सुदर्शन रञ्जित

स्पेसलको हक तिनै तस्बिरसँग छ, जसले मेरो परिचय बनायो

काठमाडौं । भतिजीको विवाहको ढोगभेटका लागि काठमाडौं आएको थिएँ । दाइ बितिसक्नुभएको थियो । अरू दाइहरू पनि अहिले नेपाल हुनुहुन्न । म आफैं सबैभन्दा ठूलो भएकाले सबै संस्कार पिताको हैसियतमा आफैंले गर्नुपर्ने थियो । यसकारण श्रीमती सन्ध्या पनि सँगै काठमाडौं आएकी थिइन् । काका-काकी भए पनि हामीले नै भतिजीका लागि आमा–बाबुको भूमिका निर्वाह गर्नुपर्ने थियो ।

एक्लै त म प्रत्येक वर्ष एनएसजेएफ स्पोटर्स अवार्ड हेर्न आउने गर्थे । अवार्डको २०औं संस्करण सम्पन्न भइसक्दा म पोखराबाट आउन नसकेको भनेको दुई पटक मात्र हो । 
एक पटक आमा स्वर्गीय भएको वर्ष आउन सकिनँ । काठमाडौंमा अवार्ड हुने दिन नै आमाको ४५ दिनको काम पर्यो । तर त्यो संस्करण पनि मैले घरमै टेलिभिजनमा हेरेको थिएँ 

अर्को पटक भनेको कोभिड-१९ को महामारीका कारण आउन सकिनँ । अवार्ड पनि त्यो बेला सातदोबाटोस्थित कराते हलमा सीमित दर्शक राखेर गरिएको थियो । हरियो पर्दामा पूरा कार्यक्रम सुटिङ गरेर क्रोमा गरिएको थियो । घरमै बसेर टेलिभिजनमा हेर्दा झनै रमाइलो भयो ।

छोरीको विवाहको भेटघाटका कारण यसपालि सन्ध्यासहित आउने विशेष अवसर जुरेको थियो । प्रत्येक वर्ष सबथोक छाडेर अवार्ड हेर्न काठमाडौं म किन आउँछु भन्ने कुरा उनलाई पनि सँगै लगेर देखाउने इच्छा थियो । अवार्ड आइतबार थियो । छोरीको विवाहको भेटघाट शनिबार नै सकिइसकेको थियो । यसकारण उनी पनि फुर्सदमा थिइन् ।

तर, अचानक उनी आइतबार बिहानै पोखरा फर्किने कार्यक्रम बन्यो । सन्ध्यालाई देखाउन नपाइने जस्तो भयो । मैले पनि कर गरिनँ । तर, अजय भाइ (नेपाल खेलकुद पत्रकार मञ्चका पूर्वअध्यक्ष अजय फुयाल)ले ‘भाउजू आउनुभएका बेला जसरी पनि कार्यक्रममा ल्याउनुपर्छ’ भनेर कर गरेपछि उनको पोखरा फर्किने टिकट सारियो ।

केही दिनअघि निरञ्जन भाइ (मञ्चका अर्का पूर्वअध्यक्ष निरञ्जन राजवंशी)ले आइसिसीबाट पुरस्कार पाएको एउटा मेरो फोटो) जसलाई मैले घरमा फ्रेम गरेर झुण्ड्याएको थिएँ) माग्नुभएको थियो । उहाँले अवार्डमा फोटो प्रदर्शनी गर्ने भन्नुभएको थियो । तर, यहाँ फोटो प्रदर्शनीको कुनै माहोल मैले थाहा पाएको थिइनँ ।

