काठमाडौं । इङ्ल्यान्डले आइसिसी ट्वान्टी २० विश्वकपमा न्युजिल्यान्डलाई चार विकेटले हराएको छ ।
शुक्रबारको खेल सम्पन्न पछि सुपर एटको समूह–२ को सेमिफाइनल समिकरण रोमाञ्चक मोडमा पुगेको छ । अब, यो समूहबाट न्युजिल्यान्ड र पाकिस्तान दुबैको सेमिफाइनल बाटो खुल्ला छ । अब, अन्तिम खेलमा श्रीलंकालाई ठूलो अन्तरले पराजित गरेमात्रै पाकिस्तान सेमिफाइलनमा पुग्नेछ ।
कोलम्बोमा टस जितेर सुरुमा ब्याटिङ गरेको न्युजिल्यान्डले ७ विकेट गुमाउँदै १६० रनको लक्ष्य दिएको थियो । जवाफमा इङ्ल्यान्डले ६ विकेट गुमाउँदै ३ बलअघि जित निकाल्यो ।
इङ्ल्यान्डको जितमा टम बान्टोनले सर्वाधिक ३३, विल ज्याक्सले अविजित ३२, कप्तान ह्यारी ब्रुकले २६, साम करनले २४ तथा ज्याकोव बेथेलले २१ रन बनाएका थिए ।
इङ्ल्यान्डका ज्याक्स र रेहान अहमेदले १६ बलमा अविजित ४४ रनको साझेदारी गरेका थिए । २ खेलाडीले १८औं ओभरमा २२ रन हिर्काएपछि इङ्ल्यान्डको जित सुनिश्चित भएको थियो । यसअघि ब्रुक र बेथेलले ४८ रनको साझेदारी गरेका हुन् ।
न्युजिल्यान्डका रचिन रविन्द्रले सर्वाधिक तीन विकेट लिएका थिए । म्याट हेनरी र लोकी फर्गुसन तथा ग्लेन फिलिप्सले समान एक विकेट झारेका हुन् ।
यसअघि प्रेमादासा मैदानमा न्युजिल्यान्डको लागि ग्लेन फिलिप्सले सर्वाधिक ३९ रन बनाए । ओपनर टिम सेइफर्टले २५ बलमा २५ रन बनाएका हुन् । फिन एलेनले २९ रनको योगदान गरेका हुन् ।
इङ्ल्यान्डको लागि आदिल रसिद, विल ज्याक्स र रेहान अहमदले समान २ विकेट लिएका थिए ।
यो खेलसँगै समूहमा इङ्ल्यान्डले लगातार तेस्रो जित निकाल्यो । तीन खेलबाट ६ अंक जोड्दै शीर्ष स्थान कब्जा गरेको छ । न्युजिल्यान्डको तीन खेलबाट तीन अंक छ । पाकिस्तानको एक अंकसहित तेस्रो तथा श्रीलंका अंक बिहिन हुँदै पुछारमा छ ।
