दाङ । नेपाली फुटबल गम्भीर संकटमा छ । खेलाडीहरूको भविष्य अनिश्चित छ । क्लबहरूको अवस्था कमजोर छ । फुटबलमाथि खेलकुदप्रेमीको भरोसा हराउँदै गएको छ । एक हिसाबमा भन्दा नेपाली फुटबल धराशायी हुने अवस्थामा पुग्दै छ ।किन त ?कारण खोज्न धेरै भौंतारिनु आवश्यक छैन । फुटबल प्रत्येक दिन अधोगतितर्फ धकेलिनुको मुख्य कारण अखिल नेपाल फुटबल संघ (एन्फा)भित्रको असक्षम, विवादास्पद र स्वार्थी नेतृत्व नै हो । सत्य यही हो । त्यसकारण अब यो नेतृत्वप्रति नरम भइराख्नु पनि जरुरी छैन ।
केन्द्रीय नेतृत्वको नालायकीका कारण स्थानीय स्तरमा रहेर यो सुन्दर खेलको विकासमा लागिपरेका सरोकारवालाहरूले आफूलाई एन्फासँग जोडिएको व्यक्तिका रूपमा चिनाउन लाज मान्न थालेका छन् । लुम्बिनी फुटबल एकेडेमीको सञ्चालक र लुम्बिनी प्रदेश फुटबल संघको सह–महासचिवको नाताले ग्रासरुटबाट नेपाली फुटबल विकासका लागि क्षमताअनुसार लामो समयदेखि योगदान गर्दै आएको अनुभव मसँग पनि छ । एकेडेमी सञ्चालक र एन्फा पदाधिकारीभन्दा आम मानिसबाट आउने प्रतिक्रियाले भन्न थालिसकेको छ, ‘एन्फा पदाधिकारीको यो देशमा अब कुनै इज्जत बाँकी छैन । एन्फा पदाधिकारी भनेको आम समर्थकको नजरमा गठ, स्वार्थी समूह, भ्रष्ट, असक्षम । अनि यस्तै यस्तै हुन थालिसक्यो ।’
हुन पनि एकेडेमी सञ्चालकभन्दा समर्थकले ठूलो सम्मानका साथ व्यवहार गर्छन । अनि एन्फा पदाधिकारी भन्यो भने थाहा हुने गरी छि छि दुर दुर गर्छन । यही कारण पछिल्लो समय एन्फा नेतृत्वका गतिविधि र विवादहरू देख्दा अब एन्फासँग जोडिएको भन्नै लाज लाग्ने अवस्था आएको छ ।
फुटबल केवल खेल होइन, देशको गौरव हो । तर अहिले फुटबल संघभित्र भइरहेका कुरा गौरव होइनन् । ती सब त लाज हुन्, दुःख हुन्, तमासा हुन् ।
घरेलु फुटबलको मेरुदण्ड मानिने शीर्ष डिभिजनको लिग वर्षौं देखि अनिश्चित छ । इतिहासमै पहिलो पटक खेलाडीहरू सडक संघर्षमा उत्रिनुपरेको छ । खेलाडीले पूरा जीवन मिहिनेत गरेर देशका लागि आर्जेका अन्तर्राष्ट्रिय पदकहरू विरोधस्वरुप एन्फाको गेटमा झुण्ड्याउनुपरेको छ ।
खेलाडीहरू प्रतिस्पर्धाविना बस्न बाध्य छन् । क्लबहरूले खर्च धान्न सकिरहेका छैनन् । एन्फा नेतृत्व भने बारम्बार घोषणा गरेर पछि हट्ने प्रवृत्तिमा रमाउँदै ‘नेपाली फुटबल स्वर्णकालमा’ रहेको भ्रमको खेती गर्न व्यस्त छ । आफ्नो काम के हो, जिम्मेवारी के हो, गर्नैपर्ने र गर्नै नहुने कामहरू के के हुन् ? जस्ता विषयमा केही थाहै नभए जसरी निरो शैलीमा बाँसुरी बजाइरहेकाहरू खेलाडीलाई फेस गर्न सक्दैनन् । मिडियासँग साक्षात्कार गर्न सक्दैनन् ।