उसै पनि उहाँको ठट्टा गरिरहने बानी । मलाई जिस्काइरहन उहाँ साह्रै रमाइलो मान्नुहुन्छ । अनि म पनि उहाँलाई ‘तपाईंको कुरा नेपाल समाचारपत्र (उहाँले पहिला काम गर्ने अखबार)मा लेखेको र बिबिसी (उहाँ अहिले काम गर्ने अफिस) रेडियोमा बोलेका बाहेक अरू पत्याउँदिन भनेर जिस्काइरहन्थें । यसपालि उहाँले मलाई यसैगरी जिस्क्याउनुभयो । मीठो सरप्राइज दिनुभयो ।

उसो त निरञ्जन भाइले फोटो माग्दा मलाई केही शंका लागेको थियो । त्यसपछि कहिल्यै आफैं फोन नगर्ने अजय भाइ आफैंले ‘भाउजूलाई जसरी पनि कार्यक्रममा ल्याउनुपर्छ’ भनेपछि ‘होइन यिनीहरूले के गर्दै छन्’ भन्ने शंका झनै बढ्यो । तैपनि मलाई केही थाहा थिएन ।

अवार्डका बेला काठमाडौं आएपछि नफर्केसम्मको पूरा समय बिताउने मेरा साथी हुन्, अजय भाइ । यसपालि पनि अवार्डको दिन बिहानै हामी कार्यक्रमस्थल होटल याक एन्ड यतीमा भेट्यौं । त्यसपछि सँगै थियौं । अजय भाइ यसपालि मलाई छल्न खोजिरहनुभएको थियो । म चाहिँ उहाँलाई एक्लै पारेर ‘होइन केही गर्न लागेको हो र ?’ भनेर सोध्न चाहिरहेको थिएँ । तर, उहाँले त्यस्तो माहोल बन्नै दिनुभएन । मसँग एक्लै भेट्नुपर्ला भनेर निर्मल भाइ (गायक निर्मल दाहाल)लाई सँगै लिएर हिँड्नुभयो ।

हाम्रो बसोबास रोयल सिंगी होटलमा थियो । एसियन स्पोटर््स जर्नालिस्ट अवार्ड थाप्न हङकङबाट आएका रेमन्ड ची पनि रोयल सिंगीमै थिए । उनलाई लञ्चका लागि बाहिर लाने जिम्मा अजय भाइको थियो । हामी कार्यक्रमस्थलबाट रोयल सिंगीतिर लाग्यौं ।

रेमन्डलाई खाना खुलाएर फर्किंदा मञ्चका अध्यक्ष देवेन्द्र भाइ (दुर्गानाथ सुवेदी) र महासचिव प्रज्वल भाइ (प्रज्वल ओली) हाम्रो कोठामा केही काम गर्दै हुनुहुन्थ्यो । मैले ज्याकेट लगाएको थिएँ । देवेन्द्र र प्रज्वल भाइले कोट लगाउन निकै कर गर्नुभयो । अनि ‘दाइ आज तपाईंले फोटो खिच्ने होइन है । तपाईं त हाम्रो पाहुना हो’ भन्नुभयो । प्रत्येक वर्ष म ज्याकेटमै हुन्थें । फोटो खिचिरहेको हुन्थें । तर यसपालि किन कोट चाहियो र, किन फोटो नखिच्ने ? भन्ने कुराले मलाई थप आशंका भयो । त्यसपछि मलाई ‘होइन केही त पक्कै हुँदै छ’ भन्ने पक्का भयो ।

अब कार्यक्रम सुरु हुन दुई घण्टा पनि बाँकी थिएन । तुरुन्तै हामी याक एन्ड यती होटलतिर लाग्यौं । म सधैंझैं मञ्चका साथीहरूको बीचमा पछाडि बसिरहेको थिएँ । कार्यक्रम सुरु भएपछि फोटो पत्रकारसँगै लाम लागेर फोटो खिच्ने योजनामा थिएँ । तर, एकजना भाइले दाइ तपाईंको ठाउँ यता होइन । तपाईं त मनोनीत बस्ने ठाउँमा बस्नुपर्छ, भनेर अगाडि लैजानुभयो ।

