कार्तिक १, २०८२ शनिबार | ०३:३४:३४
एन्फाले किन पिट्दै छ राष्ट्रिय लिगको डङ्का ? विश्वकप पुगेबाट गुलजार नेपाली क्रिकेट एसिया कपमा नेपालको फेरि निराशा फिफा विश्वकपमा आइसल्यान्डदेखि केप भर्डेसम्म फुटबलका फर्गुसनको आत्मकथाभित्रका नालीबेली भलिबलले पायो १२औं कप्तान हरिहजुर मीना र पूर्णिमा पहिलो पटक राष्ट्रिय टोलीमा, अटाएनन् अमृतासहित तीन अनुभवी खेलाडी नेपाल पहिलो पटक च्याम्पियन बन्दै विश्वकपमा नेपाल अपराजित रहँदै च्याम्पियन नेपाल एसियन कप पुग्न सकेन, थाइल्यान्डसँग बेहोर्यो फराकिलो हार एन्फाले किन पिट्दै छ राष्ट्रिय लिगको डङ्का ? विश्वकप पुगेबाट गुलजार नेपाली क्रिकेट एसिया कपमा नेपालको फेरि निराशा फिफा विश्वकपमा आइसल्यान्डदेखि केप भर्डेसम्म फुटबलका फर्गुसनको आत्मकथाभित्रका नालीबेली भलिबलले पायो १२औं कप्तान हरिहजुर मीना र पूर्णिमा पहिलो पटक राष्ट्रिय टोलीमा, अटाएनन् अमृतासहित तीन अनुभवी खेलाडी नेपाल पहिलो पटक च्याम्पियन बन्दै विश्वकपमा नेपाल अपराजित रहँदै च्याम्पियन नेपाल एसियन कप पुग्न सकेन, थाइल्यान्डसँग बेहोर्यो फराकिलो हार
शनिबारको दिन

फुटबलका फर्गुसनको आत्मकथाभित्रका नालीबेली

काठमाडौं । ‘धेरै’ शब्दको पर्यायवाची असाध्यै, बढी, निकै र ज्यादै हुन्छन् । ईश्वरलाई पनि देव, देवता, भगवान् वा परमेश्वर भन्न मिल्छ । तर कुनै खेलको पर्यायवाची शब्द हुँदैन  कि हुन्छ ?

एउटा खेललाई अर्को शब्दले वर्णन गर्न मिल्दैन । तर, कतिपय खेललाई केही व्यक्तिविशेषको नामले मात्र पनि बुझिन्छ, ती पर्यायवाची होइनन् भने के हुन् त ?

लेब्रोन जेम्स र माइकल जोर्डनको नाम लिनेबित्तिकै बास्केटबलको चित्र बन्छ भने सचिन तेन्दुलकर, रिकी पोन्टिङ र नेपालकै पारस खड्काको नाम लिँदा क्रिकेट बुझिन्छ । त्यस्तै, वर्तमानको मात्र कुरा गर्ने भए क्रिस्टियानो रोनाल्डो र लियोनल मेसी र अलिक पुराना दिनमा जाने भए पेले र म्याराडोना, भन्नासाथ दिमाग फुटबलमा एकोहोरिन्छ ।

समर्थकका लागि विभिन्न खेलाडीले फरक खेलको चित्रको रूपमा काम गरिरहेको हुन्छ । तर कुनै प्रशिक्षकको नामले नै खेलको पर्यायवाचीजस्तो भूमिका निर्वाह गरेको चाहिँ विरलै देख्न पाइन्छ । विश्वको सबैभन्दा लोकप्रिय खेल फुटबल चाहिँ यसमा अपवादमा पर्छ । यो सुन्दर खेलले त्यस्ता थुप्रै गुरुको नाम दिएको छ, जसको सम्झनाले मात्र मानसपटलमा फुटबल घुम्न थाल्छ । त्यसमध्ये पनि कोही सबभन्दा माथि छन् भने उनी हुन् एलेक्स फर्गुसन । अर्थात सर एलेक्स ।

फर्गुसन ती स्तरका व्यक्ति होइनन् भन्ने समर्थकहरू नभेटिने पनि होइनन् । तर फुटबल यस्तो खेल हो, जहाँ चार वर्षमा एकपटक विश्वकप चलिरहँदा समर्थक एउटा देशको सपोर्टमा एकोहोरिन्छन् । त्यसबाहेकको समयमा चाहिँ समर्थकहरू कुनै क्लब विशेषसँगको प्रेममा डुब्छन् ।

सन् १९४१ को अन्त्यतिर स्कटल्यान्डको ग्लास्गोमा जन्मिएका फर्गुसनले १६ वर्षको उमेरमा त्यही सहरको एउटा ठूलो क्लब क्विन्स पार्कबाट खेल्न थालेका थिए ।

फुटबलको एकदमै धनी संस्कार भएको तत्कालीन पूर्वाञ्चलको मोरङमा जन्मे–हुर्केका कारण होला मेरो पनि नसामा धेरै फुटबल बग्ने गर्छ । टेलिभिजन युगसँगै हुर्किन पाएको भाग्यमानी पुस्ताको फुटबलप्रेमी भएकाले मेरो पहुँच पथरी, शनिश्चरे वा मोरङ, झापा र सुनसरीभन्दा धेरै फराकिलो भइसकेको थियो । किशोरावस्थामा अहिलेजस्तो पूर्ण डिजिटल युग नभए पनि मेरा लागि बेडरुमकै टेलिभिजनले मेची–महाकालीको घेरा नाघेर विश्वभरका फुटबलमा रमाउने मौका भने दिन थालिसकेको थियो ।

त्यही टेलिभिजनको पर्दाबाट फुटबलको दुनियाँ चहार्दै गर्दा जुँगाको रेखी पनि नबसेको बेला वायने रुनीमा पुगेपछि म टक्क रोकिएँ । हो, इङ्ल्यान्डका यिनै स्ट्राइकरले म्यानचेस्टर युनाइटेडका लागि खेल्ने क्रममा मेरो फुटबल भावनाप्रति मोहनी नै लगाइदिए ।

कुरा हो, सन् २००८ तिर । टेलिभिजनमा फुटबल खोज्न रिमोट घुमाउँदै गर्दा एउटा च्यानलमा म्यानचेस्टर युनाइटेड र न्युक्यासलबीच २००५ मा भएको इङ्लिस प्रिमियर लिगको खेलको हाइलाइट्स आइरहेको रहेछ । मेरा आँखा टक्क अडिए । रिमोट थिचिरहेको औंलाले विश्राम लियो । खेल नै त्यस्तै थियो । त्यहाँ पुगिसकेपछि एउटा फुटबलप्रेमी अन्यत्र जान सक्दैनथ्यो ।

