काठमाडौं । लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगामा मंगलबार एट्लेटिको मड्रिडविरुद्ध ३–१ को पुनरागमन जित दर्ता गरेको छ ।
जितसँगै १५ खेलमा ३७ अंक जोेडेको बार्सिलोना शीर्ष स्थानमा छ । यो एक खेल कम खेलेको रियाल मड्रिडको भन्दा चार अंक बढि हो ।
यता पराजित एट्लेटिको १५ खेलबाट ३१ अंकका साथ चौथो स्थानमा छ ।
क्याम्प नोउमा घरेलु टोलीका लागि राफिन्हा, ड्यानी ओेल्मो र फेरान टोरेसले गोल गरे । एट्लेटिकोका लागि एले बाइनाले गोल गरे ।
खेलको १९औं मिनेमा बाइनाको गोलमार्फत एट्लेटिको अग्रता लिएको थियो । तर, टोलीले अग्रतालाई लामो समयसम्म कायम राख्न भने सकेन ।
सात मिनेटपछि नै राफिन्हाले बार्सिलोनालाई बराबरीमा ल्याए । रोबर्ट लेवान्डोवस्की पेनाल्टीमा चुक्दा बार्सिलोनाले अग्रता लिने अवसर गुमायो ।
ओल्मोले ६५औं मिनेटमा बार्सिलोनालाई २-१ ले अगाडि बढाए । इन्जुरी समयमा टोरेसले गोल गर्दा बार्सिलोनाले ३-१ को पुनरागमन जित निकाल्याे ।
