दाङ । नेपाली समाज अचेल ठगी, भ्रष्टाचार, कुशासन र यस्तै समाचारका कारण निकै निराश छ । पूरा देश चरम निराशाका कारण एकखाले डिप्रेसनमा छ । यस्तो अवस्थामा आमनागरिकलाई सकारात्मक उर्जा भर्न सके सम्पूर्ण देश नै सही बाटोमा फर्किन सक्छ । र समाजमा सकारात्मक उर्जा भर्न खेलकुदको भूमिका महत्त्वपूर्ण हुने प्रमाणित तथ्य हो ।
खेलकुदकै कारण ठुल्ठूला गृहयुद्ध रोकिएका उदाहरण छन् । अमेरिका र चीन होस वा भारत र पाकिस्तानजस्ता कटु सम्बन्ध भएका देशबीच पनि खेलकुदले सम्बन्ध सौहार्द बनाएको सबैलाई थाहा छ । खेलकुदभित्र पनि विश्वव्यापी लोकप्रियताका आधारमा फुटबल समाजको अझ राम्रो र प्रभावकारी उत्प्रेरक बन्न सक्छ । नेपालकै हकमा पनि फुटबलसँग यो शक्ति छ ।
तर, देशभित्र फुटबलको अवस्था झनै दयनीय छ । फुटबल आफैं ठगी, भ्रष्टाचार र कुशासनमा चुर्लुम्म डुबेको छ । नेपाली फुटबलको कुरा गर्दा आजसम्मका सबैभन्दा ठूला ठगी, खेलवाड र उपेक्षाको सिकार यदि कोही छन् भने ती यही खेलमार्फत ठूलो सपना देखेका कलिला खेलाडीहरू हुन् । जसका अबोध सपना पूरा हुने बाटोमा सधैं तगारो हालिन्छ । कहिले एन्फा नेतृत्व ती कलिला खेलाडीको सपना पूरा गर्ने बाटोमा अवरोध खडा गर्छ त कहिले ती सपना अरू सरोकारवालाहरूले गर्ने बेवास्ताको सिकार बन्छन् ।

एन्फा कहिल्यै जिम्मेवार छैन । सुरुदेखि नै एन्फाले बनाएको परिचय हो, एउटा अत्यन्तै गैरजिम्मेवार संस्था । नेपाली फुटबलको सर्वोच्च निकाय एन्फा न समयमा लिग गर्छ न त खेलाडी विकास र व्यवस्थापनमा नै उसको ध्यान छ । आफ्नै कमजोरी र अनियमितता छोप्न एन्फा नेतृत्व आफू निकटका मान्छेलाई अघि सारेर ‘सबै ठिक छ’ भन्ने गोयबल्स शैलीको प्रचारमार्फत झुटो सन्देश दिन्छ ।
कामै नगरी नाम, दाम र मामको जोहो गरिरहेका पदाधिकारीलाई आफ्नै मनले धिक्कार्दो हो कि नाइँ !
एएफसी र फिफाबाट आउने बजेटलाई झुटा प्रचारबाजीका लागि दुरुपयोग गरेर वर्षौंदेखि काम नगरी कागजी प्रक्रिया मात्रै मिलाएर एन्फाले सबैलाई ढाँट्दै आएको कुनै नयाँ कुरा होइन । एन्फाभित्र केही व्यक्तिहरू असल सोच भएका छन् तर धेरैजसो लोभलालचमा फसेर सत्य बोल्न सक्दैनन् ।
एन्फा आफैंले हालै सार्वजनिक गरेको वार्षिक क्यालेन्डरअनुसार अहिले डिभिजन लिग लगायत थुप्रै प्रतियोगिता सुरु भइसकेको हुनुपर्थ्यो । तर त्यो अघिल्ला वर्षहरूमा जस्तै खेलाडी र खेलप्रेमीलाई झुक्याउने अर्को नाटक मात्रै थियो । साधारणसभामा सबैले ताली पिटेर पास गरेको क्यालेन्डर एन्फाको दराजमा कतै थन्किएर बसेको होला । त्यसभित्रका कार्यक्रमबारे एन्फाकै जिम्मेवार पदाधिकारी खरर भन्न सक्दैनन् । खासमा एन्फालाई ती साना खेलाडीहरूको भविष्यबारे कुनै चिन्ता छैन ।