हेर्न थालेको केही मिनेटमै गँठिलो शरीरको एउटा आक्रामकजस्तो देखिने खेलाडी असन्तुष्टि पोख्दै रेफ्री सँगसँगै दौडिइरहेको थियो । सहकर्मीमाथि विपक्षीले फाउल गर्दा बेवास्था गरेकामा उनी रेफ्रीसँग बिच्किएका थिए । बल प्लेअन नै थियो । उनी आक्रोसित थिए । रेफ्रीसँग असन्तुष्टि पोख्दै दौडिइरहेका थिए । त्यहीबेला पेनाल्टी बक्स बाहिरबाट उनले विपक्षी रक्षकले क्लियर गर्न खोजेको बललाई सुन्दर भलीमार्फत दर्शनीय गोलमा परिणत गरे । जसले मलाई उनी र उनको क्लबसँगको प्रेममा फसायो । कहिल्यै उम्कन नसक्ने गरी ।

हो, ती खेलाडी रुनी नै थिए । अनि क्लब चाहिँ अगाडि नै चर्चा भइसक्यो, म्यानचेस्टर युनाइटेड । त्यसपछि नै हो रातो रंगप्रति मेरो लगाब यतिबिघ्न बढेको । त्यहीँबाट सुरु भयो एउटा खाँटी समर्थकको रूपमा प्रिमियर लिग पछ्याउने मेरो यात्रा । त्यसपछि हो मैले फर्गुसनलाई चिन्न थालेको ।

फर्गुसनले फुटबल छोडेनन् । खेल जीवनबाट संन्यास लिएकै वर्ष इस्ट स्टर्लिङसायर नामको स्कटिस क्लबमा म्यानेजर भएर प्रवेश गरे । त्यसपछि भयो फुटबलमा अजम्बरी बन्ने यात्राको थालनी ।

जुनसुकै बेला चुइगम चपाएर निकै उर्जावान हाउभाउका साथ देखिने ती अधबैशे मेरा लागि आफैले थाहा नपाइकन आदर्श बन्न थालिसकेछन् । मेरा लागि प्रत्येक दिन, हप्ता, महिना र वर्षभरको मुड यिनै रातो वर्णका प्रशिक्षक, रुनीलगायतका खेलाडी र उनको क्लब म्यानचेस्टर युनाइटेडकै गतिविधि र उतारचढावहरूले निर्धारण गर्न थाले ।

सन् १९४१ को अन्त्यतिर स्कटल्यान्डको ग्लास्गोमा जन्मिएका फर्गुसनले १६ वर्षको उमेरमा त्यही सहरको एउटा ठूलो क्लब क्विन्स पार्कबाट खेल्न थालेका थिए । स्कटल्यान्डका विभिन्न क्लबमा खेल्दै गर्दा एउटा स्ट्राइकरको रूपमा थुप्रै गोल गर्दै फर्गुसनको करियर अघि बढ्न थाल्यो । त्यही क्रमको निरन्तरताले उनलाई एयर युनाइटेडसम्म पुर्यायो । जहाँबाट सन् १९७४ मा फर्गुसनले औपचारिक रूपमा बुट थन्क्याए । सक्रिय खेलाडी करियर टुंग्याएसँगै फुटबलबाट टाढिएको भए आजको दिनमा उनलाई स्कटल्यान्डमा मात्र पनि चिन्नेको संख्या नगण्य हुन सक्थ्यो । विश्वव्यापी ख्याति, सर उपाधि र यो सुन्दर खेलमा एउटा विश्वव्यापी इन्फ्लुएन्सरको हैसियत त  कल्पना बाहिरको विषय बन्थ्यो ।

तर फर्गुसनले फुटबल छोडेनन् । खेल जीवनबाट संन्यास लिएकै वर्ष इस्ट स्टर्लिङसायर नामको स्कटिस क्लबमा म्यानेजर भएर प्रवेश गरे । त्यसपछि भयो फुटबलमा अजम्बरी बन्ने यात्राको थालनी ।

१९७४ मै उनी इस्ट स्टर्लिङसायर छोडेर सेन्ट मिरेन भन्ने क्लबमा गए । त्यहाँ उनले झन्डै ४ वर्ष बिताए । १९७७ मा त उनले सेन्ट मिरेनलाई दोस्रो डिभिजनबाट शीर्ष डिभिजनमा उकाले । एउटा म्यानेजर (प्रशिक्षक) का रूपमा फर्गुसन सुरुदेखि नै कडा थिए । खरो स्वभावका उनी सबैखाले सेवासुविधाप्रति निकै सचेत हुन्थे । फुटबलका अत्यावश्यक पक्षमा उनी सम्झौता गर्दैनथे । खेलाडीबाट मिहिनेत, अनुशासन र प्रतिबद्धता जति चाहन्थे, त्यति नै खेलाडीलाई दिने सेवासुविधामा पनि उनी खरो उत्रन्थे । यही कारण थियो, सन् १९७८ मा आफैले बढुवा गराएको क्लब सेन्ट मिरेनले फर्गुसनलाई बर्खास्त गर्यो ।

फर्गुसनको प्रशिक्षण करियरमा त्यो पहिलो बर्खास्तगी थियो । उमेर पनि भर्खर ३७ वर्ष । तर त्यो बर्खास्तगीले उनमा कुनै नकारात्मक प्रभाव परेन । एउटा जागिर गुम्दा फर्गुसनको प्रतिबद्धता डगमगाएन । एउटा महान प्रशिक्षक बन्ने भाग्य लिएर सुरु भएको करियर रोकिएन । उनी रत्तिभर पनि हतोत्साही भएनन् । बरू झन मजबुत इच्छाशक्ति र प्रतिबद्धताका साथ विश्वकै महान प्रशिक्षक बन्ने यात्राका दिनहरू सुरु हुन थाले ।

त्यसपछि एबरडिन भन्ने स्कटल्यान्डको चर्चित क्लबले उनलाई १९७८ मा अनुबन्धन गर्यो । एबरडिनलाई लगत्तैको सिजन १९७९-८० मा स्कटिस फुटबल लिगको उपाधि जिताएर फर्गुसनले आफूलाई प्रमाणित गरे । त्यो एउटा ठूलो जित किन थियो भने त्यो बेला लगातार १५ सिजनदेखि स्कटिस लिगको उपाधिमा सेल्टिक र रेन्जर्सको दबदबा थियो । यी दुईबाहेकका क्लबले पछिल्ला १५ सिजनदेखि उपाधि जित्न सकेको थिएन ।

 एबरडिनको सफलताको शृंखलामा फर्गुसनको मुख्य भूमिका रहेको विषय पनि युरोपका सबै ठूला क्लबले थाहा पाउन थालिसकेका थिए ।

