काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा बुधबार मात्र एउटा खेल हुनेछ । दिउँसो ४ बजे हुने खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्सले एकअर्कासँग प्रतिस्पर्धा गर्दैछन् ।
लुम्बिनीलाई हराए सन्दीप लामिछाने मार्की रहेको विराटनगरले प्लेअफ समीकरणमा आफ्नो स्थानलाई सुरक्षित गर्नेछ । पाँचमध्ये चार खेलमा विजयी हासिल गरेको विराटनगर हाल अंकतालिकाको तेस्रो स्थानमा छ ।
प्लेअफ सम्भावनालाई जीवितै राख्ने हो भने रोहित पौडेल मार्की रहेको लुम्बिनीलाई जितको विकल्प छैन । समान खेलमा लुम्बिनीले मात्र चार अंक जोडेको छ । विराटनगरसँग हार बेहोरे लुम्बिनीसँग प्रतिस्पर्धाका लागि केवल चौथो स्थान बाँकी रहनेछ । किनभने विराटनगरसँगै काठमाडौंको पहिले नै ८ अंक छ । यो भनेको चार टोलीसँगको लडाई हो ।
पछिल्लो खेलमा पोखरा एभेन्जर्समाथि तीन विकेटको रोमाञ्चक जित हासिल गरेको लुम्बिनी जितको लयलाई कायम राख्न चाहन्छ । विराटनगरले पनि आफ्नो पछिल्लो खेलमा कर्णालीलाई तीन विकेटले नै हराएको थियो । यो खेल त झन् एनपिएल सिजन २ कै रोमाञ्चकमध्ये एक थियो । १६० रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको विराटनगरका लागि एक बल बाँकी छँदा मध्यक्रमका ब्याटर वसीर अहमदले छक्का प्रहार गर्दै टोलीलाई जित दिलाएका थिए ।
विराटनगरका लागि लुम्बिनीविरुद्धको खेल केही विशेष हुनेछ । किनभने लुम्बिनीविरुद्ध बहुप्रतिक्षित क्रिकेट अनुहार मैदानमा उत्रिँदैछन् । सोमबार काठमाडौं आइपुगेका दक्षिण अफ्रिकी ब्याटर फाफ डुप्लेसीले विराटनगरको जर्सी लगाउँदैछन् ।
