धिरोजकाजी भलिबल खेलाडीदेखि मिस्टर सुप्रानेसनलसम्म

काठमाडौं  । अग्लो र खिरिलो ज्यान परेका धिरोजकाजी बस्नेत भलिबलका खेलाडी हुन् । उनी मोडलिङ र फेसनमा पनि खुबै रुचि राख्छन् ।

त्यही खुबीका कारण धिरोजले भर्खर काठमाडौंमा सम्पन्न मिस्टर एन्ड मिस नेपाल ब्युटी पेजेन्ट विधामा सफलता पाएका छन् । वैशाख १९ मा नेपाल प्रज्ञा भवनमा भएको पेजेन्टमा उनले मिस्टर सुप्रानेसनल-२०२४ को उपाधि जितेका थिए ।

धिरोज कुनै मोडलमात्र नभई नेपाली राष्ट्रिय भलिबल टोलीका महत्त्वपूर्ण सदस्य पनि हुन् । ६.२ फिट उचाइका २१ वर्षे धिरोज स्पाइकर भएर भलिबल कोर्टमा उत्रन्छन् ।

चैतमा सम्पन्न राष्ट्रिय एनभिए कप र एनभिए लिग भलिबलमा टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबले उपाधि जित्दा उनको विशेष योगदान रहेको थियो ।  

 खेलबाट जस्तै ब्युटी पेजेन्टबाट पनि नेपालको झन्डा अन्तर्राष्ट्रिय स्तरमा फहराउने सपना धिरोजले बुनेका छन् । मिस्टर सुप्रानेसनल–२०२४ जितेका कारण उनले जुनमा पोल्यान्डमा हुने सुप्रानेसनल अन्तर्राष्ट्रिय पेजेन्टमा नेपालको प्रतिनिधित्व गरेर अवसर पाएका छन् ।

फेसन र भलिबलमा दुवैमा रुचि राख्ने धिरोज दुवै विधातर्फ अब्बल भइरहेको देख्दा आफैं अचम्भित हुन्छन् । अनि मख्ख पनि छन् । केही वर्षअघि कल्पना गरेको कुरामा सफलता पाएकामा दंग छन् ।

सुरुमा भलिबल खेलाडीबाट आफ्नो पहिचान बनाएका धिरोजलाई एकाएक मोडलिङ गर्ने पनि सोख जाग्यो । ‘घरमा बसेर टेलिभिजन हेरिरहेको थिएँ, त्यहाँ झट्ट मोडलिङको एउटा कार्यक्रममा आँखा गयो । त्यसलाई गहिरोसँग हेरें । राम्रो–राम्रो कपडा लगाएर स्टेजमा स्टाइलिस पारामा हिँडेको देख्दा मलाई पनि यस्तै बन्छु भन्ने लागेर आयो,’ उनले स्मरण गरे, ‘तर, यति छिट्टै मोडलिङमा भाग लिएर जितिहाल्छु भन्ने चाहिँ सोचेको थिइनँ ।’

त्यसैले मिस्टर सुप्रानेसनल बन्नु आफ्ना लागि कल्पनाबाहिरको सफलता भएको बताउँछन् उनी ।

अब खेलबाट जस्तै ब्युटी पेजेन्टबाट पनि नेपालको झन्डा अन्तर्राष्ट्रिय स्तरमा फहराउने सपना धिरोजले बुनेका छन् । मिस्टर सुप्रानेसनल–२०२४ जितेका कारण उनले जुनमा पोल्यान्डमा हुने सुप्रानेसनल अन्तर्राष्ट्रिय पेजेन्टमा नेपालको प्रतिनिधित्व गरेर अवसर पाएका छन् ।

‘म देशको झन्डालाई अन्तर्राष्ट्रियस्तरमा फहराउन चाहान्छु । यो मेरो सानैदेखिको सपना पनि हो,’ धिरोजले आफ्नो लक्ष्य सुनाए ।  
मिस्टर सुप्रानेसनल धिरोजको यस क्षेत्रमा जितेको पहिलो सफलता भने होइन । उनले यसअघि नै मिस्टर नेसन नेपाल २०२३ जितिसकेका थिए ।

धिरोजकाजीले १६ वर्षको उमेरसम्म कुनै पनि खेलमा चासो दिएका थिएनन् । चितवन भरतपुर घर भएका उनले कक्षा आठदेखि काठमाडौंमा पढ्न थाले । त्यसपछि उनले भलिबल खेललाई नजिकबाट बुझ्ने मौका पाए ।