घरेलु लिगमा सेल्टिक र रेन्जर्सको हालीमुहालीमाथि प्रभावशाली हस्तक्षेप गरेका फर्गुसनको सफलताको कथा अब रोकिनेवाला थिएन । एबरडिनलाई नै १९८२-८३ को सिजनमा युरोपियन कप विनर्स’ कपमा छनोट गराएपछि त उनको चर्चा झनै जबरजस्त हुन थाल्यो । स्कटल्यान्डको एउटा सामान्य प्रशिक्षकबाट युरोपकै सनसनीपूर्ण रणनीतिकारका रूपमा उनलाई त्यही सिजनको युरोपियन कप विनर्स’ कपले स्थापित गर्यो ।

प्रतियोगितामा फर्गुसनको एबरडिनले अन्तिम आठमा जर्मन महारथी बायर्न म्युनिख तथा सेमिफाइनलमा बेल्जियमको वाटस्र्चेई थोरलाई हराउँदै उपाधि भिडन्तमा स्थान पक्का गर्यो । १९८३ को मे ११ को दिन स्विडेनको गोथेनबर्गमा रियाल मड्रिडविरुद्ध फाइनल थियो । जहाँ स्पेनिस महारथीमाथि २-१ को नतिजा निकाल्दै स्कटल्यान्डको फुच्चे क्लबले युरोपेली फुटबल शक्तिको परिचय बनायो । सँगै त्यो सफलताका मुख्य योजनाकार फर्गुसनको परिचय पनि एउटा क्षमतावान प्रशिक्षकमा स्थापित भयो ।

फर्गुसनको सबल नेतृत्वमा त्यसपछि पनि एबरडिनको सुखद यात्रा रोकिने कुरा थिएन । सँगै एबरडिनको सफलताको शृंखलामा फर्गुसनको मुख्य भूमिका रहेको विषय पनि युरोपका सबै ठूला क्लबले थाहा पाउन थालिसकेका थिए । त्यही भएर त, १९८६ मा रोन एटकिन्सनलाई बर्खास्त गरेपछि म्यानचेस्टर युनाइटेडले फर्गुसनलाई गुहार्यो । फर्गुसनको करियर स्कटल्यान्डबाट ओल्ड ट्राफोर्डसम्म पुग्यो । इङ्लिसहरूले स्कटिसलाई सामान्यतया मन नपराउने वातावरणबीच फर्गुसनको नियुक्तिमा यो इङ्लिस भावना गौण बन्यो । अंग्रेजीमा भनिन्छ नि ‘द रेस्ट इज हिस्ट्री ।’

१९८६ देखि २०१३ सम्म २६ सिजन उनी म्यानचेस्टर युनाइटेड जस्तो ऐतिहासिक क्लबको म्यानेजर भए । अझ अर्को भाषामा भन्ने हो भने उनले त्यही साढे दुई दशकभन्दा लामो समय म्यानेजर भएर बिताउँदा युनाइटेडलाई एउटा समृद्ध क्लबको दर्जा दिलाए । क्लबको वर्तमान हेर्दा त सर एलेक्सले २७ वर्ष कसरी बिताए होलान जस्तो लाग्न सक्छ ।

तर म्यानचेस्टर युनाइटेड र सर एलेक्सको सहकार्यका दिनहरू अध्ययन गर्ने हो भने त्यो निकै सहज र स्वाभाविक देखिन्छ । सकारात्मक फुटबलभावको त्यही सहज सहकार्य सोझो रेखामा अगाडि बढेकै कारण त हो, सर एलेक्सको नेतृत्वमा युनाइटेडले २७ वर्षका २६ सिजनमा ३८ वटा प्रतिष्ठित उपाधि जितेको । फर्गुसनकालमा युनाइटेड र सर एलेक्सले ५ पटक एफए कप, ४ पटक लिग कप, १० पटक कम्युनिटी सिल्ड, २ पटक च्याम्पियन्स लिग तथा क्लब विश्वकप, युरोपियन कप विनर्स कप, युरोपियन सुपरकप र अन्तरमहादेशीय कप १÷१ पटक जिते । त्यसमा विश्वकै सबभन्दा कठिन र प्रतिष्ठित मानिने इङ्लिस प्रिमियर लिगमा जितेका १३ उपाधि नजोड्ने हो भने फर्गुसन र युनाइटेडमात्र होइन, फुटबलकै इतिहास पनि पूर्ण हुँदैन ।

 सर एलेक्सको सक्षमताको सही मूल्यांकन होला कि नहोला ? यति धेरै सफलता हासिल गर्न एउटा प्रशिक्षकले कति संघर्ष गर्नुपर्ला ? 

खासमा स्कटल्यान्डको एउटा औसत खेलाडी प्रशिक्षण करियरमा कसरी यति सफल बन्यो त ? कसरी ग्लास्गोबाट सुरु गरेको सामान्य करियरले एलेक्स फर्गुसनलाई एउटा महान गुरुको दर्जामा पुर्यायो त ? पक्कै पनि यसका लागि उनको नेतृत्वदायी क्षमता, व्यवस्थापन कौशल, फुटबलको बुझाइ, इनोभेसनका लागि तत्परता अनि असाधारण प्रतिबद्धता लगायतका गुण आवश्यक पर्छ । जुन सर एलेक्समा थियो होला । के यति नै पर्याप्त छ त ?

एउटा खाँटी प्रशंसकका रूपमा यी प्रश्नहरूको उत्तर मेरो मनले सधैं खोजिरहन्थ्यो । सर एलेक्सको सक्षमताको सही मूल्यांकन होला कि नहोला ? यति धेरै सफलता हासिल गर्न एउटा प्रशिक्षकले कति संघर्ष गर्नुपर्ला ? भन्ने लागिरहन्थ्यो । यिनै कौतूहल मेट्ने अवसरस्वरुप भर्खरै सर एलेक्सको आत्मकथा ‘एलेक्स फर्गुसन, माई अटोबायोग्राफी’ हात पर्यो । आफूले आदर्श मानेको एक फुटबलकर्मीको त्यो आत्मकथा हृदयदेखिको सम्पूर्ण श्रद्धाका साथ पढिसकेपछि यी महान फुटबल व्यक्तित्वप्रतिको सम्मान झनै बढ्यो । र, तिनै भावना मनमा उर्लिरहेका छन् ।

खेलाडीलाई राख्न गाह्रो

फर्गुसनले २६ सिजन युनाइटेडको म्यानेजर भएर बस्दा कति खेलाडी आए कति गए । तर फर्गुसनको लागि खेलाडीमा चाहिने सबैभन्दा मुख्य गुणहरू भनेको क्लबको लोगो, त्यसले बोक्ने अर्थ र लाखौं-करोडौं समर्थकको मायाका लागि मरिमेटेर खेल्नु थियो । क्लबहरूले आफ्ना एजेन्टहरूलाई कसरी संसारभर फैलाएर त्यस्ता ‘ट्यालेन्ट’ खोज्थे र कसरी आफ्नै एकेडेमीमा त्यस्ता प्रतिभाको विकास गर्थे भन्ने विषयलाई फर्गुसनले आत्मकथामा सविस्तार वर्णन गरेका छन् ।