बरू हाकाहाकी लिग गर्न पैसा नभएको भनेर पन्छिन्छन् । सरकारले बजेट दिए मात्र लिग गर्ने भन्न हिच्किचाउँदैनन् । केही दिनअघि सिंहदरबारमा नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासँगको छलफलमा एन्फाका महासचिव किरण राईले खुलेआम यस्तै कुरा गरेका थिए ।
एन्फा जस्तो संस्था, जसको दायित्व फुटबल विकास हो । एन्फा आफैंले प्रायोजक, टिकट बिक्री, टेलिभिजन र डिजिटल अधिकार बिक्रीलगायतबाट रकम जोहो गरेर फुटबललाई चलायमान गराउनुपर्छ । विश्वभर हुने नै त्यही हो । सरकारले त भौतिक पूर्वाधारमा खर्च गर्ने हो । जुन सरकारले पर्याप्त मात्रामा गरिदिएकै छ । तर यहाँ महासचिव हाकाहाकी सरकारले पैसा दिए मात्रै चल्ने संस्थाको रूपमा प्रस्तुत हुनु भनेको आफ्नो अक्षमता र असफलताको प्रमाण दिनु हो ।
चाहना र दृष्टिकोण हुन्थ्यो भने एन्फाले स्वदेशी वा अन्तर्राष्ट्रिय प्रायोजक खोजेर आफैं लिग सञ्चालन गर्न सक्थ्यो । विभिन्न जिल्लामा हुने गोल्डकपहरूमा स्थानीय आयोजकले त प्रायोजक, सहयोगी र टिकट बिक्रीबाट उठेको पैसाले प्रतियोगिता नाफामा लगिरहेका छन् । जबकि उनीहरूसँग प्रतियोगिता गर्न ढंगको रंगशालासमेत हुँदैन । दर्शक राख्नका लागि प्रत्येक संस्करणमा लाखौं रुपैयाँ खर्च गरेर बाँसका अस्थायी प्यारापिट बनाउनुपर्छ । तर एन्फासँग त सरकारले बनाइदिएका पर्याप्त रंगशाला छन् ।

कतार एयरवेजले विगतमा ए डिभिजन लिगलाई प्रायोजन गरेको तथ्य अझै ताजा छ । त्यसअघि पनि रेडबुल, कोकाकोला, एनसेल, सानमिगेललगायतका ठूल्ठुला प्रायोजक नेपाली फुटबलसँग जोडिएकै थिए । त्यसबेला सम्भव भएको कुरा आज असम्भव हुनु भनेको नेतृत्वको कमजोरी नभए अरू के त ?
फुटबल संघको समस्या प्रयोजक ल्याउन नसक्नु, लिगलगायतका प्रतियोगिताहरू गर्न नसक्नु, राष्ट्रिय टिमका भ्रमणमा सही व्यवस्थापन नहुनु, सरकारले यति धेरै रंगशाला बनाइदिएको देशमा राष्ट्रिय टिमका लागि एउटा पनि होम ग्राउन्ड नहुनुमा मात्र सीमित छैन । हालसालै देखिएको विवादले त संस्थाको अस्तित्वकै खिल्ली उडाएको छ ।
एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ विदेश भ्रमणमा रहेका बेला वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले विधानअनुसार आफू कार्यबाहक अध्यक्ष भएको भन्दै महासचिव किरण राईलाई निलम्बन गरे ।
तर अध्यक्ष नेपाल फर्किएपछि उनले आकस्मिक भर्चुअल कार्यसमिति बैठक बोलाएर वरिष्ठ उपाध्यक्षलाई नै साधारणसभा नहुँदासम्मका लागि निलम्बन गरे । संस्थाभित्र आफ्ना विपक्षीलाई तह लगाउन एक घण्टाको सूचनाका भरमा भर्चुअल आकस्मिक बैठक बोलाउन सक्ने नेतृत्वले गत वर्ष आफ्नो लापरबाहीका कारण ६ जना कलिला किशोर फुटबलरले ज्यान गुमाउँदा आकस्मिक बैठक बोलाउनुपर्ने आवश्यकता ठानेन । अहिले खेलाडीले सडक संघर्ष नै गरिरहेका बेला पनि आकस्मिक बैठक आवश्यक ठानिरहेको छैन । फिफाबाट आएको केही हजार थान बल बाँडेर नेपाली फुटबलमा के नै गरिरहेको भ्रम छर्न जिल्ला दौडाहाबाटै नेतृत्वलाई फुर्सद छैन ।