मञ्चको व्यवस्थापन मलाई निकै उदाहरणीय लाग्छ । जहाँ गए नि, जुन कार्यक्रममा पुगे पनि म मञ्चकै उदाहरण दिन्छु । कसलाई कहाँ राख्ने, कार्यक्रम कसरी सुरु गर्ने, कसरी अन्त्य गर्ने, आएका सबैलाई कसरी बोर हुन नदिने, सबैको सम्मानमा पूरापूर ध्यान दिनेजस्ता मञ्चका कामहरू मलाई निकै मनपर्छ ।

तर, यसपालि त्यही कुराले गर्दा मञ्चले मसँग लुकाउन खोजेको कुरा थाहा पाएँ । मैले पनि केही पाउँदै छु भन्ने पक्का भयो । त्यति बेलासम्म स्पेसल अवार्ड नै भन्ने चाहिँ थिएन ।

सन्ध्या पनि बहिनीलाई लिएर आइसकेकी थिइन् । सहारा क्लबका अध्यक्ष केशवराज बराल र सहारा हङकङका अध्यक्ष दीपक गुरुङ पनि पोखराबाट आउनुभएको थियो । हामी सँगै एउटै टेबलमा थियौं । स्पेसल अवार्डको पालो आयो ।

मधुर स्वर र आकर्षक व्यक्तित्वकी धनी बहिनी सोनिता अर्यालले निकै भूमिका बाँधेर स्पेसल अवार्डको अडियोभिडियो प्रस्तुत गर्नुभयो । निरञ्जन (राजवंशी) भाइको स्वरमा रहेको त्यो भिडियोमा मलाई नै चित्रण गरिएको रहेछ । मलाई सधैं जिस्क्याइरहने निरञ्जन भाइलाई मनमनै भनें, ‘तपाईंले अब पल्सर अवार्डमा बोलेको कुरा पनि पत्याउँछु ।’

मसँग मञ्चका भाइहरूले लुकाउन खोजेको कुरा उहाँहरूले चाहेकै बेला मात्र म स्वयंले थाहा पाएँ । नेपाली खेलकुदको श्रीवृद्धिमा विशेष योगदान गर्ने व्यक्ति वा संस्थालाई दिइने यो निकै विशेष र सम्मानित अवार्डका लागि उहाँहरूले मलाई चयन गर्नुभएको रहेछ ।

म आफैं आबद्ध रहेको सहारा क्लबले विगतमा यो अवार्ड पाइसकेको थियो । कीर्तिमानी धावक हरिबहादुर रोकायबाट सुरु भएको स्पेसल अवार्डमा यसपालि मेरो पालो आउँदासम्मका सबै विजेताबारे मलाई राम्रो जानकारी छ । त्यसैले यसको गरिमा म राम्ररी बुझ्छु । अचानक भावुक भएँ । बोल्न सकिनँ । हाउभाउ शून्य भयो । अडियोभिडियो सकिनेबित्तिकै स्टेजमा जानु थियो । केही बोल्न सकिनँ ।

पहिल्यै थाहा भएको भए केही तयारी गर्थें होला ! अरू केही आफन्त, साथीभाइ र शुभचिन्तकलाई बोलाउँथे होला ! तर मञ्चले त्यसो केही गर्न नदिने योजना बनाएको रहेछ । विजेतालाई एकै पटक अन्तिममा मात्र सरप्राइज दिने उहाँहरूको योजना सफल भयो । मञ्चको मलाई अत्यन्तै मनपर्ने अर्को पक्ष यो पनि हो । अवार्डका सबै कुरा निकै गोप्य राखिन्छ ।

मञ्चको अवार्डमा निष्पक्षता अर्को विशेषता हो । मैले अवार्ड पाएँ । यो स्वयं मेरा लागि पनि अचम्मको कुरा हो । उहाँहरूले किन दिनुभयो ? उहाँहरूले नै जान्नुहोला । तर, मैले कहिल्यै पनि यस्तो अवार्ड जित्ने आशा राखेको थिइनँ । वश काममा रमाउँदै गएको मात्र हो ।