कहिले कुनै गाउँघरमा साना बालबालिकालाई फुटबल खेल्दै गरेको देख्दा उनीहरूको मनमा के आउँछ होला? कामै नगरी नाम, दाम र मामको जोहो गरिरहेका पदाधिकारीलाई आफ्नै मनले धिक्कार्दो हो कि नाइँ !
धेरै वर्षदेखि नेपाली फुटबलको विकासका लागि रिसर्च र सुधारका प्रयास गर्दै आएको एउटा फुटबलकर्मीको नाताले मलाई भने यस्ता प्रश्नले घोचिरहन्छ । फुटबलसँगको यो अटुट माया र समर्पणकै कारण कहिल्यै फुटबलबाट टाढा हुन नसकेको मलाई सुरुमा लाग्थ्यो, ‘नेपाली फुटबलमा सुधार गाह्रो छैन, सही मानिसहरू नेतृत्वमा पुगेपछि सबै ठिक हुन्छ ।’ तर अब बुझें, ‘नेपाली फुटबलमा धेरैको नियत नै गलत रहेछ ।’
व्यक्तिगत रूपमा मेरो बाल्यकाल फुटबलसँग लुटपुटियो, जवानी पनि यसमै समर्पित हुँदै सकिन लागिसक्यो । तर अझै पनि फुटबलबाट अलग हुन सक्दिनँ ।
एउटा भुक्तभोगीको नाताले फुटबल र कलिला खेलाडीको विषयमा चासो राखिरहँदा धेरैले आलोचना गर्नेछन् । कत्तिले धारेहात लगाएर तथानाम गर्न पनि सक्छन् । तर यसमै अल्झिने र सत्य बोल्न डराउने छुट कम्तीमा हामीजस्ता अभियन्तालाई छैन । सबै डराएर पछि हट्ने हो भने नेपाली फुटबललाई सही ट्रयाकमा फर्काउने प्रयास अलपत्र पर्नेछ । फेरि यतिन्जेल फुटबलका लागि गरेको दुःख, संघर्ष र बलिदानका अगाडि फुटबलका जुकाहरूले जनाउने प्रतिक्रियाको के महत्व ? एउटा फुटबल सिपाहीको नाताले म ती गालीहरू सबै सजिलै सुन्न र पचाउन सक्छु ।

व्यक्तिगत रूपमा मेरो बाल्यकाल फुटबलसँग लुटपुटियो, जवानी पनि यसमै समर्पित हुँदै सकिन लागिसक्यो । तर अझै पनि फुटबलबाट अलग हुन सक्दिनँ । मैले फुटबलकै लागि कयौं अवसर गुमाएँ, कयौं सम्बन्धहरू तोडें । यो कुराले अरूलाई सायद फरक नपर्ला, तर कहिलेकाहीं आफैंले रोजेको बाटो सम्झेर झस्किने गर्छु ।
नेपालमा पहिलो पटक आवासीय व्यवस्थासहितको व्यावसायिक फुटबल एकेडेमी खोल्ने आँट गर्नु आफैंमा सहज कुरा थिएन । अहिले लुम्बिनी फुटबल एकेडेमी स्थापना भएको तेस्रो वर्षमा प्रवेश गर्दै छ । सुरुमा ७ खेलाडीबाट सुरु भएको यो यात्रा अहिले देशभरका ३१ खेलाडीसम्म आइपुगेको छ ।
अहिले यी खेलाडीहरू एकेडेमीको आफ्नै होस्टेलमा बसेर आफ्नै खेलमैदानमा अभ्यास गरेर घोराहीस्थित नेपाल पुलिस स्कुलमा अध्ययन गरिरहेका छन् । आर्थिक अवस्था कमजोर भएका केही खेलाडीलाई निःशुल्क राखिएको छ । एक जना व्यक्तिले करिब करोड बराबरको लगानीमा निजी खेलमैदान, होस्टेल र स्कुलसँग सहकार्य गर्नु सामान्य कुरा थिएन, होइन । तर यसमा अहिलेसम्म कुनै खेल निकायले चासो देखाएको छैन । न त सरकारले नै कुनै सहयोग गरेको छ ।
नवलपुर फुटबल क्लबको आयोजनामा विभिन्न जिल्लाका प्रतिष्ठित प्रशिक्षकहरूलाई निम्त्याएर ७ दिने फुटबल प्रशिक्षण सम्पन्न भयो ।