यस्ता दृश्यले एन्फा कार्यालयलाई फुटबलको मन्दिर होइन, राजनीतिक नाटकको मञ्चको रूप दिएको छ । एक–अर्कालाई निलम्बन गर्ने प्रतिस्पर्धाले आज एन्फा नेतृत्वको वास्तविक चरित्र जनतामाझ खुला गरेको छ ।
देशको शीर्ष फुटबल निकायका शीर्ष पदाधिकारीहरू जब यसरी नैतिकता र जिम्मेवारी बिर्सेर व्यक्तिगत लडाईंमा उत्रन्छन् । त्यतिबेला फुटबलको भविष्यको चर्चासमेत व्यंग्य जस्तो बन्दोरहेछ । जुन अहिले नेपालमा भइरहेको छ ।
खेलाडीहरू अवसर पाउँदा मैदानमा पसिना बगाइरहेका छन् । अहिले त्यही पनि नपाएर सडकमा गएर ‘हामीलाई खेल्न दिनुस’ भन्दै बिन्ती गर्दैछन् । तर एन्फाका नेताहरूलाई यससँग कुनै चासो छैन । उनीहरू त कुर्सीका लागि एक–अर्कामाथि प्रहार गरिरहेका छन् ।
यो केवल नेतृत्वको संकट होइन । यो त उनीहरूमा भएको मुल्य मान्यताको अभावको संकट हो । फुटबलका नाममा स्वार्थ र अहंकारको प्रतिस्पर्धा हो ।
सुशासनको भाषण चर्किँदै गए पनि एन्फाभित्र भ्रष्टाचार र अनियमितताको छायाँ डरलाग्दो पारामा बाक्लिँदै गएको छ । महासचिवमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । बजेटको पारदर्शिता छैन, क्लबहरूले अनुदान नपाएको गुनासो गरिरहेका छन् ।
तर एन्फा नेतृत्वमा आत्मनिरीक्षणको साटो आत्मसन्तुष्टि छ । अझ आत्मगौरवको अनुभूति छ । यही कारण त यतिबिघ्न बेथिति र भद्रगोल हुँदा पनि उनीहरू ‘हामी राम्रो गर्दै छौं । पूरा देश इतिहासमै कहिल्यै नभएको फुटबलमय छ’ भन्न लजाउँदैनन् । मैदानभित्र आफूले गरेको क्षतिको उनीहरूसँग कुनै मूल्यांकन छैन । खेल्न नपाएर विदेसिएका खेलाडीको तथ्यांकसँग कुनै मतलब छैन ।

विगत केही वर्षदेखि लुम्बिनी फुटबल एकेडेमीमार्फत फुटबलमा रुचि राख्ने बालबालिकालाई आवासीय प्रशिक्षण, शिक्षा र छात्रवृत्तिका साथ अवसर प्रदान गर्ने क्रममा आफैले केही महत्त्वपूर्ण अनुभवहरू हासिल गरेको छु । विभिन्न जिल्लाबाट आएका कमजोर आर्थिक अवस्थाका प्रतिभावान बालकहरूलाई फुटबलमार्फत भविष्य निर्माण गर्ने बाटोमा अघि बढाउने प्रयास निरन्तर छ ।
यसक्रममा हामीले सरकारी सहयोग आशा गरेका छैनौं निजी लगानी, स्थानीय समुदायको साथ र अभिभावकहरूबाट प्राप्त उर्जाले हाम्रो प्रयासलाई प्रभावकारी रूपमा निरन्तरता दिइरहेको छ । तर, यस्तो अवस्थामा समग्र देशको फुटबल हाँक्ने निकाय नै असक्षम, विवादग्रस्त र अविश्वसनीय भएपछि स्थानीय स्तरमा भइरहेका सबै प्रयासले कसरी उर्जा प्राप्त गर्ने ?
