काठमाडौं । इन्डोनेसियामा जारी अन्तर्राष्ट्रिय मैत्रीपूर्ण श्रृंखलाको दोस्रो खेलमा नेपालले बलियो चाइनिज ताइपेइसँग १-० को हार बेहोरेको छ ।
इन्डोनेसियाको योग्यकर्तास्थित मागुवोहर्जो रंगशालामा चाइनिज ताइपेइले नेपाललाई दबाबमा राखे पनि पहिलो हाफमा गोल गर्न सकेको थिएन । तर, दोस्रो हाफको सुरुआती १० मिनेटमै चाइनिज ताइपेइले अग्रता लियो ।
ताइपेइका लागि मिडफिल्डर हुवाङ केसीनले खेलको ५३औं मिनेटमा गोल गरेका थिए । जुन गोल नै ताइपेइलाई साँघुरो जित दिलाउन निर्णायक बन्यो ।
यही खेलमार्फत स्ट्राइकर पूर्णिमा राईले पहिलो अन्तर्राष्ट्रिय क्याप जितिन् । पूर्णिमाले ८०औं मिनेटमा रश्मिकुमारी घिसिङलाई प्रतिस्थापन गर्दै यो उपलब्धि हासिल गरेकी हुन् ।
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण श्रृंखलामा नेपालको यो दोस्रो हार हो । नेपालले पहिलो खेलमा इन्डोनेसियासँग २–१ को अनपेक्षित पराजय बेहोरेको थियो । नेपालविरुद्धको जितसँगै चाइनिज ताइपेइले श्रृंखलाको उपाधि जितेको छ । ताइपेइले पहिलो खेलमा इन्डोनेसियालाई ५-० ले हराएको थियो ।