चार दशकभन्दा लामो समय भयो खेलकुदमा काम गर्न थालेको । यसक्रममा थुप्रै सम्मान थाप्ने मौका पाएँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) देखि एनएफपिजेसम्मका सम्मानहरू थापें । तर यो स्पेसल अवार्ड सबैभन्दा विशेष थियो । अवार्ड थाप्नेबित्तिकै दर्जनौं सञ्चारमाध्यमले ममाथिको स्वामित्व लिँदै समाचार सम्प्रेषण गरे । वास्तवमा त्यो पनि मेरा लागि अर्को अवार्ड नै थियो । परस्पर प्रतिद्वन्द्वी सञ्चारमाध्यमका लागि म साझा बनेको थिएँ ।

अवार्ड सकिएपछि राति फेरि प्रत्येक वर्षझै अजय भाइसँगै रोयल सिंगी होटलको बास थियो । साथमा दीपेन्द्र भट्ट भाइ र निर्मल दाहाल भाइ पनि हुनुहुन्थ्यो । धेरै कुरा म र मैले पाएको अवार्डमा केन्द्रित थिए । म धेरै बोल्न सकिरहेको थिइनँ । भाइहरूको कुरामा हँमा हँ मिलाउँदै म भने सोचमग्न थिएँ ।

मेरो मानसपटलमा यो ४२ वर्षमा खेलकुदसँगको मेरो यात्रा, क्यामेरासँगको नाता, एनालग जमानामा खिचेका फोटा, तिनलाई धुलाएर देशभरका सञ्चारमाध्यममा निःशुल्क उपलब्ध गराएका सबै क्षणहरू (अहिले डिजिटल जमानामा पनि त्यसको निरन्तरता छ) झल्झली आइरहेका थिए ।

मेरो करियरमा (खासमा यो करियरभन्दा पनि मेरो जीवन हो । किनकि मैले अर्थ, पद वा प्रतिष्ठा आर्जनको कुनै उद्देश्य राखेको छैन) विभिन्न भूमिकामा काम गरे पनि मलाई बढी चिनाएको र यो अवार्डको हकदार बनाउनुमा बढी भूमिका क्यामेराकै छ जस्तो लाग्छ । मैले खिचेका फोटोहरू नै सबैभन्दा धेरै निर्णायक भए जस्तो लाग्छ ।

यही कारण मैले खिचेकामध्ये थुप्रै फोटो मेरो मानसपटलमा घुमिरहेका थिए । तिनैमध्ये खेलकुदमा खिचेका र मलाई मनपरेका केही फोटोहरू यहाँ फेरि स्मरण गर्दै छु ।

यो तस्बिर मैले २०६३ सालको हिउँदमा खिचेको हो । नेपाल बन्द थियो । हामी पत्रकारहरू क्यामेरा बोकेर मोटरसाइकलमा डुलिरहेका थियौं । त्यही बेला रंगशाला पुग्दा माछापुच्छ्रे पृष्ठभूमिमा पर्नेगरी चप्पल लगाएर क्रिकेट खेलिरहेको देखें । मेरो फोटो पत्रकार मनले त्यो दृश्य कैद गर्न मलाई निर्देशन दियो । त्यसपछि मैले खिचेको तस्बिर हो यो । यो तस्बिर पत्रिकामा छापियो भने पोखरेली क्रिकेटमा केही सहयोग आउला भन्ने मेरो आशा थियो । यही कारण मैले सबै सञ्चारमाध्यममा सधैंझै यो तस्बिर पनि पठाएँ । झन्डै एक हप्तापछि कान्तिपुरको अन्तिम पृष्ठमा लामो आठ कोलमको फोटो छापियो । त्यसपछि कान्तिपुरका खेलकुद पत्रकारसँग मेरो नम्बर मागेर नेपाल क्रिकेट संघका तत्कालीन सचिव विनयराज पाण्डेले फोन गर्नुभयो र आइसिसीमा पठाउन भनेर मसँग फोटो माग्नुभयो । मैले यही अवस्थाका विभिन्न शटहरू पठाएँ । उहाँले आइसिसीमा पठाउनुभएछ । पछि आइसिसीबाट यो फोटोले एसिया क्षेत्रको डेभलपमेन्ट अवार्ड पाएछ । तर मलाई सुरुमा विश्वास नै लागेन । पछि अरू थुप्रै साथीले पनि फोन गर्न थालेपछि विश्वास भयो । केहीबेरपछि त रेडियोमा समाचार आउन थालिहाल्यो । भोलिपल्ट पनि देशका सबै पत्रिकामा यो समाचार आएको थियो ।

