काठमाडौं । राष्ट्रिय लिगको उद्घाटन खेलमा काँक्रे बिहान र फ्रेण्ड्स क्लब प्रतिस्पर्धा गर्ने भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार लिगको खेल तालिका सार्वजनिक गर्दै खेल पाँच दिन सारेको हो । सहभागी १७ टिमको मागपछि एन्फाले खेल पाँच दिन पर धकेलेको छ ।
यसअघि एन्फाले पुस २५ बाट लिग गर्ने घोषणा गरेको थियो । अब, पुस ३० बाट मात्रै लिग सुरु हुनेछ ।
उद्घाटन खेल बिहान ११ बजे सुरु हुनेछ । १ बजे हुने दिनको दोस्रो खेल श्रीभगवती क्लब र चर्च ब्वाइज युनाइटेड हुनेछ ।
एन्फाले राष्ट्रिय लिगका खेलहरु सातदोबाटोस्थित एन्फा मैदान, च्यासल मैदान र त्रिपुरेश्वरको दशरथ रंगशालामा गर्ने तालिका बनाएको छ । एन्फाले एकै दिन तीन वटासम्म खेल आयोजना गर्दैछ । नेपाली राष्ट्रिय टिमको खेलका दिन तथा विभिन्न समयमा लिगलाई विश्राम दिएको छ ।
यसपटक राष्ट्रिय लिगमा सहिद स्मारक ए डिभिजन लिगका १३ सहित राष्ट्रिय छनोटबाट आएका चार क्लब सहभागी छन् । यसअघि सहिद स्मारक ए डिभिजन लिग खेलेका ८ टिमलाई मात्रै राष्ट्रिय लिग खेल्ने दिने घोषणा भएपनि एन्फाले अन्तिममा सबै टिमलाई खुल्ला गरेको थियो । यद्यपि, हिमालयन शेर्पाले सहभागी जनाउने छैन ।