युनाइटेडमा खेल्ने खेलाडी विश्वकै उत्कृष्टमध्येका हुन्थे । र, उत्कृष्ट छु भन्ने भान भएपछि खेलाडीमा जन्मिने अभिमानलाई सामान्य मानिने प्रशिक्षक पदमा बसेको व्यक्तिले सजिलोसँग पचाउन पक्कै सक्दैनथ्यो । यही कारण उत्कृष्ट खेलाडीहरूलाई अनुशासनमा राख्नु प्रशिक्षकका लागि सबैभन्दा चुनौतीपूर्ण काम हुन्थ्यो । फर्गुसन यसमा कहिल्यै पनि चुकेनन् । उनका लागि अनुशासनभन्दा ठूलो अर्को कुनै कुरा थिएन । आफ्ना लागि र अरुका लागि पनि । यही कारण हो, खेलाडीहरू अनुशासनभन्दा बाहिर जाँदा आफ्नो करियर दौरान थुप्रै पटक फर्गुसनले ‘ताण्डव’ गरे । ताण्डव अनुशासनका लागि । ताण्डव फुटबलका लागि । ताण्डव क्लबका लागि । ताण्डव समर्थकका लागि । ताण्डव स्वयं जसका विरुद्ध गरेको हो, त्यही खेलाडीका लागि ।

फर्गुसनकालबाट छुट्याउने हो भन म्यानचेस्टर युनाइटेडको वजन निकै हल्का हुनसक्छ । युनाइटेडको इतिहासकै सबभन्दा स्वर्णिमकाल भनेकै फर्गुसनले नेतृत्व गरेको समय हो । अनि, त्यो कालका सबैभन्दा सुपरस्टार नाम चाहिँ आयरल्यान्डका रोय किन र इङ्ल्यान्डका डेविड बेकह्याम हुन् । सन् १९९३ देखि २००५ सम्म युनाइटेडका लागि ३२६ खेल खल्ने क्रममा किनले फर्गुसनको मार्गदर्शनमा ७ पटक प्रिमियर लिग, ४–४ पटक एफ कप र कम्युनिटी सिल्ड तथा १९९८-९९ सिजनको च्याम्पियन्स लिग र एउटा अन्तरमहादेशीय कप जिते ।

फुटबल भनेको प्रशिक्षकको मिडियम हो । यहाँ प्रशिक्षकको सर्वोच्चता स्थापित हुनुपर्छ भन्ने फर्गुसनको मान्यता थियो । 

किनभन्दा एक सिजन अगाडिदेखि युनाइटेडको सिनियर टिममा खेल्न थालेका बेकह्यामले २००३ मै ओल्ड ट्राफोर्ड छाडे । बेकह्याम किनसँगै १९९८-९९ को युनाइटेडको तेहेरो उपाधि ‘ट्रेबल’ जित्ने टिमका मुख्य खेलाडी थिए । उनले म्यानचेस्टर युनाइटेडको जर्सी लगाएर ६ पटक प्रिमियर लिग, २-२ पटक एफए कप र कम्युनिटी शिल्ड तथा १–१ पटक च्याम्पियन्स लिग र अन्तरमहादेशीय कप जितेका थिए ।

विश्व फुटबलकै सर्वाधिक चर्चितमध्येका यी दुई खेलाडी अनुशासनको विषयमा फर्गुसनको ताण्डवको सिकार भए । प्रशिक्षकले बनाएको अनुशासनको दायरा नाघेपछि कारबाहीबाट उनीहरूलाई विश्वव्यापी स्टारडमले पनि जोगाउन सकेन ।

फर्गुसनले आफ्नो आत्मकथामा किनका लागि एउटा बेग्लै च्याप्टर नै छुट्याएका छन् । त्यसका लागि आठ पृष्ठमात्र खर्चिए पनि, किनलाई एउटा छुट्टै स्पेस चाहिन्छ भन्ने फर्गुसनको बुझाइ देखिन्छ । किनकि किन बेग्लै व्यक्तित्वका खेलाडी थिए । फर्गुसनकै आत्मकथाले पनि त्यसलाई स्वीकारेको देखिन्छ । किनको च्याप्टर सुरु गर्दा फर्गुसन लेख्छन्, ‘रोय किन उर्जा, साहस र रगतले भरिएका खेलाडी थिए । जसलाई खेल र यसका रणनीतिको गहिरो ज्ञान थियो । ड्रेसिङ रूममा उनको उपस्थिति सबैभन्दा प्रभावशाली रहन्थ्यो ।’

सन् २००५-०६ को प्रि-सिजन क्याम्प पोर्चुगलमा हुँदा एलेक्स फर्गुसन र रोय किनबीचको सम्बन्ध बिग्रिन थाल्यो । किनले बसाइका लागि क्लबले गरेको व्यवस्थामाथि असहमति जनाउँदै फर्गुसनका सहायक कार्लोस क्विरेजसँग विवाद गरे । यो विषय क्विरेज र किनको बीचमा मात्र सीमित रहेन । युनाइटेडरुपी सवारीको चालक फर्गुसन थिए । उनलाई आफ्ना कप्तानको त्यो व्यवहार चित्त बुझेन । क्विरेजलाई पाखा लगाएर किनसँग उनी आफै जाइलागे । आफ्ना पूजनीय गुरुको आफैमाथिको त्यो रौद्ररुपले किनलाई निकै निराश बनायो । उनले वचन फोडिहाले, ‘तपाईं बदलिनुभयो ।’

अनुशासनको मामलामा कट्टर फर्गुसनले सम्झौता गर्ने कुरै थिएन । उनले आफ्ना प्रिय शिष्य किनलाई माफी गरेनन् । त्यसपछि विषय झनै बल्झियो । त्यसमा टिमका अरू खेलाडी पनि तानिए । अनि क्लबको आधिकारिक टेलिभिजन च्यानल म्यानयुटिभीमा किनले आफ्नै टिमका केही खेलाडीको खिसीटिउरी शैलीमा खुलेआम आलोचना गरे ।

फर्गुसनले जस्तै रायन गिग्स र पाउल स्कोल्सले पनि युनाइटेडकै लागि पूरा करियर समर्पित गरे । 

