काठमाडौं । अभाव र संघर्षमा रुमल्लिरहेको नेपाली फुटबलले पछिल्ला केही वर्ष महिला फुटबलबाट निकै राम्रो सम्भावना देखेको थियो । तर, पछिल्लो एक महिनाको बीचमा नेपाली महिला फुटबल टोली दुई वटा महत्त्वपूर्ण प्रतियोगितामा निराशा भोगेर फर्किएको छ ।
उज्वेकिस्तानमा एएफसी एसियन कप क्वालिफायरमा नेपाली महिला राष्ट्रिय टोली फाइनल सरहको अन्तिम खेलमा उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा पराजित हुँदा पहिलो पटक छनोट भएरै एसियन कप खेल्ने सम्भावनाबाट विमुख भयो भने २० वर्षमुनिको महिला टोली बंगलादेशमा गत साता मात्र सम्पन्न साफ युथ च्याम्पियनसिपको निर्णायक खेलमा बंगलादेशसँग ४-० ले पराजित भएर फर्कियो ।
आखिर नेपाली महिला फुटबल जहिले पनि क्लाइमेक्समा पुगेपछि किन चुक्ने गरिरहेको छ ? यसै विषयमा खेलाडी डटकमले राष्ट्रिय महिला फुटबल टोलीकी रक्षक समीक्षा घिमिरेसँग गरेको कुराकानीको मुख्य अंशः

अहिले केमा व्यस्त हुनुहुन्छ ? गेम त छैन ।हामी ट्रेनिङमै छौं । नेपाल पुलिस क्लबबाटै नियमित ट्रेनिङ गरिरहेको छु ।
राष्ट्रिय टोलीका लागि हाललाई त कुनै इन्टरनेसनल क्यालेन्डर छैन, क्लब फुटबल पनि प्रतियोगिता छैन, ट्रेनिङ चाहिँ नियमित नै हुन्छ ?
हामी विभागीय खेलाडी भएकाले हाम्रो निरन्तर ट्रेनिङ हुन्छ । पछिल्लो समय महिलाको धेरै प्रतियोगिता भइरहेको छ । त्यही भएर सधैं तयार भएर बस्नुपर्छ भनेर हामीले दैनिक तयारी गरिहेका हुन्छौं ।
उज्वेकिस्तान यात्रालाई कसरी सम्झनुहुन्छ ?
हामी बढी इमोसनल भयौं । त्यतिखेर चाहिँ हामीले सोचेका थिएनौं, हामी हार्छौं भनेर । किनकि प्याट्रिक सरले पनि राम्रो गराइरहनुभएको थियो । राम्रो भइराखेको थियो । पेनाल्टीमा हार्छौं भनेर हामी कसैले पनि सोचेका थिएनौं । हामी जित्छौं भन्ने थियो । तर पेनाल्टी सुटआउट भन्ने त भाग्यकै कुरा पनि रहेछ । हामी गेम नराम्रो खेलेर हारेका होइनौं ।
अन्तिम खेलमा तीन गोल खाँदा खेरि तपाईंहरूलाई के लाग्या थियो ? सेन्टर ब्याकमा तपाईंको भूमिकालाई कसरी सम्झिनुहुन्छ ?
जसरी पनि गोल फर्काउँछौं भन्नेमा हामी थियौं । हामी कन्फिडेन्ट थियौं । सावित्रा भण्डारी (साम्बा), रेखा पौडेल, रश्मिकुमारी घिसिङ जस्ता अनुभवी खेलाडी रहेकाले हामी गोल फर्काउनेमा ढुक्क थियौं ।
पहिला हामी डिफेन्सिभ खेलिरहेका थियौं । तर, तीन डिफेन्डरले खेल्दा पनि अब सक्छौं भन्ने लाग्यो । तीन डिफेन्स नै भए पनि हामीले तीनै गोल फर्काउन सफल भयौं । सेन्टर डिफेन्समा पनि मैले न्यायपूर्ण भूमिका निभाएँ जस्तो लाग्छ ।
प्रशिक्षकले कहिल्यै नखेलाएको ३-२-३-२ को संरचनामा खेलाउँदा तपाईंहरूको प्रतिक्रिया कस्तो थियो ?

हाम्लाई त सक्दैनौं कि क्या हो जस्तो चाहिँ लागिरहेको थियो । तर, प्रशिक्षक प्याट्रिक सरले तिमीहरू सक्छौं, आँट गर भनेपछि हामीले प्रयास गर्यौं, सफल पनि भयौं ।
पहिलो पटक यो शैलीमा खेल्दा व्यक्तिगत तपाईंलाई चाहिँ कस्तो भयो ?
