नेपाली फुटबल

पाँचौं चरणको खेल सकिँदा पुल्चोक शीर्ष स्थानमा, सिरबलो उच्च गोलकर्ता (डाटासहित)

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिगको पाँचौ चरणका खेल सम्पन्न भएका छन् । मंगलबारको खेलसँगै पाँच खेल सकिँदा पुल्चोक स्पोर्टस क्लब शीर्ष स्थानमा छ ।

समान १२ अंक भए पनि मनोहरा क्लब गोलअन्तरमा पछि पर्याे । पुल्चोक र मनोहराले समान चार खेलमा जित र एक खेलमा हार बेहोरेका छन् ।

‘सी’ डिभिजन लिग जित्ने ठूलो महत्वकांक्षा राखेको आरसी ३२ स्पोर्टस एकेडेमी ११ अंकसहित तेस्रो स्थानमा छ । चौथो स्थानको साँगाको ९ अंक रहँदा बागमती युवा क्लब र महावीर समान आठ अंकसहित पाँचौं र छैटौं स्थानमा छन् । 

समान दुई अंकमा सीमित स्वयम्भू र गोलबजार पुछारका दुई स्थानमा छन् । यसैगरी, सानेपा सातौं, समाज कल्याण आठौं, खालीबारी नवौं, सामाजिक युथ १०औं, झम्सिखेल ११औं, रानीबन १२औं स्थानमा छन् ।

१४ टोली सहभागी लिगमा सबैले एकअर्कासँग राउन्ड रोबिन पद्दतिअनुसार खेलीसक्दा शीर्ष दुई स्थानमा रहने टोली ‘बी’ डिभिजनमा बढुवा हुन्छन् । पूरा 
९१ खेलको समाप्तीमा पुछारमा सीमित रहने दुई टोलीले भने डिभिजन क्लब हुनुको हैसियत गुमाउँछन् । 

सिरबलो उच्च गोलकर्ता


पाँचौ चरणको खेल सकिँदा पुल्चोकका सिरबलो तामाङले सर्वाधिक पाँच गोल गरेका छन् । समान चार गोलका साथ उनलाई समाज कल्याणका रोशन क्षेत्री र पुल्चोकका सागर थिङले पछ्याइरहेका छन् । 

स्वयम्भूका सुग्रित मगर, सानेपाका पेम्बा दोर्जे लामा, सामाजिक युथका युगेश श्रेष्ठ र  महावीरका सन्दीप श्रेष्ठले समान तीन गोल गरेका छन् । लिगमा कुल ३५ खेल सकिँदा ९५ गोल भएका छन् । त्यसमा ५८ खेलाडीले स्कोरसिटमा आफ्नो नाम लेखाउँदा दुई आत्मघाती गोल भएका छन् । १७ जनाले दुई गोल गरेका छन् भने ३४ जनाको नाममा एक गोल छ । 

चौथो चरणमा सबैभन्दा धेरै गोल 


जारी लिगमा पाँच चरणका ३५ खेल सकिँदा कुल ९८ गोल भएका छन् । त्यसमध्ये चौथो चरणमा सबैभन्दा धेरै गोल (२२) गोल भएका छन् । पहिलो र पाचौं चरणमा समान २० गोल भएका छन् । दोस्रो चरणमा १९ तथा तेस्रो चरणमा १७ गोल भए ।

समग्रमा प्रतिखेल २.८ को औसतमा गोल हुँदा चौथो चरणमा ३.१४ को औसतमा गोल भए । पहिलो र पाँचौं चरणमा समान २.८६ को औसतमा गोल हुँदा दोस्रो चरणमा २.७१ तथा तेस्रो चरणमा सबभन्दा कम २.४३ को औसतमा गोल भए ।

पुल्चोक धेरै गोल गर्ने क्लब


‘सी’ डिभिजन लिगमा सबैभन्दा धेरै गोल गर्ने क्लबमा पुल्चोक रहेको छ । उसले पाँच खेल खेलिसक्दा १४ गोल गरेको छ भने टोली गोलअन्तरमा आठ गोलले माथि छ । पुल्चोकले पाँच खेलमा ६ गोलमात्र खाएको छ । 

बढि गोल गर्ने टोलीको सुचीमा मनोहरा दोस्रो स्थानमा छ । मनोहरले ११ गोल गर्दा सानेपा र समाज कल्याणले समान ९ गोल गरेका छन् । स्वयम्भूले ७ गोल गर्दा आरसी ३२, साँगा र झसिम्खेलले समान ६ गोल गरेका छन् । ९ गोल खाएको झम्सिखेल गोल अन्तरमा भने तीन गोल घाटामा छ । 

जारी लिगमा सबभन्दा कम गोल गर्ने टिम रानीबन हो । जम्मा दुई गोल गरेको टोलीले सात गोल खाएको छ । यसैगरी दोस्रो कम गोल गर्ने टोलीको सुचीमा खालीबारी, सामाजिक युथ र पुछारको टोली गोलबजार छन् । तीनवटै टोलीले समान पाँच गोल गरेका छन् ।