अहिले फुटबल संघभित्र शासनको कुनै आधार छैन । मनलाग्दी पारामा नेपाली फुटबल प्रशासन चलिरहेको छ । संघ सञ्चालनको विधि विधानले होइन, शक्ति र पहुँचको खेलले निर्धारण गरिरहेको छ । नियमको व्याख्या आफूखुसी भइरहेको छ । जसले गर्दा समर्थकमात्र नभई फुटबलमै जीवन अर्पण गरेकाको मनमा समेत घाउ लाग्नु स्वाभाविक हो ।
फुटबललाई समृद्ध बनाउँदै लानुपर्ने संस्था नै यसको विनासको कारक बन्दा समेत सरोकारवालाहरू मौन बस्नु अपराधको भागीदार हुनु हो । जसरी ढिलै भए पनि खेलाडीहरू सडकमा उत्रिएका छन् । त्यसलाई सबै सरोकारवालाले साथ दिनुपर्छ । आफू पनि खेलाडीसँगै नेपाली फुटबल बचाउने अभियानमा लाग्नुपर्छ ।
एन्फा सुध्रन चाहने हो भने समय अझै बाँकी छ । त्यसको लागि सर्वप्रथम नेतृत्वले अहिलेसम्म भएका सबैखाले बेथिति र विसंगतिको नैतिक जिम्मेवारी लिनुपर्छ । त्यसपछि अबका दिनमा पारदर्शिता र जवाफदेहितामा शून्य सहनशीलताको नीति लिनुपर्छ । जसमा सबैभन्दा बढी इमान्दार चाहिँ आफैं हुनुपर्छ । किनकि अहिलेसम्म इमान्दारी र जवाफदेहिताको मामिलामा चुकेको नै नेतृत्व हो ।
फुटबल सञ्चालनका लागि सरकारी सहयोगमा निर्भर भए अन्तर्राष्ट्रिय स्तरमा ठूला सफलता सम्भव हुन्नन् । किनकि सरकारको मात्र सहयोग त्यसका लागि पर्याप्त हुँदैन । एन्फाले आफैं आत्मनिर्भर मोडेल तयार गर्नुपर्छ । त्यसका लागि प्रायोजक ल्याउने, मर्चेन्टाइजिङ र डिजिटल अधिकार प्रयोग गर्ने, क्लबहरूसँग साझेदारी गर्ने जस्ता काम तत्काल सुरु गर्नुपर्छ ।
यो सबका लागि चाहिँ फुटबललाई राजनीतिबाट मुक्त गरिनुपर्छ । नेतृत्वमा निष्ठा, योजना र दृष्टि भएको पुस्ता आउनुपर्छ ।
नेपालमा फुटबलको आत्मा अझै मरेको छैन । मैदानमा पसिना बगाउने खेलाडीहरू, एकेडेमीमा अभ्यास गर्ने बालकहरू र मैदान छेउमा जोसका साथ हौसला बढाउने समर्थकको अझैसम्म पनि कमी छैन । कमी छ त केवल खेल्ने, खेलाउने र हेर्ने वातावरणको । जुन एन्फाबाहेकले गर्न सम्भव हुन्न ।
तर एन्फा नेतृत्वको यही ‘भद्धा तमासा’ जारी रहे नेपाली फुटबल इतिहासको पानामा सीमित हुनेछ । यसकारण सबै मिलेर अब एन्फा सुधार्ने र फुटबल बचाउने अभियान चलाउन ढिलो भइसक्यो ।
(लेखक लुम्बिनी फुटबल एकेडेमीका सञ्चालक तथा लुम्बिनी प्रदेश फुटबल संघका सहमहासचिव हुन्)