पहिलो खेलमा चाहिँ अलिकति गाह्रो भइराखेको थियो । किनकि फस्ट टाइम मैले लेफ्टबाट खेलेको हुँ । तर, म लेफ्ट राइट नै खेल्न सक्छु । तर, सजिलो भनेको चाहिँ चार डिफेन्स नै हो । मेरो दुवै खुट्टा राम्रो चल्ने भएर नै धेरै अवसर पाएँ ।
तपाईंको नजरमा उज्वेकिस्तानसँग अन्तिम खेलमा कहाँनिर समस्या भयो ?
डिफेन्समा हल्का मिलिराखेको थिएन । पहिलो हाफमा चाहिँ हामीहरूलाई गाह्रो भयो । गर्मीले १५ मिनेट खेल्न असहज भयो । त्यसैले पनि गोल खायौं । पछि प्रशिक्षकले भनेअनुसार खेल्दा कमब्याक गर्न सफल भयौं । तीन गोल खाएपछि कमब्याक गर्यौं । तीन गोल खाएको नसम्झी खेल्नु भनेपछि सहज भयो ।
पहिलो र दोस्रो हाफमा खेल्न केही गाह्रो भएको हो ?
पूजा दिदी (राना) लाई चाहिँ मिडफिल्डरमा राखेर गाह्रो भयो । दिदीले त्यो पोजिसनमा खेल्न सक्नुभएन जस्तो लाग्छ । किनकि डिफेन्स मान्छे विङ्गरमा खेल्नुभयो । राइटमै खेलाएको भए टिमलाई नै सहज हुन्थ्यो कि ।
टिममा पेनाल्टी हान्ने ५ जना खेलाडी पनि तयार भएनन् भन्ने छ, कसैले आँटै गरेनन् भन्ने छ त ?
त्यस्तो चाहिँ होइन जस्तो लाग्छ मलाई । सबैले पहिला पेनाल्टी हानिरा थियो नि । त्यही भएर पहिला सबै सेटपिसले नै हानेको हो । तिमीहरूको पेनाल्टी राम्रो छ तिमीहरूले नै हान्नू हामीले चाहिँ भनेका हौं । उनीहरूले हानेपछि हामी ६–७ नम्बरमा हान्न जाने थियौं । म आफैं सात नम्बरमा थिएँ ।
उज्वेकिस्तान भ्रमणले के के सिकायो त ?
नेपाली फुटबलका लागि राम्रा कुराहरू सिकेर आएका छौं । प्रशिक्षकले पनि नयाँ नयाँ कुरा सिकाएका छन् । त्यसलाई अरु खेलमा लागू गर्न सक्दा राम्रो हुन्छ ।
कोचले तपाईंहरूलाई अलि बढी नै विश्वास गरेको देखियो हैन त ?
अलिकति विश्वास गरेको थियो भनौं । मलाई चाहिँ अब चान्स पाएका बेला देखाउनुपर्छ भन्ने लाग्यो । मैले केही गर्नुपर्छ, मैले खेलेपछि मेरो स्थानमा कोही नआओस् भन्ने सोचेर खेलें । त्यसले गर्दा पहिलाभन्दा मेरो खेल राम्रो भयो भनौं । लेफ्ट साइड खेलेर चाहिँ मैले धेरै कुरा सिकें , ओभरल्याप जान पाएँ ।
महिला टिमले यसपालि युइएफए प्रो लाइसेन्सप्राप्त प्रशिक्षक पायो, खेलाडीको व्यक्तिगत प्रदर्शनमा कस्तो रह्यो ?

राम्रो भयो भनौं न । प्रो लाइसेन्स कोच हामीले पहिलो पटक पाएका हौं । पहिला जहिल्यै बलसँग मात्र खेल्यो, टच चाहिँ बलसँग मात्र हुन्थ्यो । अहिले केही फरक भयो । बलसँगै कुदाउनुभयो । हामीलाई कुदेको फिल नहुने । तर, लास्टै थाक्ने गथ्र्यों ।
प्याट्रिकले छाडेपछि टिमको मनोबल चाहिँ कस्तो छ ?
हामी त प्रोफेसनल प्लेयर हो । कोच त चेन्ज भइराख्छ नि । तर, उहाँसँग छोटो समय भए पनि सिकाइमा राम्रो सम्बन्ध बन्यो ।
व्यक्तिगत तपाईंको रौतहटदेखि नेपाल पुलिस क्लब हुँदै राष्ट्रिय टोलीसम्मको यात्रा कस्तो रह्यो ?