खेलाडी र मोडलिङ दुवैमा सफलता पाइरहेका धिरोज भविष्यमा नायक बनेर फिल्म खेल्ने चाहना रहेको सुनाउँछन् । ‘मलाई भलिबलसँगै भविष्यमा फिल्मी क्षेत्रमा काम गर्न मन छ । अभिनेता भएर फिल्म खेल्ने मन छ । यदि भाग्यले साथ दियो र यसरी नै राम्रो काम गर्दै गएँ भने एकदिन यो सपना पूरा गर्ने विश्वास छ,’ उनको अठोट छ ।

भलिबल करियर
धिरोजकाजीले १६ वर्षको उमेरसम्म कुनै पनि खेलमा चासो दिएका थिएनन् । चितवन भरतपुर घर भएका उनले कक्षा आठदेखि काठमाडौंमा पढ्न थाले । त्यसपछि उनले भलिबल खेललाई नजिकबाट बुझ्ने मौका पाए । र, भलिबलमा आकर्षण बढ्दै गयो ।

उनी महाराजगन्ज नजिकै एक होस्टेलमा बस्थे । त्यहाँबाट समय हुनेबित्तिकै पुलिस एकेडेमी पुगेर अभ्यास गर्थे । उनले त्यहीं सिक्दै खेल्दै गरे । उनको खेलबाट प्रशिक्षक महेश चौधरी प्रभावित भए । 

त्यसपछि उनीसँग पुलिसले दुई वर्षको सम्झौता गरेको थियो । उनले पुलिस क्लबबाट आफ्नो पहिलो प्रतियोगिता पोखरामा भएको टाइगर कप २०७७ खेलेका थिए । त्यसमा गण्डकी प्रदेशसँगको एक खेलमा खेल्ने मौका पाए । सानदार प्रदर्शन गरिरहेका थिए । तर, विपक्षीको ब्लक रोक्ने क्रममा उनको खुट्टाको एङ्कलमा चोट लाग्यो । चोटका कारण थप सोचेजस्तो प्रदर्शन हुन सकेन ।

त्यसपछि उनले कपन टिम बूढानीलकण्ठबाट राष्ट्रिय भलिबल कप २०७८ मा सहभागिता जनाए । त्यो प्रतियोगिता नै खेलजीवनको टर्निङ प्वाइन्ट बन्यो । धिरोजले त्यहाँ धेरै खेल्ने मौका पाए र राम्रो प्रदर्शन पनि गरे । प्रतियोगिताको उपाधि जित्न नसके पनि बूढानीलकण्ठबाट उनले व्यक्तिगत प्रदर्शन उच्च राखेर टिमलाई उचाइमा पुर्याए ।  

अनुभवी खेलाडीसँगको साथले धिरोजको आफ्नो प्रदर्शनमा निखारता आयो । त्यसले धेरै कुरा सिक्ने अवसरमात्र होइन, प्रशिक्षक तथा अरू खेलाडीको नजरमा राम्रो छाप छोड्न सफल भए उनी ।

उनको प्रदर्शनबाट राष्ट्रिय भलिबल टिमका मुख्य प्रशिक्षक जगदीश भट्टसमेत प्रभावित भए । त्यसपछि उनलाई बंगलादेशको ढाकामा हुने सेन्ट्रल जोन भलिबलका लागि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाइयो । जहाँ उनी थुप्रै खेलाडीलाई पछि पार्दै शीर्ष १४ मा पर्न त सफल भए । तर, शीर्ष १२ भित्र रहेर राष्ट्रिय टिममा भने छनोट हुन सकेनन् ।

त्यसपछि उनले हेल्प नेपालबाट टाइगर कप २०७८ खेले । पोखरामा बाक्लो संख्यामा दर्शकमाझ उनले विदेशी खेलाडीसम्मिलित टिममा रहेर खेल्ने अवसर पाए । त्यतिबेला उनले भारतीय राष्ट्रिय भलिबल टिमका पूर्वकप्तान विनित कुमार, अमितजस्ता अनुभवी खेलाडीसँग खेल्दै धेरै कुरा सिक्ने मौका पाए ।

राम्रो प्रदर्शन गर्दै फाइनलसम्म पुगेको उनको टिम हेल्प नेपालले विभागीय टिम त्रिभुवन आर्मिसँग पराजित भएर उपाधि गुमाएको थियो । तर, पुरै समय टिमबाट खेल्न पाउँदा धिरोजको प्रदर्शन भने बेजोड भयो ।

अनुभवी खेलाडीसँगको साथले धिरोजको आफ्नो प्रदर्शनमा निखारता आयो । त्यसले धेरै कुरा सिक्ने अवसरमात्र होइन, प्रशिक्षक तथा अरू खेलाडीको नजरमा राम्रो छाप छोड्न सफल भए उनी ।

