काठमाडौै । संकटा क्लबकी स्ट्राइकर पूर्णिमा राईले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेकी छन् ।
मंगलबार पूर्णिमाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत चाइनिज ताइपेइविरुद्ध पहिलोपटक राष्ट्रिय टोलीको जर्सी लगाएकी हुन् । नेपाल १–० ले पराजित भएको खेलमा पूर्णिमाले ८०औं मिनेटमा रश्मिकुमारी घिसिङलाई प्रतिस्थापन गरेकी थिइन् ।
उमेर समूहमा नेपालको प्रतिनिधित्व गर्दै आएकी पूर्णिमाले दोस्रो प्रयासमा अन्तर्राष्ट्रिय क्याप जितेकी हुन् । गत महिना सिलोङमा भएको त्रिदेशीय अन्तर्राष्ट्रिय कपमा पूर्णिमा पहिलोपटक सिनियर टोलीमा परेकी थिइन् । त्यतिबेला नेपालले इरान र भारतसँग प्रतिस्पर्धा गर्दा पूर्णिमाले ‘प्लेइङ मिनेट्स’ पाएकी थिइनन् । लगत्तै सिक्किममा भारतसँगै भएको अनौपाचारिक मैत्रीपूर्ण खेलमा पूर्णिमाले पहिलो रोजाईमै मैदानमा उत्रिने मौका पाएकी थिइन् । तर, उक्त खेलले अन्तर्राष्ट्रिय मान्यता नपाउँदा पूर्णिमाले आधिकारिक ‘डेब्यू’का लागि अझै केही समय कुर्नुपरेको थियो ।
पूर्णिमाले पछिल्लो एन्फा राष्ट्रिय महिला लिगमा कोशी प्रदेशको प्रतिनिधित्व गरेकी थिइन् । गत जुलाईमा सम्पन्न साफ यु-२० च्याम्पियनसिपमा पूर्णिमाले सर्वाधिक गोलकर्ताको पुरस्कार जितेकी थिइन् । ढाकामा पूर्णिमाले ६ खेलमा कूल १० गोल गरेकी गरिन् । सन् २०२४ मा ढाकामै भएको साफ यु-१९ च्याम्पियनसिपमा पनि पूर्णिमा टोलीमा समावेश थिइन् ।
गत अगस्टमा भुटानको थिम्पुमा सम्पन्न एएफसी यु-२० एसियन कप छनोट पूर्णिमाले उमेर समूहमा खेलेको पछिल्लो अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।