बाल्यकालदेखि साथीमार्फत मैले फुटबल खेल्न थालेको हो । म यत्तिकै रमाइलोका लागि खेलें । अहिले यस्तो हुन्छु भनेर मैले सपनामा पनि सोचे थिइनँ । साथीले भनेर खेल्न गएँ । खाली खुट्टै कति खेल खेल्या छु । ड्याडीलाई बुट किनिदिनु भन्दा मान्नु हुन्थेन । किन खेल्नुपर्याे, छोरी मान्छे भए खेल्नुपर्दैन भनेर गाली गर्नुहुन्थ्यो । पछि रोएपछि ड्याडीले एउटा बुट किन्दिनुभएको थियो ।
घरको काम पनि हुन्थ्यो । भैंसी बाख्राहरू थियो । घाँस काट्नुपथ्र्याे । बहिनीले चाहिँ यसलाई खेल्न दिनु म घरको काम गर्छु भनेर बाउआमालाई सम्झाउने गर्थी । ऊ दिदीलाई अगाडि बढाउनुपर्छ भन्ने सोच राख्थिन् ।
अहिले बाआमाले के भन्नुहुन्छ ?
अहिले त उहाँहरू खुसी हुनुहन्छ । हेटौंडामा मेरो खेल हेर्न पुग्नुभएको थियो । ममीहरु कति खुसी हुनुभयो । मान्छेहरू धेरै आएर फोटो खिच्दा ‘ए, मेरो छोरी पनि यस्ती चर्चित भइसकेकी रहेछ’ भनेर खुसी हुनुभयो ।
दिदीलाई हौसला दिने बहिनीसँग आजकाल कस्तो विषयमा कुरा हुन्छ ?
हाम्रो सधैं कुरा हुन्छ । यस्तो ठाउँमा पुगिछस नबिर्सिए, भन्नुहुन्छ । हौसला दिइरहन्छे । पे ब्याक गर्न सकेको छैन । विदेश गएर आउँदा दिदीबहिनी र ममीबाबालाई गिफ्ट बोकेर आउँछु । पहिलो पटक भुटानमा यु-१८ खेल्न जाँदा लुगाहरू ल्याइदिएको थिएँ ।
राष्ट्रियदेखि विभागीय टिमसँग सबै रौतहटका खेलाडीको वर्चस्व छ, रौतहटको माटोमा के छ त्यस्तो ?
त्यहाँ शेरबहादुर र नुरराज काफ्ले जस्ता मिहिनेती गुरुहरू छन् । उहाँहरूले मिहिनेत गरेर प्रशिक्षण गराउनुभयो । निकै खट्नुहुन्थ्यो । हरेक खेलाडीलाई माया गर्दै प्रशिक्षण गराउनुहुन्थ्यो । त्यसैले मिहिनेत गर्ने खेलाडी निस्किए ।
देशभर महिला टिमको चर्चा छ यसलाई कसरी लिनुभएको छ ?
पहिला महिला फुटबल हुँदैनथ्यो । क्लबमा बस्दा बस्दा पनि दिक्क लाग्थ्यो । अहिले चाहिँ गेमहरू हँुदाखेरि चाहिँ रमाइलो लाग्छ । अब विभागले पनि यतिकै राख्न सक्दैन नि । अब अहिले धेरै गेमहरू भइरहँदा खेरि रमाइलो लाग्छ । कहिले नेपालगन्ज, कहिले हेटौंडा त कहिले इलाम पुग्छौं । घुम्न र खेल्न दुबै पायौं । तर, दैनिकी खेल्दा पनि गाह्रो नै भयो । अब व्यवस्थित बनाउनुपर्छ ।
साफ यु-२० प्रतियोगिता हेर्नुभयो ? कस्तो लाग्यो ?
राम्रो भइराखेको थियो तर, फाइनलमा पराजित भयौं । तालमेल अभाव भयो । भाग्यले साथ दिएन । हिलोमा खेल्दा त मसल्सहरु टाइट हुन्छ, जाम हुन्छ , त्यो भएर चाहिँ राम्रो खेल्दा पनि फाइनलमा हार्न पुग्यो । पूर्णिमा राई, मीना देउवा जस्ता खेलाडी आएका छन् ।
अब, एन्फाको मिसनअनुसार अब चार वर्षपछि एसियन कप खेल्छौं । यो पुस्ता के होला, अबको सपना के हो ?
केही खेलाडी पुराना हुन्छन् । केही नयाँ हुन्छन् । लामो समय क्लोज क्याम्प भयो भने हामीले पनि राम्रो गर्न सक्छौं । अभ्यासदेखि सबै सुविधा रहे हामी अर्काे पटक एसियन कप खेल्छौं । गोल्ड मेडल जित्ने सपना छ । हामी १२-१३ पटक फाइनलमा पराजित भएका छौं । अब, यसलाई ब्रेक गर्न चाहन्छौं ।