन कोष, स्वास्थ्य बिमा र रोजगारीको विशेष ग्यारेन्टी गरिनेछ । साहसिक खेल र अल्ट्रा म्याराथनजस्ता नेपालका मौलिक सम्भावनाहरूलाई राष्ट्रिय गौरवका रूपमा प्रवर्धन गर्दै र निजी क्षेत्रको लगानीलाई प्रोत्साहित गर्दै नेपाललाई दक्षिण एसियाकै स्पोर्ट्स हबका रूपमा स्थापित गर्नेछौं ।

राप्रपा 

पञ्चायतको लिगेसी बोकेर अघि बढिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आधार अघिल्लो संसदमा पाँचौं दलको थियो । पटक पटक युवा तथा खेलकुद मन्त्रालयमा नेतृत्व गरेको अनुभव यो दलसँग पनि छ । राप्रपाको २४ पृष्ठको घोषणापत्रमा खेलकुदलाई सबैभन्दा पछाडि राखिएको छ ।

राप्रपाको घोषणापत्रमा खेलकुद, जस्ताको त्यस्तैैः

– खेलकुद र खेलाडीहरूको प्रशिक्षणलाई उच्च प्राथमिकता दिइनेछ । प्रमुख खेलका लागि अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गरिनेछ । 

– झापाको कचनकवल (समुद्री सतहको तह) र जुम्लामा (हिमरेखाको तहमा) खेलाडीहरूलाई प्रशिक्षण दिन खेल मैदानसहितको इन्डोर तथा आउटडोर प्रशिक्षण केन्द्रको निर्माण गरिनेछ । 

– नेपाललाई साहसिक खेल गन्तव्यको रूपमा विकास गरिनेछ ।

– अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई सहज जीवनयापनका लागि राज्यका विभिन्न निकायमा स्थायी रोजगारीको व्यवस्था गरिनेछ ।

– सार्वजनिक तथा सामुदायिक विद्यालय तथा विश्वविद्यालयहरूमा खेलकुद शिक्षकको अनिवार्य व्यवस्था गरिनेछ । 

– अपांगमैत्री खेल पूर्वाधार निर्माणलाई प्राथमिकता दिइनेछ ।