इतिहासमा विश्वकप

सम्झनामा १९७०ः ‘इटाली विश्वका उत्कृष्ट फुटबलरहरुसँग हार्यो’

१९७०, मेक्सिको (नवौं विश्वकप) 

मे ३१ देखि जुन २१ सम्म
सहभागी टोली- १६
खेल संख्या- ३२
गोल संख्या- ९५ (प्रतिखेल ३ गोलऔसत)
दर्शक- १६ लाख ३ हजार ९ सय ७५(प्रतिखेल ५० हजार १ सय २४)
विजेता- ब्राजिल
उपविजेता- इटाली
तेस्रो- पश्चिम जर्मनी
चौथो- उरुग्वे
गोल्डेन जुत्ता- गर्ड मुलर (जर्मनी)

फिफा विश्वकपको इतिहासमा पहिलो पटक प्रतियोगिता रंगीन प्रविधिबाट टेलिभिजनमार्फत प्रसारण गरियो । ब्राजिलले आफ्नो फुटबलिङ क्षमतालाई थप परिस्कृत गरेर प्रस्तुत हुँदा विश्वभरका करोडौं दर्शकले प्रत्यक्ष रूपमा रंगीन विश्वकपको मजा लिए  । ब्राजिलले तेस्रो पटक उपाधि भित्र्याएको विश्वकप व्यापारिक रूपमा पनि सफल प्रतियोगिताको श्रेणीमा पर्यो । विश्व फुटबलका महान हस्ती पेलेको अन्तिम खेलमा इटालीलाई ४-१ को नतिजाले पराजित गर्दै ब्राजिल आफ्ना सर्वाधिक प्रिय स्टारलाई सुखद बिदाइ गर्न सफल भयो ।

इङ्ल्यान्डमा चार वर्षअघि सम्पन्न विश्वकपको निराशाका कारण पेलेले पुनरागमन नजनाउने बताएका थिए । तर १९७० को विश्वकपमा पनि उनले आक्रामणको धारिलो तेजका कारण संन्यास लिएनन् । आक्रमणको जिम्मा पाएका पेलेसहित जाइजिन्हो, गार्सन, टोस्टाओ र रिभेलिनो सबै ब्राजिली  टोलीमा १० नम्बर जर्सीका हकदार थिए । उनीहरूको संयुक्त प्रयासमा प्रतियोगिताभर ब्राजिलले निकै सुन्दर फुटबल प्रदर्शन गर्न सफल भयो ।

फाइनलमा एकपटक यी पाँच आक्रामक खेलाडीले कप्तान कार्लोस अल्बर्टोको साथ पाउँदा सात खेलाडी समावेश एउटा मुभ अझैसम्म विश्व फुटबलमा स्मरणीय छ । ब्राजिलले गरेका चार गोलभन्दा पनि स्मरणीय यो मुभमा कप्तान अल्बर्टोको अन्तिम पासलाई पेलेले प्रहार गर्दा विपक्षी गोलकिपर बिट भए पनि पोस्टको कुनामा लागेर फर्किएको थियो । यो प्रयासमा गोल नभए पनि यसले फुटबलमा टिमवर्कको राम्रो नमुना प्रस्तुत गर्न सफल भयो । सात खेलाडीको चलाखीपूर्ण र दर्शनीय संयुक्त प्रयासबाट यो मुभ सम्भव भएको थियो ।

मेक्सिकोमा भएको यो प्रतियोगिता सुरु हुनुअघि सबै सहभागी त्यहाँको उच्च तापक्रम र उच्च उचाईं (हाइअल्टिच्युट) का कारण तर्सिएका थिए । त्यसमा युरोपको टेलिभिजनका लागि समय मिलाउने बहानामा प्रतियोगिता दिउँसो मध्य घाममा हुने भएबाट सहभागीको तनाब झन थपियो ।

यही प्रतियोगिताबाट एउटा टिमले दुईसम्म खेलाडी परिवर्तन गर्न पाउने, रेफ्रीले रातो र पहेँलो कार्ड प्रयोग गर्ने चलन सुरु गरिएको थियो । यो प्रतियोगिता कालो र सेतो एडिडासको बलमा खेलाइएको थियो ।

पहिलो चरणमै साविक विजेता इङ्ल्यान्ड र यो प्रतियोगिताको विजेता ब्राजिलको भेट भयो । यो खेल प्रतियोगिताकै सर्वाधिक रोमाञ्चकमध्येको एक थियो । फिफा विश्वकपको इतिहासमै यो खेलमा सर्वाधिक लोकप्रिय बचाउहरू भए । जोर्डन ब्यांकले पेलेका केही उत्कृष्ट प्रहार बचाएर इङ्ल्यान्डको आशा जीवित राखेका थिए । जाइजिन्होको गोलमा खेल भने ब्राजिलले आफ्नो पक्षमा पार्यो । तर खेल ब्राजिलका लागि निकै कठिन चुनौतीका रूपमा रह्यो । इङ्ल्यान्डका कप्तान बबी मुरेले करियरकै उत्कृष्ट प्रदर्शन गरे पनि नतिजाको हकमा भने त्यो सफल भएन ।