२०६४ सालको आहा गोल्डकप फुटबलको फाइनल निकै रोमाञ्चक थियो । फागु पूर्णिमाको दिन परेको फाइनलमा नेपाली फुटबलका तत्कालीन महारथी टिम मनाङ मस्याङ्दी र थ्री स्टार क्लब आमनेसामने थिए । रंगशालामा भरिभराउ दर्शक थिए । खुट्टा राख्नेसम्म ठाउँ थिएन । एथलेटिक्स ट्र्याकमा पनि दर्शकको भीड थियो । खेलमा गोल गर्ने खेलाडीलाई दर्शकले दगुरेर गएर अबिर लगाइदियो । अचानक खेल दौरान रंगशालाभित्र फागुमा रमिरहेका युवाहरू मोटरसाइकल र घोडा लिएर छिरे । प्यारापिटमा नअटेका दर्शक ट्र्याकमा पनि भरिभराउ थिए । खेल निकै प्रतिस्पर्धात्मक थियो । टाइब्रेकरसम्म पुगेको प्रतिस्पर्धामा थ्री स्टारले बाजी मार्यो । तर, दर्शकको भीडका कारण थ्री स्टारका प्रशिक्षक बालगोपाल महर्जनले टाइब्रेकरका कुनै पेनाल्टीसमेत हेर्न पाएनन् । त्यही बेला घोडा लिएर रंगशाला छिरेका दर्शकको यो फोटो मेरो क्यामेराले कैद गरेको थियो ।

यो झन्डै ३२ वर्षअघिको तस्बिर हो । जसमा एक महिला खेलाडी सर्वांग नांगै छिन् । खासमा पोखराको लेकसाइडमा एउटा अन्तर्राष्ट्रिय ट्रायथलन प्रतियोगिता हुँदै थियो । प्रतियोगिता दौरान पौडी खेलेर आइसकेपछि साइक्लिङका लागि कपडा फेर्ने क्रममा यी विदेशी महिला खेलाडीको हतारमा कट्टु पनि खुल्यो । म उनीभन्दा अलि टाढा नै थिएँ । तैपनि मैले एनालग क्यामेराबाट झ्यापझ्याप हानेको फोटो हो यो । त्यो बेला केही श्यामश्वेत साप्ताहिक पत्रिकामा यो फोटो छापिएको थियो ।

पोखराको बगरमा बगरभाइ खलकले २०७३ सालमा आयोजना गरेको भेट्रान फुटबल प्रतियोगिताका बेला बल हावामा हुँदा मैले खिचेको फोटो हो यो । यो फोटो किन विशेष बन्यो भने बलको पृष्ठभूमिमा माछापुच्छ्रे हिमालको शिर परेको छ । यही फोटोले एनएफपिजेको फोटो अवार्डमा खेलकुद विधाको उत्कृष्ट फोटोको पुरस्कार जितेको थियो ।

