काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले काठमाडौंमा जारी राष्ट्रिय लिग फुटबल प्रतियोगिता अनिश्चित कालका लागि स्थगित गरेको छ ।
राष्ट्रिय लिगका सहभागी विभिन्न क्लबहरुले विना श्रम स्वीकृति विदेशी खेलाडीलाई अवैधानिक तवरले खेलाएको विषयमा परेको उजुरीका आधारमा अध्यागमन विभागले बिहीबार एन्फा राष्ट्रिय खेलकुद परिषद (राखेप) र युवा तथा खेलकुद मन्त्रालयलाई पत्राचार गर्दै पर्यटक भिसाको आधारमा विदेशी खेलाडी मैदान नउतार्न अनुरोध गरेको थियो ।
नियमविपरित पर्यटन भिसामा रहेका विदेशीलाई खेलाए आजैबाट अनुगमन गरि कार्वाही गर्ने चेतावनी पनि अध्यागमन विभागले दिएको थियो । त्यसका बावजुद बिहीबारका खेलमा एन्फाले विदेशी खेलाडीलाई खेलाउने अनुमति दिएको थियो ।

पूर्वनिर्धारित तालिकाअनुसार बिहीबार दुई खेल सम्पन्न भइसकेपछि एन्फाले बाँकी खेल स्थगित गरेको हो । अध्यागमनको पत्र आउनुअगावै म्याच नम्बर ९८ (चित्लाङ एफसी र लालीगुरास एफसी) सम्पन्न भइसकेको थियो भने म्याच नम्बर ९९ (त्रिभुवन आर्मी र सातदोबाटो) सुरु भइसकेको थियो । दुवै खेलमा विदेशी खेलाडी मैदान उत्रिएका थिए ।
आजको तालिकाअनुसार तेस्रो खेल म्याच नम्बर ९७ (मछिन्द्र र एपिएफ) साँझ दशरथ रंगशालामा हुने तयारी थियो । तर अध्यागमनको कार्वाहीको डरले एन्फाले बाँकी सबै खेल स्थगित गरेको हो ।
‘लिग अन्तर्गतका म्याच नं ९७ र १०० देखि १३६ का खेलहरु प्राविधिक कारणवश अर्को सुचना प्रकाशन नभएसम्मको लागि स्थगित गरिएको छ,’ एन्फाको विज्ञप्तिमा उल्लेख छ ।
पुरुष राष्ट्रिय लिगसँगै बुधबारबाट सुरु भएको महिला राष्ट्रिय लिगमा पनि विभिन्न क्लबले विना श्रम स्वीकृति विदेशी खेलाडी खेलाइरहेको बताइएको छ ।
महिला लिगको हकमा भने एन्फाले कुनै निर्णय गरिसकेको छैन । तर अध्यागमनको नियम र पत्र दुवैले महिला लिगलाई पनि सम्बोधन गरेकाले भोलीसम्ममा महिला लिगको विषयमा पनि निर्णय हुन सक्ने एन्फाका एक पदाधिकारीले खेलाडीलाई बताए ।