केही सञ्चारमाध्यमले एकेडेमीको कामबारे समाचार तथा लेख प्रकासन तथा प्रशारण गरेपछि औपचारिकताका लागि सम्बन्धित निकायबाट फोन आउन थालेका छन् । तर साँच्चै सहयोग हुने आशा भने छुटिसकेको छ ।
अहिले पूर्वी नवलपरासीको कावासोतीमा नवलपुर फुटबल क्लबको आयोजनामा विभिन्न जिल्लाका प्रतिष्ठित प्रशिक्षकहरूलाई निम्त्याएर ७ दिने फुटबल प्रशिक्षण सम्पन्न भयो । लुम्बिनी फुटबल एकेडेमीका प्रशिक्षकहरूलाई पनि निमन्त्रणा थियो र केही उत्कृष्ट खेलाडीलाई एकेडेमीमा लैजान आग्रह गरिएको थियो । हाम्रो एकेडेमीको टिमले यही कार्यक्रममा एक हप्ता सहभागिता जनायो । जहाँ २०० भन्दा बढी बालबालिका प्रशिक्षणमा थिए ।
त्यहीँको एउटा अनुभव एकदमै भावनात्मक रह्यो । एक दिन एउटा ११ वर्षे बालक झन्डै ७० वर्षका हजुरबुवालाई लिएर मलाई भेट्न आइपुगे । ती बालकले आउनेबित्तिकै एकैसासमा मसँग ‘सर, सर, मलाई पनि तपाईंको एकेडेमीमा लैजानुस् न, म मेरो हजुरबुवा लिएर आएको छु’ भनेर अनुनय विनय गर्न थाले । उनले हाम्रो एकेडेमीको फेसबुक पेजमा सबै कुरा हेरेका रहेछन् । हामीले नवलपरासीबाट केही बच्चा मात्रै लैजाने थाहा पाएपछि उनले हजुरबुवालाई लिएर कुरा गर्न आएका रहेछन् ।

उनका हजुरबुवाले भावुक हुँदै भन्नुभयो, ‘सर, यसलाई जसरी पनि लैजानुपर्यो । सानैदेखि फुटबल खेलिरहेको हो । राष्ट्रिय खेलाडी बन्छु भन्छ । फुटबल खेल्न नदिए स्कुल जान्न भन्छ ।’
आज मेरो सपना लुम्बिनी फुटबल एकेडेमी मात्रै होइन, संसारभरि नेपाली फुटबललाई चिनाउने हो ।
एउटा सानो बालकको अनुनय विनय अनि एकजना वृद्ध बाजेको त्यो अनुरोधको दृश्यले मेरो मन थामिएन । मैले तत्कालै उनलाई आफूसँगै लैजाने निर्णय लिएँ । तर मैले एकजनालाई एकेडेमीमा राख्नुले समस्या समग्रमा समाधान हुँदैन । खासमा प्रश्न यो हो कि ‘यस्ता बालबालिका नेपालभर कति छन् ? कति सपना पलाउँदा पलाउँदै मरिरहेका छन् ? अनि एन्फा र सरकार किन मौन छ ?’
यो खासमा कोही एकजनाको व्यक्तिगत भोगाइ मात्र नभई सिङ्गो नेपाली फुटबलको पीडादायक यथार्थ हो । यो लेख कुनै नकारात्मक सन्देश दिन वा निराशा फैलाउन लेखिएको होइन । बरु यो लेख जिम्मेवार निकायहरूलाई सच्याउँदै यी हजारौं-लाखौं अबोध खेलाडीका सपना साकार पार्न गरिएको अपिल हो ।

आज मेरो सपना लुम्बिनी फुटबल एकेडेमी मात्रै होइन, संसारभरि नेपाली फुटबललाई चिनाउने हो । तर त्यो म वा अरू कसैको एक्लो सामथ्र्यले मात्र सम्भव छैन । यसमा सबैको साथ र सरोकारवाला निकायको जिम्मेवारी आवश्यक छ ।
फुटबल मेरो नसा हो, सपना हो, जीवन हो । म यो सपना पूरा गर्ने संकल्पसँगै लागिरहनेछु । यसमा सरोकारवाला सबैको साथ र सद्भाव चाहिएको छ ।
जय फुटबल ! जय नेपाल !
(लेखक हाल एन्फाअन्तर्गत लुम्बिनी प्रदेश फुटबल संघका सह-महासचिव तथा लुम्बिनी फुटबल एकेडेमीका सञ्चालक हुन्)