पोखराबाट काठमाडौं आउँदा म अधिकांश  समय हवाइमार्ग नै रोज्छु । त्यसक्रममा म सधैं दायाँपट्टिको झ्यालको सिटमा बस्छु फोटो खिच्नका लागि । पोखरा रंगशालामा तारबार गरिएको थिएन । अतिक्रमण र दुरुपयोगको खतरा थियो । २०५७ सालमा मैले विमानबाट सामान्य क्यामेराले खिचेको फोटो हो यो । पछि भूपू खेलाडी मञ्चले रंगशालाको पर्खाल निर्माण गर्नेक्रममा सहयोग जुटाउन अभियान चलाउँदा यो फोटो धेरै ठाउँमा प्रयोग गरेको थियो । मैले खिचेको फोटोले एउटा असल अभियानमा साथ दिएकाले यो फोटो मलाई विशेष लाग्छ ।

सहारा क्लबले पोखरामा पहिलो पटक २०५८ सालमा क्याराभान गोल्डकपको नाममा फुटबल प्रतियोगिता गरेको थियो । पहिलो संस्करणमै भव्य सफल भएको प्रतियोगिताको सेमिफाइनलमा आयोजक सहारा र तत्कालीन महेन्द्र पुलिस क्लबबीच प्रतिस्पर्धा भएको थियो । त्यही बेला मैदानमा देखिएको इन्द्रेणीलाई मैले क्यामेरामा कैद गरेको थिएँ । यो फोटो अहिले हेर्दा पनि मलाई निकै आर्टिस्टिक लाग्छ । त्यही खेलको नतिजा पनि यो फोटो जस्तै निकै दुर्लभ निस्किएको थियो । निर्धारित तथा थप गरिएको अतिरिक्त समयको खेल बराबरीमा टुंगिएपछि पेनाल्टी शुटआउटबाट पनि नतिजा निस्किएन । सडनडेथमा दुवै टिमका ११–११ पेनाल्टी हान्दा समेत खेल बराबरीमै थियो । पछि कम प्रकाशका कारण टसबाट विजेता चयन गरिएको थियो । जहाँ आयोजक अभागी साबित भयो ।

गत वर्ष कीर्तिपुरमा एसिसी प्रिमियर कपको फाइनलमा नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदा खराब मौसमका कारण दुई दिनसम्म खेल रोकियो । तेस्रो दिनमात्र खेल सम्भव भयो र नेपालले बाजी मार्यो । त्यसक्रममा हजारौं दर्शक छाता ओढेर दिनभर खेल हुने आशामा रंगशालामा उभिएका फोटाहरू निकै भाइरल भए । तर त्यस्तो दृश्य धेरै वर्षअगाडि पोखरेली फुटबलमा देखिइसकेको थियो । २०६३ सालमा आहा गोल्डकपअन्तर्गत पोखरा रंगशालामा थ्री स्टार र सहाराबीचको खेल हुँदा हजारौं दर्शक छाता ओढेर बसेको फोटो मैले खिचेको थिएँ । विभिन्न पत्रिकामा त्यो फोटो प्रकासित भएको थियो । तर अहिलेजस्तो सामाजिक सञ्जाल नभएका कारण यो फोटो भाइरल चाहिँ हुन पाएन ।

यो मैले मेलबर्नमा अस्ट्रेलियन ओपनमा खिचेको फोटो हो । भतिजलाई भेट्न जाँदा मैले अस्ट्रेलियन ओपनको समय पारेको थिएँ । मलाई सानिया मिर्जा (भारतकी भएकाले) उसले खेलेको फोटो खिच्न मन थियो । संयोगवश मैले त्यही खेलको टिकट प्राप्त गरें र खिचें । यो फोटो नेपालका सबै पत्रिकाले छापेको थियो । त्यो अस्ट्रेलिया भ्रमणमा मैले घरेलु टोली अस्ट्रेलिया र भारतबीचको बक्सिङ डे क्रिकेटको पनि फोटो खिचेको थिएँ ।