काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कप प्रतियोगिताको लगातार दोस्रो सिजन पनि च्याम्पियन भएको छ ।
पुलिसले बिहिबार सम्पन्न फाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गरेको हो । आर्मी भने लगातार दोस्रो पटक उपविजेता भएको हो । पहिलो संस्करणको फाइनलमा आर्मीलाई पुलिसले २८ रनले पराजित गरेको थियो ।
आर्मीले दिएको २२७ रनको मध्यम लक्ष्य पुलिसले ६ विकेट गुमाएर पूरा गर्यो । पुलिसको जितमा रशिद खानले १२८ बलमा ८ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ८१ रनको अर्धशतकीय इनिङ खेले ।
फाइनलमा बनेको यो नै सर्वाधिक व्यक्तिगत रन हो । यसै फाइनलको पहिलो इनिङमा पुलिसका नै करण केसीले बनाएको अविजित ७२ रन फाइनलमा बनेको व्यक्तिगत सर्वाधिक रन थियो । कुशल भुर्तेल ६४ बलमा ५१ तथा कप्तान आरिफ शेख १४ रनमा आउट हुँदा ।
ओपनर दिनेश खरेल २५ रनमा आउट हुँदा अमित श्रेष्ठ खाता नखोल्दै आउट भए । आर्मीका लागि पवन कार्की र शाहब आलमले समान २ तथा आकाश चन्द, शाहब आलम र भीम सार्कीले समान १ विकेट लिए ।
पहिलो इनिङ बराबरीमा सकिएपछि दोस्रो पारीमा आर्मी २२६ रन बनाएको थियो । आर्मीका लागि आकाश चन्द सर्वाधिक ३७, कुशल मल्ल ३६, शाहब आलम ३३ तथा भीम सार्की ३२ रनमा आउट भए ।
दोस्रो इनिङमा पुलिसका लागि सागर ढकालले ४ तथा करण केसी र ललित राजवंशीले समान ३ विकेट लिए । पहिलो इनिङमा दुवै टोलीले समान २२१ रन बनाएका कारण बराबरी भएको थियो ।
ट्रफीको लिग चरणको खेलहरु दुई दिवसिय स्वरुपमा भएकामा फाइनल भने तीन दिवसीय भएको हो । गत महिनाको १७ देखि १९ गतेसम्म तोकिएको फाइनल खेल प्रतिनिधी सभा निर्वाचनका कारण सारिएको थियो ।
गत संस्करणको प्रधानमन्त्री कपको शीर्ष ४ मा रहेका पुलिस, आर्मी, नेपाल एपिएफ क्लब र बागमती प्रदेश प्रतियोगितामा सहभागी रहेका थिए । आर्मी र पुलिस शीर्ष २ मा रहेर फाइनल खेलेका हुन् ।