म्यानयुटिभीमा किनको अन्तर्वार्ता हेरेपछि टिमका गोलकिपर एडविन भान डेर सारले किनको आलोचना अस्वीकार्य भएको बताएका थिए । त्यसपछि ड्रेसिङ रूममा भएको एउटा जम्काभेटमा भान डेर सार, भान निस्टेलरोय, सहायक प्रशिक्षक क्विरेज र प्रशिक्षक फर्गुसनमाथि किन खनिन थाले । माहोल खराब बन्दै गएपछि खेलाडीहरू त्यहाँबाट बाहिरिन थाले । किन पनि त्यहाँ बसिरहेनन् । उनी बाहिरिएपछि क्विरेजले फर्गुसनलाई निकै रिसाएको अवस्थामा देखे । उनले जीवनमा यस्तो दृश्य कहिल्यै नदेखेको र त्यो व्यावसायिक फुटबल क्लबको सबैभन्दा खराब दृश्य रहेको बताए । लगत्तै एकाएक शान्त हुन भ्याइसकेका फर्गुसनले आफ्ना सहायकलाई जवाफ दिए, ‘ऊ जानुपर्छ, कार्लोस । ऊ अब युनाइटेडको हिस्सा हुन सक्दैन ।’ क्विरेजले पनि स्वीकारे, ‘सय प्रतिशत, उनलाई हटाउनुपर्छ । तपाईं सही हुनुहुन्छ ।’

यो घटनाबाट फर्गुसनले पनि धेरै पाठ लिएको स्वीकारेका छन् । यही घटनामा उनलाई ‘आधुनिक फुटबलमा खेलाडीको स्टारडमको शक्ति प्रशिक्षक र पूरा व्यवस्थापनमाथि हाबी हुनसक्ने खतरा बोध’ भएको आत्मकथामा उल्लेख गरेका छन् । आफ्ना प्रिय शिष्यको व्यवहार र ऊविरुद्ध आफूले कठोर कदम चाल्नुपर्ने अवस्था आएपछि निकै भावुक बनेका उनलाई लागेको थियो, ‘खेलाडीले आफ्ना रिस, भावना र असन्तुष्टि पोख्न सक्छन् । तर प्रशिक्षक यो मामिलामा जिम्मेवारीका कारण निरीह हुन्छन् ।’

बेकह्याम, जसलाई फर्गुसनले छोराजस्तै मानेका थिए । उनी म्यानचेस्टर युनाइटेडको ‘क्लास अफ ९२’ का सदस्य थिए । युनाइटेडका लागि उनले ३९४ खेल खेल्दै ८५ गोल गरेका थिए । बेकह्याम आफ्नो जमानाका सबभन्दा ठूलो स्टार फुटबलरको नाम थियो । उनको ख्याति मैदानबाहिर झनै बढी थियो । किशोरावस्थामै स्टाइलिस फेसनका कारण उनी लोकप्रिय भइसकेका थिए ।

फर्गुसन र बेकह्यामबीचको झगडा सन् २००३ मा एफए कपअन्तर्गत आर्सनलविरुद्धको खेलमा भएको थियो । दोस्रो गोलमा बेकह्यामले ट्र्याक ब्याक नगरेपछि फर्गुसनले उनको आलोचना गरे । तर बेकह्यामले त्यसलाई स्वीकार गरेनन् । यही विषयमा गलफती चलिरहँदा ड्रेसिङ रूममा फर्गुसनले आक्रोश पोख्न खुट्टा झट्कार्दा जुत्तामा लाग्यो । र, त्यही जुत्ताले लागेर बेकह्यामलाई चोट लाग्यो । अवस्था असामान्य बन्न थाल्यो । बेकह्यामको व्यवहार ‘प्रशिक्षकभन्दा ठूलो हुँ’ जस्तो भयो । जुन फर्गुसनका लागि सह्य भएन । उनले बोर्डमा प्रस्टैसँग भने, ‘म्यानचेस्टर युनाइटेडमा कुनै खेलाडीले प्रशिक्षकको भन्दा बढी अधिकार खोज्छ भने उसका लागि यहाँ ठाउँ छैन । ऊ जानुपर्छ ।’

फुटबल भनेको प्रशिक्षकको मिडियम हो । यहाँ प्रशिक्षकको सर्वोच्चता स्थापित हुनुपर्छ भन्ने फर्गुसनको मान्यता थियो । यो घटनाले पनि क्लबमा प्रशिक्षकको अधिकार सर्वोच्च हुन्छ र खेलाडीले कहिल्यै ड्रेसिङ रूम नियन्त्रण गर्न सक्दैन भनेर प्रमाणित गरेको थियो ।

फर्गुसनले जस्तै रायन गिग्स र पाउल स्कोल्सले पनि युनाइटेडकै लागि पूरा करियर समर्पित गरे । खासमा फर्गुसन गिग्स र स्कोल्सजस्तै अरू धेरै खेलाडीलाई पनि लामो समय आफूसँगै राख्न चाहन्थे । बेकह्याम र किन त्यो सूचीमा झनै अग्रपंक्तिमा थिए । प्रशिक्षकको अनुशासनको घेराभित्र दुवै अटाउन नसकेपछि निष्कासन गरिए । किन र बेकह्याम निकै क्षमतावान र प्रभावशाली खेलाडी थिए । उनीहरूको बर्हिगमनले क्लबलाई ठूलो घाटा भयो । तर फर्गुसनले त्यसलाई धेरै महत्व दिएनन् । किनकि खेलाडीभन्दा क्लब धेरै ठूलो छ । क्लबको मूल्य, मान्यता अगाडि खेलाडी जतिसुकै अब्बल भए पनि सानो हुनुपर्छ ।

छिटफुट असमझदारी भए पनि फर्गुसनको खेलाडीहरूप्रतिको व्यवहार उदाहरणीय थियो र यही कारण उनले खेलाडीको विश्वास जितेका थिए भनिन्छ । 

फर्गुसनले आफ्नो आत्मकथाको बेकह्यामसम्बन्धी च्याप्टरमा लेखेका छन्, ‘म्यानचेस्टर युनाइटेडको कुनै खेलाडीले आफू प्रशिक्षकभन्दा ठूलो भएको सोचेको खण्डमा उसले क्लबबाट जानुपथ्र्यो । प्रशिक्षकको अधिकार हरायो भने सम्झनुस, तपाईंको क्लब छैन । खेलाडीहरूले क्लब चलाउन थाल्छन् र त्यसपछि तपाईं समस्यामा पर्नुहुन्छ ।’

‘मेरो लागि क्लबमाथिको नियन्त्रण गुमाउनु कहिल्यै स्वीकार्य थिएन । किनभने नियन्त्रण मेरो एकमात्र उद्धारकर्ता थियो । डेविड बेकह्यामको घटनाजस्तै । मलाई थाहा थियो कि जति बेला कुनै फुटबल खेलाडीले क्लब चलाउन थाल्छ, बाँकी सबैको अन्त्य हुनेछ । वास्तवमा अधिकांश खेलाडीले पनि कडा प्रशिक्षक मन पराउँछन् । उनीहरूले प्रशिक्षकलाई ‘पुरुष’को रूपमा हेर्न चाहन्छन् ।

खेलाडीले खासगरी प्रशिक्षकबारे तीन तरिकाले सोच्छन् । पहिलोः के उनी हामीलाई विजेता बनाउन सक्छन् ?दोस्रोः के उनी मलाई राम्रो फुटबलर बनाउँछन् ?तेस्रोः के उनी हामीप्रति बफादार छन ?