उनी विभागीय टिम एपीएफ क्लबको नजरमा परे । निरन्तर अभ्यासको अभाव र अन्य कारणले गर्दा उनले हेल्प नेपालसँग सम्झौता थप गरेनन् र एपीएफलाई नै रोजे । टाइगर कपमा गरेको प्रदर्शनपछि एपीएफका प्रशिक्षकले उनलाई अनुबन्ध गर्ने निर्णय गरिहाले । उनले छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल लिग एपीएफबाटै खेले ।

व्यक्तिगत रूपमा एनभिए लिग धीरोजका लागि झनै विशेष बन्न पुग्यो । किनकि उनले प्रतियोगितामा उदीयमान खेलाडीको अवार्ड जिते ।

धिरोजले एपीएफमा राम्रो साझेदारी र एकतावद्ध भएर खेल्ने शैलीका कारण चाँडो प्रभाव जमाए । सिंगल राउन्ड रोबिन लिगका आधारमा भएको लिगमा एपीएफले चौथो स्थान हासिल गरेको थियो ।

व्यक्तिगत रूपमा एनभिए लिग धीरोजका लागि झनै विशेष बन्न पुग्यो । किनकि उनले प्रतियोगितामा उदीयमान खेलाडीको अवार्ड जिते । यो अवार्डले आफ्नो मनोबल अझै उच्च हुनुका साथै केही गर्न सक्छु भन्ने जोस बढाएको उनी सुनाउँछन् ।

‘मैले यो लिग खेल्दै गर्दा व्यक्तिगत अवार्ड जित्छु भन्ने सोचेको थिइनँ । जितें । यसले मलाई अझै धेरै राम्रो गर्न सक्छु भनेर हौसला दिएको छ, मनोबल बढाइदिएको छ,’ धिरोज उत्साही देखिन्छन् ।

यु-२३ टोलीको कप्तानी


छैटौ एनभिए लिगको प्रदर्शनपछि धिरोजले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । त्यसलगत्तै धिरोजले बंगलादेशमा पहिलोपटक भएको बंगबन्धु एसियन यु-२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपमा नेपालको नेतृत्व गर्ने अवसर पाए । त्यसमा तीन टिमसँग ५ खेल खेल्दा नेपाली टोली जितविहीन बनेको थियो ।

नतिजा आफूअनुकूल नआए पनि त्यहाँको प्रदर्शन र नेतृत्व गर्ने क्षमताबाट राष्ट्रिय टोलीमा प्रवेश गर्ने बाटो खुलेको विश्वास राख्छन् धिरोज ।

राष्ट्रिय टिमबाट खेल्ने सपना साकार भएपछि देशको नाम भलिबलबाट अझै धेरै माथि लैजाने लक्ष्यमा छन् उनी । 

‘मैले बंगलादेशमा राम्रो प्रदर्शन गरेकै कारण आज राष्ट्रिय टोलीमा छु । मैले त्यहाँ राम्रो प्रदर्शन गर्न सकेको थिइनँ भने सायदै म छनोट हुँदैनथ्यो होला । त्यहाँ गएर मैले धेरै कुरा सिक्न पाएँ, अनुभव बटुल्ने मौका पाएँ । यो प्रतियोगिता राष्ट्रिय टोलीमा पुग्नका लागि मेरो टर्निङ प्वाइन्ट हो जस्तो लाग्छ,’ उनी भन्छन् ।

राष्ट्रिय टोलीबाट डेब्यू


चीनको हाङचाउमा भएको १९औं एसियाली खेलकुदका लागि नेपाल भलिबल संघले बन्द प्रशिक्षणमा खेलाडी बोलाएको थियो, जसमा धिरोजको नाम पनि समावेश थियो । त्यसपछि धिरोजले सेप्टेम्बर १९ मा बहराइनविरुद्ध खेल्दै राष्ट्रिय टोलीबाट डेब्यू गरे । त्यसपछि उनले इरानविरुद्ध दोस्रो तथा अन्तिम खेल खेले । जितविहीन नेपालले दुई खेल्दै एसियाड यात्रामा पूर्णविराम लगाएको थियो ।

सन् २०२३ मै नेपालले श्रीलंकामा भएको काभा भलिबलमा सहभागिता जनाउँदा धिरोज पनि टोलीमा थिए । यस प्रतियोगितामा आयोजक श्रीलंका, अफगानिस्तान, साउदी अरेबिया, बंगलादेश र उज्वेकिस्तानको सहभागिता रहेको थियो ।

राष्ट्रिय टिमबाट खेल्ने सपना साकार भएपछि देशको नाम भलिबलबाट अझै धेरै माथि लैजाने लक्ष्यमा छन् उनी । उनको अठोट छ, ‘म नेपालको जर्सी लगाएर खेल्ने सपना देख्थें, आज आएर पूरा भएको छ । अब देशलाई भलिबलमा अझै धेरै माथि लैजाने सपना छ । पदक जित्ने सपना छ । त्यो पनि पूरा गर्नेछु ।’