काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अखिल नेपाल फुटबल संघको विवादास्पद अर्ली इलेक्सन स्थगित गरि जानकारी गराउन संघलाई निर्देशन दिएको छ ।
आगामी असार ४ गतेसम्मलाई कार्यकाल रहेको एन्फाले त्यसअघि नै जिल्ला फुटबल संघको चुनाव नगरि चार वर्षअघिकै प्रतिनिधिलाई मताधिकार दिएर केन्द्रिय निर्वाचन गर्ने तयारी गरेको थियो । एन्फाले माघ २८ मै गर्न खोजेको चुनाव तेस्रो पटक सारेर यही चैत १३ गतेका लागि तय गरेको छ । चैत १३ गते अध्यक्ष पंकजविक्रम नेम्वाङको जिल्ला झापामा निर्वाचन गर्न एन्फाले सबैखाले तयारी गरिसकेको छ ।
एन्फाको अर्ली इलेक्सनको निर्णयमा विरोध जनाउँदै सरोकारवाला पदाधिकारी, क्लब तथा जिल्लाहरुले राखेप, युवा तथा खेलकुद मन्त्रालय, फिफा र एएफसीका साथै अदालतमा पनि मुद्धा दायर गरेका थिए । राखेपको निर्देशन नटेरे पनि अदालतले स्टे अर्डर जारी गरेपछि माघ २८ को निर्वाचन सारेर फागुन २८ मा पुर्याइएको थियो । त्यसलाई देश आम निर्वाचनको संघारमा रहँदा निर्वाचन आयोगले स्थगित गरिदिएको थियो ।

एन्फाले पछिल्लो पटक राखेपको निर्देशनविपरित गर्न खोजेको चैत १३ को निर्वाचन तथा साधारणसभा स्थगित गरि तीन दिनभित्र जानकारी गराउन कडा निर्देशनात्मक पत्र लेखेको छ । राखेपले पत्रमा विगतका निर्देशनहरुलाई लगातार अटेर गरेको विषयमा पनि ध्यानाकर्णण भएको जनाएको छ । साधारणसभाका लागि राखेपको स्वीकृति नभएको कारण जबरजस्ती चुनाव गरे त्यसले मान्यता नपाउने पनि राखेपले प्रष्ट पारेको छ । विगतमा जस्तै यो निर्देशनको पनि पालना नगरि निर्वाचन प्रक्रिया अगाडि बढाए कानूनी कारवाही हुने पनि राखेपले एन्फालाई चेतावनी दिएको छ ।
राखेपका संघ संस्था समन्वय शाखाका प्रमूख चन्द्रकुमार राईद्धारा हस्ताक्षरित पत्रको बोधार्थ युवा तथा खेलकुद मन्त्रालय, सबै प्रादेशिक मन्त्रालय र सातवाटै प्रदेश खेलकुद विकास परिषदलगायतलाई दिइएको छ ।
