काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले बिहीबार राति बहराइनसँग ५–० को फराकिलो हार बेहोरेको छ । फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको खेल थियो यो ।
दोस्रो चरणमा नेपालले खेलेको यो तेस्रो खेल हो भने भोगेको पनि तेस्रो हार । यसअघि नेपाल संयुक्त अरब इमिरेट्स (युएई) र यमनसँग अवे खेलमा पराजित भइसकेको छ ।
पछिल्लो समय नेपाली फुटबल सर्वत्र आलोचित छ । अखिल नेपाल फुटबल संघ (एन्फा) भित्रको कुशासन र व्याप्त भ्रष्टाचारका कारण यो अवस्था आएको हो । लाचार एन्फाको नालायकीका कारण निराश भएर पछिल्लो वर्षमात्र सय हाराहारीमा राष्ट्रिय टिमको ढोका खोल्न तयार भएका खेलाडी विदेसिए ।
बहराइनसँगको फराकिलो हारले भने नेपाली समर्थकलाई साँच्चै चिन्तित बनाएको छ । सामाजिक सञ्जालमा समर्थक आफ्ना निराशालाई टिमप्रतिको आक्रोशका रूपमा पोखिरहेका छन् । एन्फा नेतृत्वलाई कटाक्ष गरिरहेका छन् ।
राष्ट्रिय टिम बनाउन खेलाडी सिला खोज्नुपर्ने अवस्थाबीच नेपालले विश्वकप छनोटको तीन खेल खेलेको थियो । तीनवटै खेल आफूभन्दा माथिल्लो स्तरका विपक्षीसँग थिए । हारको नतिजा अनपेक्षित थिएन ।
विश्वकप छनोटमा अघिल्लो चरण पुग्ने आस पनि थिएन । यसकारण लगातारको तेस्रो हारले नेपालको विश्वकप २०२६ यात्रामा तात्विक असर गरेको छैन ।
तर, बहराइनसँगको फराकिलो हारले भने नेपाली समर्थकलाई साँच्चै चिन्तित बनाएको छ । सामाजिक सञ्जालमा समर्थक आफ्ना निराशालाई टिमप्रतिको आक्रोशका रूपमा पोखिरहेका छन् । एन्फा नेतृत्वलाई कटाक्ष गरिरहेका छन् ।
आफ्नो राष्ट्रिय टिम मैदान उत्रिँदा जितको आशा गर्नु समर्थकको स्वभाव हो र हक पनि । जस्तोसुकै परिस्थितिमा पनि देशका लागि मैदान उत्रिएपछि जितका लागि प्रयास गर्नु खेलाडी र टिमको कर्तव्य हो । समर्थकको खुसीका लागि भए पनि टिमका प्रत्येक सदस्यले आफ्नो तर्फबाट शतप्रतिशतभन्दा बढी दिनुपर्छ र दिन्छन् ।
जितमा टिम र खेलाडीको प्रशंसामा ठुल्ठूला पुल बाँध्ने समर्थकलाई हार्दा रिसाउने हक पनि छ । किनकि गाली उसले गर्छ, जसले औधी माया गर्छ । नेपाली खेलाडीका लागि समर्थक भनेको मायाको त्यही खानी हो । यही कारण समर्थकका ताली र गाली स्वाभाविक हुन् ।
नेपाली फुटबलको नियामक निकाय एन्फाको स्वार्थप्रेरित उदासीनताले नेपालको घरेलु खेल पनि विपक्षीको मैदानमा पुर्याएको थियो । खेल हुनुभन्दा अगाडि एन्फाले नेपाललाई हराइसकेको थियो ।
यसो भनिरहँदा पनि यसपालि बहराइनसँगको हारपछिको गालीलाई भने स्वाभाविक मान्न सकिन्न । किनकि यो हारको पृष्ठभूमि फरक छ । नेपाली फुटबललाई औधी माया गर्नेहरू यो हारको नतिजाभन्दा पनि हार अन्तर र मैदानमा आफ्नो टिमको फितलो प्रदर्शनमा बढी चिन्तित भएका हुन् । बहराइनसँग योभन्दा जुझारु प्रदर्शन र कम अन्तरको हार सायद समर्थकको अपेक्षा थियो ।
तर, वास्तविकता के पनि हो भने सयौं खेलाडी एकैपटक विदेसिँदा देशमा प्रतिभाको ठूलै खडेरी लागेको छ । त्यसमाथि खेलाडी स्काउटिङ, ट्यालेन्ट हन्ट वा नियमित लिगसमेत नहुँदा भएका खेलाडी पनि प्रशिक्षकको आँखामा पर्ने कुरा भएन । देशभित्रकै शीर्ष डिभिजनको लिगसमेत अनुभव नभएका खेलाडीसमेत बटुलेर टिम बहराइन पुगेको थियो ।