उत्तर कोरियाले खेल्न अस्विकार गरेपछि सोझै छनोट भएको विश्वकपको नवप्रवेशी इजरायल प्रतियोगिताको सनसनीपूर्ण टोलीका रुपमा रहयो । इजरायलले पहिलो खेलमै महारथी इटालीलाई गोलरहित बराबरीमा रोकेर तहल्का मच्चायो । टोलीले मोरक्कोलाई पनि बराबरीमै रोक्यो ।

पश्चिम जर्मनीका स्टार गर्ड मुलर नायक बनेको संस्करणमा उनले लगातार दुई ह्याट्रिक गरे । पहिलो खेलमा पनि निर्णायक गोल गरिसकेका मुलरले त्यसपछि बुल्गेरिया र पेरुविरुद्ध लगातार ह्याट्रिक गरे । इङ्ल्यान्डविरुद्धको नाटकीय क्वार्टरफाइनलमा पनि उनैले अतिरिक्त समयमा गरेको गोलमा जर्मनी विजयी भयो ।

२३ मिनेट बाँकी रहँदासम्म २-० ले पछाडि रहेको जर्मनीका लागि फ्रान्ज बेकेनबाउर र उवे सिलरले गोल गर्दै निर्धारित समयमा खेल बराबरीमा ल्याए । संयोगवश चार वर्षअघि जर्मनीविरुद्धको फाइनलमा इङ्ल्यान्डका लागि विवादास्पद विजयी गोल गरेका जियोफ हर्स्टले गरेको गोल रेफ्रीले नलिएलगत्तै मुलरले जर्मनीका लागि विजयी गोल गरे । इङ्ल्यान्डले खेलमा बिरामी परेका गोलकिपर ब्यांकको अभाव महसुस गर्नुपर्यो भने जर्मनीका लागि १९६६ को मीठो बदला यही खेलबाट सम्भव भयो ।

जर्मनीको जुझारुपनले इटालीविरुद्धको सेमिफाइनललाई निकै रोमाञ्चक बनायो । प्रतियोगिताको इतिहासमै अतिरिक्त समयमा सर्वाधिक गोल भएको खेलमा जर्मनीका कार्ल हेइन्ज स्नाइलिंगरले अन्तिम मिनेटमा गोल गर्दै खेल अतिरिक्त समयतर्फ डोर्याए । उनको गोलले खेललाई निर्धारित समयमा १-१ को बराबरीमा रोकेको थियो ।

अतिरिक्त समयमा मात्र पाँच गोल हुँदा मुलरले दुई गोल गरे भने इटालीले ४-३ को  विजय हासिल गरेको खेलमा युरोपेली वर्ष खेलाडी जियानी रिभेराले विजयी गोल ठोके । जर्मनीका कप्तान बेकेनबाउरले पाखुरामा लागेको चोटका बावजुद उक्त सेमिफाइनल खेलेका थिए ।

पश्चिम जर्मनी तेस्रो स्थानको प्लेअफमा धकेलिँदा इटालीलाई भने यो जितले १९३८ पछि पहिलो पटक विश्वकप फाइनल पुर्यायो । इटालीले क्वार्टरफाइनलमा मेक्सिकोलाई पराजित गरेको थियो । रक्षापंक्तिमा जियासिन्टो फाचेटी तथा आक्रमणमा गिगी रिभाको प्रेरणा हुनाका बावजुद इटाली फाइनलमा ब्राजिलसामु कमजोर रूपमै आँकिएको थियो ।

ब्राजिलले भने पूरा प्रतियोगिताभर प्रभावशाली प्रदर्शन गर्यो। मारियो जागालोले पूर्वप्रशिक्षक जोआओ साल्डान्हालाई स्थानान्तरण गर्दै ब्राजिली टोलीको बागडोर सम्हालेको तीन महिनामात्र भए पनि ब्राजिलको सेट प्रदर्शन हेर्नलायक थियो । चेकोस्लोभाकिया, इङ्ल्यान्ड र रोमानियालाई पराजित गरेपछि ब्राजिल क्वार्टरफाइनल पुगेको थियो ।

क्वार्टरफाइनलमा ब्राजिलकै प्रशिक्षक डिडीको नेतृत्वमा रहेको पेरुलाई पराजित गर्दै ब्राजिलले अन्तिम चारको स्थान सुरक्षित गर्यो । डिडी र जागालोले ब्राजिली टोलीबाट १९५८ र १९६२ को विश्वकप सँगै खेलेका थिए । सेमिफाइनलमा उरुग्वेलाई निराश पार्दै फाइनल पुगेको टोलीले उपाधि उचाल्नका लागि भने युरोपको महारथी इटालीलाई सिकार बनायो ।

तेस्रो उपाधिको बाटोमा रहेका पेलेले सुरुमै कडा हेडमार्फत ब्राजिललाई अग्रता दिलाए । त्यसलाई इटालीका रोबर्टो बोनिन्सेग्नाले बराबरीमा ल्याए पनि ब्राजिललाई च्याम्पियन बनाउन दोस्रो हाफमा गेर्सन, जाइरजिन्हो र कार्लोस अल्बर्टोले गोल थपे । इटाली पराजित भएपछि रोमको लोकप्रिय पत्रिकाले छापेको थियो, ‘इटाली विश्वका उत्कृष्ट फुटबलरहरूसँग हार्यो ।’