एउटा खेलाडीको नजरबाट हेर्दा यी निकै महत्वपूर्ण पक्षहरू हुन् । र, यी तीनवटै प्रश्नको उत्तर उनीहरूले ‘हो’ भन्ने पाएपछि प्रशिक्षकको जतिसुकै कडा व्यवहार पनि उनीहरू सहर्ष स्वीकार्छन ।

किन र बेकह्याम पनि त्यस्तै खेलाडी थिए । तर, उनीहरूलाई तत्कालीन स्टारडमको रापले केही हदसम्म दिग्भ्रमित गरेको थियो । यही कारण घटना भएको दुई महिनापछि किनले गुरुसँग भेटेर आफ्नो व्यवहारका लागि माफी मागे । त्यो घटनाबाहेक अन्य विषयमा कुरा गरे । तर युनाइटेड र किनको निरन्तरता यो कुराकानीले पक्का गर्न त सकेन । तर गुरु शिष्यबीचको सम्बन्ध चाहिँ फेरि सुमधुर भयो । अनि किनले गल्ती स्वीकार्नुले जोसमा गलत काम भए पनि त्यसको बोध हुनु र माफी माग्न सक्नु नै स्पोर्ट्सम्यानसिप हो भन्ने देखायो ।

फर्गुसनले आफ्नो आत्मकथाका २५ मध्ये पाँच च्याप्टर विपक्षीहरूमा समर्पित गरेका छन् ।

छिटफुट असमझदारी भए पनि फर्गुसनको खेलाडीहरूप्रतिको व्यवहार उदाहरणीय थियो र यही कारण उनले खेलाडीको विश्वास जितेका थिए भनिन्छ । हुन पनि उनी खेलाडीहरूसँग मात्र नभई तिनका परिवारसँग समेत सम्बन्ध राख्थे । उनीहरूको समेत विश्वास जित्थे । खेलाडीहरू परिवार छोडेर क्लबका लागि खेलिरहेको फर्गुसनलाई थाहा थियो । युवावस्थामा उनले पनि त्यही गरेका थिए । उनी आफै खेलाडीलाई सधैं क्लबलाई प्राथमिकता सूचीमा सबैभन्दा माथि राख्न सिकाउँथे । तर परिवारको कुरा आउँदा भने उनी प्रस्टसँग भन्थे, ‘क्लब कहिल्यै पनि परिवारभन्दा ठूलो हुँदैन ।’ खासमा यस्तै मानवीय भावनाका कारण उनी सबै खेलाडी र तिनका परिवारको नजरमा पनि सम्मानित थिए ।

फर्गुसनलाई मनपरेका विपक्षी

फर्गुसनले आफ्नो आत्मकथाका २५ मध्ये पाँच च्याप्टर विपक्षीहरूमा समर्पित गरेका छन् । त्यसमा खासमा ती विपक्षी कति ठूलो चुनौती थिए र फर्गुसनले उनीहरूलाई कति गम्भीरताका साथ लिएका थिए भन्ने उल्लेख गरेका छन् । फर्गुसनको आत्मकथामा अटाएका ती पाँच सम्मानित विपक्षी जोसे मोउरिन्हो, आर्सेन वेंगर, लिभरपुल, बार्सिलोना र म्यानचेस्टर सिटी थिए ।

चेल्सीका तत्कालीन प्रशिक्षक माउरिन्होलाई उनले ‘द स्पेसल राइभल’ अर्थात विशेष प्रतिद्वन्द्वी भनेका छन् भने आर्सनलका पुराना र सफल प्रशिक्षक वेंगरसँग मैदान साझेदारी गर्दाका दिनहरू सम्झिएका छन् । लिभरपुल र म्यानचेस्टर युनाइटेडको प्रतिद्वन्द्विता निकै कडा छ, दुश्मनीकै तहमा । तर फर्गुसनले ‘लिभरपुल–अ ग्रेट ट्रेडिसन’ अर्थात लिभरपुल– एउटा महान सभ्यता भनेर विपक्षीको प्रशंसा गरेका छन् ।

बार्सिलोनाबारे ‘स्मल इज ब्युटीफुल’ भनेर अध्याय सुरु गरेका उनले युनाइटेडको सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीका लागि पनि पर्याप्त शब्द खर्चेका छन् ।

मोउरिन्होले २००४ मा चेल्सी आउनेबित्तिकैको एउटा पत्रकार सम्मेलनमै आफूलाई एक कडा प्रतिस्पर्धीको रूपमा प्रस्तुत गरेको फर्गुसनको बुझाइ रहेको छ । त्यो पत्रकार सम्मेलनमा मोउरिन्होले भनेका थिए, ‘आई एम अ स्पेसल वान’ । जसले फर्गुसनलाई विपक्षीप्रति सकारात्मक प्रभाव पारेको थियो ।

पत्रकारहरूसँग मोउरिन्होको भेटघाट सधैं फुटबलप्रेमी र चासो राख्नेका लागि रोचक र महत्त्वपूर्ण हुन्थ्यो । मिडियाका लागि सधैं मोउरिन्होको उत्तर तथा प्रस्तुतीकरण रोचक रहने गर्थ्यो । मोउरिन्होले इङ्लिस लिगमा प्रवेश गरेकै सिजनमा, पहिलो खेलमै फर्गुसनको युनाइटेडलाई १-० र दोस्रो खेलमा ३-१ ले हराएका थिए ।

लिभरपुल भने फर्गुसनको करियरमा सबैभन्दा कट्टर र मुख्य प्रतिस्पर्धी रह्यो । उनले ‘लिभरपुलको गन्ध त २५ माइल टाढाबाटै पत्ता लगाउन सक्ने’ बताएका छन् ।

उसो त, चेल्सी जानुअघि नै मोउरिन्होले आफू युनाइटेडका लागि गम्भीर चुनौती हुनसक्ने संकेत दिइसकेका थिए । एफसी पोर्टोमा हुँदा २००३-०४ को च्याम्पियन्स लिगमा मोउरिन्होकै पोर्टोसँग हारेर युनाइटेड प्रतियोगिताबाट बाहिरिएको थियो । पोर्टोले भने त्यो सिजन सबैको अनुमानविपरीत च्याम्पियन्स लिगको उपाधि जितेको थियो । त्यतिबेलै मोउरिन्होको क्षमताप्रति फर्गुसन जानकार भइसकेका थिए ।

सन् १९८६-८७ मा पहिलो पटक युरोपेली च्याम्पियन बनेको पोर्टोले त्यसयता अहिलेसम्म च्याम्पियन्स लिग जितेको एकमात्र इतिहास त्यही मोउरिन्होकालकै उपाधि हो । मोउरिन्होसँगै फर्गुसनले चेल्सीका सञ्चालक र खेलाडीहरूको पनि बयान गर्न छुटाएका छैनन् ।

