काठमाडौं । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका जेनिस प्रजापतिको दर्शनीय गोलमा फ्रेन्ड्सले एन्फा राष्ट्रिय लिगमा लालिगुराँस एसोसिएसनसँग अंक खोसेको छ ।
शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा लालिगुराँस जितका साथ शीर्ष स्थानमा उक्लिने दाउमा थियो । त्यहीअनुरुप लालिगुराँसले सुरुआती अग्रता लिएको थियो ।
खेलको २६औं मिनेटमा सुरज गुरुङले लालिगुराँसलाई अग्रतामा ल्याएका थिए । दोस्रो हाफको मध्यावधिसम्म पनि फ्रेन्ड्सविरुद्ध हाबी देखिएको लालिगुराँसले गोल भने गर्न सकेन । बरु ७६औं मिनेटमा जेनिसले दोस्रो बारमा सुन्दर गोल गर्दै टोलीलाई हारबाट जोगाए । उनी ६१औं मिनेटमा प्रवेश बस्नेतको ठाउँमा आएका थिए ।
यो नतिजासँगै लालिगुराँसले ८ खेलमा १८ अंक जोडेको छ । समान खेलमा फ्रेन्ड्सको यो तेस्रो बराबरी हो । फ्रेन्ड्स ६ अंक बटुल्दै १३औं स्थानमा उक्लियो । यसअघि फ्रेन्ड्स एक स्थान तल थियो । शीर्ष स्थानको एपिएफले ७ खेलमा १९ अंक जोडेको छ ।
दिनको पहिलो खेलमा संकटा एफसीले चित्लाङ एफसीमाथि ४–० को सानदार जित हासिल गर्यो ।
संकटालाई जित दिलाउन रिचर्ड ओन्यमाले ह्याट्रिक गरे । त्यस्तै एक गोल टाय ड्यानियलको नाममा रह्यो । तीन गोल पहिलो हाफमा सम्भव भएका थिए ।
जितसँगै संकटाले तीन स्थान सुधार गर्यो । नवौं स्थानमा उक्लिएको संकटाको ८ खेलबाट ९ अंक छ । चित्लाङको यो तेस्रो हार हो । समान खेलबाट चित्लाङ ७ अंक जोड्दै १२औं स्थानमा झरेको छ ।
शनिबार तीनवटा खेल हुनेछन् । बिहान १० बजे हुने पहिलो खेलमा श्री भगवती क्लबले काँक्रे बिहार क्लबसँग खेल्नेछ । त्यसपछि दिउँसो २ बजे एपिएफ एफसीले विभागीय प्रतिद्धन्द्धी नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
साँझ ६ बजे मछिन्द्र एफसीले चर्च ब्वाइज युनाइटेडको चुनौती सामना गर्नेछ । सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् ।
