काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत चाइनिज ताइपेइविरुद्ध खेल्ने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको पहिलो रोजाई सार्वजनिक भएको छ ।
मंगलबार मुख्य प्रशिक्षक नवीन न्यौपानेले स्ट्राइकर मीना देउवा र लेफ्ट ब्याक मनमाया दमाईलाई पहिलो रोजाईमा मौका दिएका छन् । त्यस्तै गोलपोस्टको जिम्मेवारीमा अञ्जिला तुम्बापो सुब्बालाई दिइएको छ ।
इन्डोनेसियाविरुद्ध मीना र मनमायाले बेन्चबाट मैदानमा प्रवेश गर्ने मौका पाएका थिए । मनमायाले अट्याकिङ मिडफिल्डर अनिता बस्नेतलाई प्रतिस्थापन गर्दा मीनाले रश्मिकुमारी घिसिङ ठाउँ लिएकी हुन् । इन्डोनेसियासँग गोलपोस्टको जिम्मेवारी अञ्जना रानामगरलाई दिइएको थियो ।
रक्षापङ्क्तिमा मनमायासँगै हिराकुमारी भुजेल, समीक्षा घिमिरे, पूजा राना र विमला विक छन् । त्यस्तै दीपा शाही, रेनुका नगरकोटे र प्रीति राई मिडफिल्डमा हुनेछन् । अग्रपङ्क्तिमा मीनालाई रेखा पौडेलको साथ रहनेछ ।
नेपाल र चाइनिज ताइपेइ अन्तर्राष्ट्रिय मञ्चमा पहिलो पटक आमने–सामने हुँदैछन् । फिफा वरियतामा नेपालभन्दा ४५ स्थान माथि रहेको चाइनिज ताइपेइले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण श्रृंखलाको पहिलो खेलमा इन्डोनेसियालाई ५–० ले हराएको थियो । नेपालले भने आफूभन्दा कम वरियताको इन्डोनेसियासँग २-१ को अनपेक्षित पराजय बेहोर्यो । श्रृंखलाको उपाधि जित्न चाइनिज ताइपेइलाई नेपालविरुद्ध बराबरीको नतिजा पर्याप्त हुनेछ ।
इन्डोनेसियाको योग्यकर्तास्थित मागुवोहर्जो रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ६ः१५ बजे हुनेछ ।