आर्सनलका प्रशिक्षक वेंगरबारे फर्गुसन लेख्छन्, ‘मैले उनका उत्कृष्ट आर्सनल टिमहरू हेरें । त्यसले मलाई रोमाञ्चित बनायो । मलाई आर्सेनका टिमहरू हेर्न सधैं मन पर्थ्यो । उनीहरूसँग खेल्दा बेग्लै खालका चुनौतीहरू आउँथे । जसबारे सोच्न म धेरै घण्टा खर्चिन्थें । आर्सेनले गर्ने हरेक कुरा आफू पनि परीक्षण गर्नुपर्छ जस्तो लाग्थ्यो । किनकि उनीहरूले मैदानभर धेरै खतरा पेस गरिरहन्थे । चेल्सीले अर्कै खालका समस्या ल्याउँथ्यो । त्यहाँ हामी अनुभवी खेलाडीहरूसँग खेल्थ्यौं, जसले किताबका सबै चाल जान्दथे । अर्कोतर्फ, आर्सनल भने सही तरिकाले खेल्थ्यो । आर्सेनका सुरुआती वर्षमा उनीहरूको अनुशासन राम्रो थिएन । तर उनीहरू फोहोर खेलाडी वा फोहोर टिम हुन भन्न चाहिँ सकिन्नथ्यो ।’

फर्गुसनलाई आर्सनलले उसको रंगशालामा दिने खाना एकदमै मीठो लाग्थ्यो रे । उनी लेख्छन्, ‘हामीले हरेक खेलपछि अवे ड्रेसिङ रूममा खाना राख्थ्यौं । पिज्जा, चिकन । प्रायः क्लबहरूले यस्तै गर्छन् । आर्सनलको खाना चाहिँ सबैभन्दा राम्रो थियो ।’

लिभरपुल भने फर्गुसनको करियरमा सबैभन्दा कट्टर र मुख्य प्रतिस्पर्धी रह्यो । उनले ‘लिभरपुलको गन्ध त २५ माइल टाढाबाटै पत्ता लगाउन सक्ने’ बताएका छन् । यही कारण हो जेरार्ड हुलियर प्रशिक्षक हुँदा सन् २००१ मा लिभरपुलले तेहेरो उपाधि ‘ट्रेबल’ जित्दा फर्गुसनलाई असाध्यै गाह्रो परेको थियो । उनकै आत्मकथाअनुसार लिभरपुलबाट स्पेनिस फरवार्ड फर्नान्डो टोरेज खेलिरहेको देख्दा त उनको मन अझै बढी दुख्दोरहेछ । किनकि युनाइटेडले टोरेज १६ वर्षको हुँदा नै  उनलाई भित्र्याउन खोजेको रहेछ र लिभरपुलबाट उनी खेलिरहँदा त्यसले सधैं फर्गुसनलाई त्यो असफलता सम्झाइरहँदो रहेछ ।

आफ्ना प्रतिस्पर्धीहरूको जितले त्यति ठूलो पीडा महसुस नगरेका फर्गुसन सन् २०१२ मा भने त्यसबाट अछुतो रहन सकेनन् । 

टोरेजबारे फर्गुसन लेख्छन्, ‘उसको स्टेप्स निकै लामो थियो । कुनै चेतावनीविना नै ऊ अकस्मात् गति बढाएर तिमीलाई काटेर अगाडि बढ्थ्यो ।’

टोरेजसँगै उनलाई लिभरपुलका डिर्क कुइट पनि मन पर्थ्यो । फर्गुसन लेख्छन्, ‘हामीलाई समस्या दिने लिभरपुलका अरू खेलाडीमा डिर्क कुइट पनि हुन् ।’

फर्गुसन अगाडि लेख्छन्, ‘लिभरपुलसँगको प्रतिद्वन्द्विता जहिल्यै पनि इन्टेन्स रहन्थ्यो ।’ तर, २०१२ मा हिल्सब्रो रिपोर्ट प्रकाशित हुँदा युनाइटेडले त्यसलाई एउटा सम्मानको रूपमा लिँदै खुसी मनाएको थियो । हिल्सब्रो रिपोर्ट १९८९ अप्रिल १५ मा सेफिल्डमा ९६ जना लिभरपुलका समर्थकको ज्यान जाने गरी भएको भागदौडबारे थियो । त्यो रिपोर्ट प्रकाशित भएपछि भएको लिभरपुल-युनाइटेड खेलमा फर्गुसनले आफ्ना खेलाडीलाई गोल सेलिब्रेसन नगर्न र विपक्षी टिमका कुनै खेलाडी भुइँमा लडे उठाउन निर्देशित गरेका थिए । यो ‘फुटबलमा प्रतिस्पर्धासँगै विपक्षीका लागि सम्मान पनि हुन्छ’ भन्ने कुराको राम्रो उदाहरण थियो ।

च्याम्पियन्स लिगको खेलमा बार्सिलोनासँग फर्गुसनको युनाइटेडले २००९ मा रोम तथा २०११ मा वेम्बलीमा पराजय भोगेर बाहिरियो । फर्गुसनको विचारमा २०११ को बार्सिलोना २००९ को भन्दा धेरै उत्कृष्ट थियो । पछिल्लो हारले उनको मन त्यति दुखाएको थिएन । तर २००९ को हारलाई उनले कहिल्यै पचाउन सकेनन् । उनको विचारमा त्यो खेलको भोलीपल्टदेखि जतिपटक खेल भएको भए पनि युनाइटेड विजयी हुन्थ्यो । तर रोममा आफ्नो टिमलाई राखेको होटल र त्यहाँ उपलब्ध खानाका कारण प्रदर्शन प्रभावित भएको उनको बुझाइ छ । 

‘रोममा हाम्रो हारको मुख्य कारण, म अहिले भन्छु होटलको छनोट नै थियो । त्यो एकदमै अव्यवस्थित थियो । खाना खाने बेलामा हामी अँध्यारो कोठामा बस्नुपर्थ्यो । खाना ढिलो आउँथ्यो, त्यो पनि चिसो । मैले त्यहाँ एउटा सेफ लगेँ, तर उनीहरूलाई हटाइयो, बेवास्ता गरियो । खेलको बिहान, हाम्रा दुई-तीन खेलाडी खराब खानाकै कारण अस्वस्थ महसुस गरिरहेका थिए । अस्वस्थता हुनेमा रायन गिग्स पनि थिए । अस्वस्थताकै अवस्थामा खेल्नुपर्दा नतिजा प्रभावित हुनु स्वाभाविक थियो ।’

म्यानचेस्टर दुई भागमा बाँडिएको छ । एउटा नीलो र एउटा रातो । यी दुई रंगका मानिस एकअर्कालाई मन पराउँदैनन् । कारण फुटबलको प्रतिद्वन्द्विता हो । 