यही छनोटको अघिल्ला दुई टिम युएई र यमनविरुद्धको खेल नेपालको अवे खेल थियो । अवे मैदानमा भोगेका ४–० र २–० को हारलाई सजिलै समर्थकले पचाएका थिए ।
बहराइनसँगको खेलचाहिँ नेपालको घरेलु भूमिमा हुनुपर्ने खेल थियो । तर, नेपाली फुटबलको नियामक निकाय एन्फाको स्वार्थप्रेरित उदासीनताले नेपालको घरेलु खेल पनि विपक्षीको मैदानमा पुर्याएको थियो । खेल हुनुभन्दा अगाडि एन्फाले नेपाललाई हराइसकेको थियो । घरेलु समर्थकबीच आफ्नै मैदानमा खेल्न पाउनुको फाइदा फुटबलमा धेरै हुन्छ । यही कारण हो फिफाले होम एन्ड अवे पद्धति स्थापित गरेको ।
घरमा खेल्न पाउँदा आफ्ना समर्थकको चर्को साथमा दौडिँदाको जोस बेग्लै हुने कुरा नेपाली राष्ट्रिय टिमले नै विगतमा थुप्रै पटक प्रमाणित गरिसकेको छ । तर, यसपालि एन्फाले राष्ट्रिय टिमलाई घरेलु समर्थक र मैदानको साथमा गौरवमय प्रदर्शन गर्ने अवसरबाट वञ्चित गरेको थियो । नेपाली फुटबलप्रेमीसँग आफ्नै घरमा आफ्नो टिमले खेल्दा समर्थन गर्ने मौका पनि खोसेको थियो ।
हारेको नेपाली टिमले होइन, खेलाडीहरूले होइनन् । यहाँ साँचो अर्थमा हारेको त फुटबल प्रशासनले हो । एन्फाका पदाधिकारीले हो । समग्रमा नेपाली खेल प्रशासनले हो ।
घरमा नियमित लिग र अन्य प्रतियोगिता नहुँदा फुटबलको बलियो पिरामिड भत्किइसकेको छ । सयौं खेलाडी चरम निराशाका कारण विदेसिएका छन् । फुटबल प्रशासन सधैं भ्रष्टाचार, बेथिति र कुशासनका कारण आलोचनाको केन्द्रमा छ । पूरा फुटबलमा आशा जगाउने खालको कुनै वातावरण छैन । यस्तोमा आफ्नै घरेलु खेलको संघर्ष विपक्षीको मैदानमा हुँदा आउने नतिजा यस्तै हो ।
बहराइनको मैदानमा नेपालको प्रदर्शन कस्तो रह्यो भन्ने प्राविधिक विश्लेषण यतिखेर त्यति सामयिक हुन्न । सबैखाले परिस्थिति प्रतिकूल हुँदा समेत विपक्षीको मैदानमा डटेर प्रस्तुत हुनु नै नेपाली टिमको बहादुरी हो । नतिजामा पक्कै नेपाली टिम पराजित भएको छ । तर त्यो पराजयको भारी बोक्नुपर्ने जिम्मेवार पक्ष टिम र खेलाडी कुनै पनि हालतमा होइनन् ।
जितका लागि टिमलाई लायक बनाउने, सबैखाले वातावरण अनुकूल पार्ने जिम्मेवारी बोकेको एन्फाले नै यो हारको जिम्मेवारी लिनुपर्छ । वर्षौंसम्म लिग गराउन नसक्नेले नै यो हारमा चुक्चुकाउनुपर्छ । खेलाडीलाई कुनै पनि कोणबाट आशाको सञ्चार गराउन नसक्ने प्रशासनलाई नै यसमा जवाफदेही बनाउनुपर्छ । आलोचना र आक्रोशको निसाना पनि खेलाडी र टिम होइन, एन्फा र त्यहाँका पदाधिकारी हुनुपर्छ ।
किनकि हारेको नेपाली टिमले होइन, खेलाडीहरूले होइनन् । यहाँ साँचो अर्थमा हारेको त फुटबल प्रशासनले हो । एन्फाका पदाधिकारीले हो । समग्रमा नेपाली खेल प्रशासनले हो ।
खेलाडीले त आफ्नो क्षमताले भ्याएसम्म शतप्रतिशत भन्दा बढी मिहिनेत गरेका हुन् । तमाम निराशाका बावजुत नेपाली फुटबलमै केही गर्ने अठोटका साथ निरन्तर योगदान गरिरहेका खेलाडी र टिम त यो अवस्थामा प्रशंसाका पात्र हुन् ।