योहान क्राएफले बार्सिलोनामा वाइड बल सर्कुलेसनको शैली स्थापित गरे । त्यही शैली थप निखार्दै पेप ग्वार्डिओलाले बल प्रेसिङको नयाँ मानक स्थापना गरेको फर्गुसनको बुझाइ छ । यही कारणजाभी हर्नान्डेज र आन्द्रेस इनिस्टाजस्ता मिडफिल्डर, जेरार्ड पिके जस्ता रक्षक र लियोनल मेसीजस्ता फरवार्ड भएको बार्सिलोनालाई फर्गुसन उत्कृष्टताको दर्जा दिन्छन् ।

तर आफ्ना प्रतिस्पर्धीहरूको जितले त्यति ठूलो पीडा महसुस नगरेका फर्गुसन सन् २०१२ मा भने त्यसबाट अछुतो रहन सकेनन् । सन् २०१२ मे १३ आइतबारको दिनलाई उनले निकै दुखदायी रूपमा बयान गरेका छन् । किनकि एउटा राम्रो अग्रताका हुनाका बावजुद आफू मैदान नै नउत्रिएको खेलमा सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीले क्विन्स पार्क रेन्जर्समाथि जित हालिस गर्दै लिग उपाधि युनाइटेडसँग खोस्यो । सिटीले क्विन्स पार्क रेन्जर्समाथि पाएको ३-२ को जित युनाइटेडलाई गोलअन्तरमा पछि पार्दै उपाधि खोस्न पर्याप्त भयो ।

त्यो दिन फर्गुसनकी श्रीमती क्याथीले भनेकी छिन् कि उनी अब घरबाट बाहिर निस्कन पनि चाहन्नन् । किनभने उनले बाटोमा वरिपरि सिटीका समर्थकहरूले खुसी मनाएको देख्नुपर्नेछ ।

म्यानचेस्टर दुई भागमा बाँडिएको छ । एउटा नीलो र एउटा रातो । यी दुई रंगका मानिस एकअर्कालाई मन पराउँदैनन् । कारण फुटबलको प्रतिद्वन्द्विता हो । देशबारे कुरा आउँदा यी सबै मिलेर रमाउँछन् र हातेमालो गर्छन् । तर जब यी दुई रंगको जर्सी लगाएका खेलाडीबीच फुटबल खेल हुन्छ, तब स्थिति मरामार हुन्छ ।

१९८६ मा युनाइटेड आएका फर्गुसनले सिटीमा १४ जना प्रशिक्षक आएको–गएको देखेका थिए । यसबीचमा २०१२ मा मात्र त्यो क्षण आयो जब उनको क्लबलाई पछाडि पार्दै छिमेकीले उनको हातमा आइसकेको ट्रफी खोसेर लग्यो ।

सर एलेक्स फर्गुसन एउटा स्कटिस नागरिक भएर इङ्ल्यान्डमा यत्तिको सम्मान पाउनु निकै गाह्रो र गौरवको विषय हो । किनभने बेलायतका यी दुई देशका मानिस एकअर्कालाई मन पराउँदैनन् । फर्गुसनले सुरुमा युनाइटेड आउँदा नै त्यस्तो व्यवहार भोगिसकेका थिए । तर युनाइटेडमा झन्डै तीन दशक बिताउँदासम्म उनी इङ्ल्यान्डमा एउटा सम्मानित व्यक्तित्व भइसकेका थिए ।

 अहिले पनि युनाइटेडको स्तर फर्गुसनसँगै जोडिन्छ । फर्गुसनले छाडेदेखि प्रत्येक लिगमा कमजोर प्रदर्शन गर्न थालेको युनाइटेड अहिले झन् खस्किँदै छ । 

युनाइटेडले त उनले क्लब नछोड्दै एउटा स्ट्यान्डलाई सर एलेक्स फर्गुसनको नाममा नामकरण गरिसकेको थियो । १९९९ मा रानी एलिजावेथको जन्मदिनमा फर्गुसनलाई फुटबल सेवाको लागि प्रतिष्ठित पदवी नाइटहुड प्रदान गरिएको थियो, त्यसै दिनदेखि उनको नाम अगाडि सर लागेको थियो ।

अहिलेसम्म पनि फर्गुसनलाई युनाइटेडका खेलहरूमा देख्न सकिन्छ । उनी अरू धेरै फुटबल प्रतियोगिताहरूमा पनि विशेष पाहुनाको रूपमा बोलाइएका हुन्छन् । उनले फुटबलमा प्रत्यक्ष संलग्नता छोडे । फुटबलले उनलाई छोड्न सकेको छैन, किनभने यस खेललाई यति माथिल्लो स्तरमा पुर्याउन उनको भूमिका उल्लेख्य छ ।

त्यसैले त अहिले पनि युनाइटेडको स्तर फर्गुसनसँगै जोडिन्छ । फर्गुसनले छाडेदेखि प्रत्येक लिगमा कमजोर प्रदर्शन गर्न थालेको युनाइटेड अहिले झन् खस्किँदै छ । प्रत्येक नयाँ प्रशिक्षकको आगमनसँगै ‘के नयाँ प्रशिक्षकले फर्गुसनकालको युनाइटेड फर्काउन सक्छन् ?’ भन्ने प्रश्न उठिरहन्छ ।

तर, त्यो स्तरमा युनाइटेडलाई पुर्याउन त्यति सजिलो छैन । किनभने फर्गुसनजस्तो दोस्रो व्यक्ति संसारले पाउने पनि छैन । फर्गुसनले युनाइटेडमै भएर मात्र त्यति ठूलो उपलब्धि हासिल गरेका होइनन् । उनी सायद अन्य क्लबमा गएका भए पनि त्यहाँ त्यत्तिकै सफलता हात पार्थे, किनभने उनमा त्यो क्षमता थियो ।

अहिले फर्गुसन ८३ वर्षका भइसके । उनी फुटबलबाहेक आफ्नै परिवार (जसलाई उनी जहिले सबैभन्दा माथि राख्थे) र साथीभाइसँग धेरैभन्दा धेरै समय बिताउँछन् । उनलाई मनपर्ने घोडा दौड हेर्न जान्छन् । किताबहरू पढ्छन् । उनलाई अधिनायकहरूको किताब निकै मनपर्छ ।

यिनै किताब, परिवार, साथीभाइ, घोडादौड र राम्रा राम्रा वाइनहरू उनको जीवनशैली हो, अचेल । तर उनले फुटबललाई दिएको समयको अनन्तकालसम्म उच्च मूल्यांकन हुनेछ र त्यो मूल्यांकन नेपालमै बसेको मैले पनि गर्नेछु ।

(खेलाडी डटकमका लागि अजय फुयालसँगको कुराकानीमा आधारित)