फाल्गुन १३, २०८२ बुधबार | १०:३०:५९
नेपाल र हङकङबीचको खेल दशरथ रंगशालामा जय ट्रफीको दोस्रो राउण्ड समाप्त पाकिस्तानलाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा एट्लेटिको च्याम्पियन्स लिगको अन्तिम १६ मा केभीकेएसएस र तेजस्वी सेमिफाइनलमा बुदोकैदो टोली रुस जाने फ्रेन्ड्स र चित्लाङले अंक बाँडे बागमती र आर्मी फेरी बराबरी रोकिए एन्फा महिला लिग चैत ४ बाट विभिन्न संघ-संस्थाहरु सावित्राको उपचार निःशुल्क गरिदिन तयार नेपाल र हङकङबीचको खेल दशरथ रंगशालामा जय ट्रफीको दोस्रो राउण्ड समाप्त पाकिस्तानलाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा एट्लेटिको च्याम्पियन्स लिगको अन्तिम १६ मा केभीकेएसएस र तेजस्वी सेमिफाइनलमा बुदोकैदो टोली रुस जाने फ्रेन्ड्स र चित्लाङले अंक बाँडे बागमती र आर्मी फेरी बराबरी रोकिए एन्फा महिला लिग चैत ४ बाट विभिन्न संघ-संस्थाहरु सावित्राको उपचार निःशुल्क गरिदिन तयार

हुन्छ त टोकियो ओलम्पिक ?

 टोकियोबाट फर्केपछि दुर्गानाथ सुवेदी:-

विश्व खेलकुदको कुम्भमेलाका लागि जापान उड्ने अघिल्लो दिनसम्म पनि एउटा प्रश्नको लगातार सामना गरिरहनुपर्‍यो, ‘हैन, हुन्छ त टोकियो ओलम्पिक ?’

कोभिड–१९ महामारीका कारण गत वर्ष नै हुनुपर्ने ओलम्पिक स्थगित गरेर यसपालिका लागि मिति तोकिएको थियो । तर महामारीको अवस्था अझै नियन्त्रणमा आइसकेको थिएन । आयोजक राष्ट्र जापानमा त महामारी नियन्त्रणका लागि दैनिक जनजीवनमै धेरै प्रतिबन्धात्मक व्यवस्थाहरू लागू गरिएको थियो । 

त्यसैले ‘हुन्छ त टोकियो ओलम्पिक २०२० ?’ भन्ने प्रश्न अत्यन्तै स्वाभाविक र जायज थियो । खेलकुदका सरोकारवालामात्र होइन, आम मानिसलाई पनि टोकियो ओलम्पिक हुनेमा स्वाभाविक दुविधा थियो । जापान उड्नुअघि मैले पनि पाइला–पाइलामा सामना गरिरहेको त्यो प्रश्न त्यही दुविधाको उपज थियो ।

आम मानिसमा दुविधा भए पनि व्यक्तिगत रूपमा म चाहि“ ३२ औं गृष्मकालीन ओलम्पिक जापानमा यसपल्ट तोकिएकै मितिमा हुनेमा विश्वस्त थिए“ । मेरो विश्वासको कारण थियो, म आफू काम गर्ने प्रशारण संस्था, जो टोकियो ओलम्पिकको नेपालमा आधिकारिक प्रशारण अधिकार खरिदकर्ता थियो । प्रशारण अधिकारवापतको पहिलो किस्ता भुक्तानी गर्न ताकेता भइरहेको मलाई थाहा थियो ।

विश्वास जति भए पनि मन न हो । मनमा केही संशय भने पक्कै थियो । दर्ता भएका ‘एक्रिडेटेड’ विदेशी सञ्चारकर्र्मीलाई तोकिएको होटलमा बस्नैपर्ने बाध्यताबीच सबैभन्दा कम मूल्यको होटल खोज्दाखोज्दै जाने अघिल्लो दिनमात्रै वासस्थानको टुङ्गो लागेको थियो । करिब २५ दिनको टोकियो बसाइ र ओलम्पिक रिपोर्टिङ गरी स्वदेश फर्किएपछि भन्न मनलाग्छ ‘जापान थियो र त ३२ औं गृष्मकालीन ओलम्पिक भयो ।’  

एकहप्ते परीक्षण 

जाने टुङ्गो त लाग्यो । तर त्यसको अन्तिम निर्णय जाने अघिल्लो दिन गरेको पीसीआर परीक्षणको नतिजामा भर पर्नुपर्ने थियो । जापानले कोभिड–१९ महामारीलाई नियन्त्रण गर्न जारी गरेको भ्रमण निर्देशिकामा नेपाल रेड जोनको पहिलो दर्जामा उक्लिएपछि जाने सबैसँग लगातार सात दिन तोकिएको स्वास्थ्य संस्थाबाट कोरोना नेगेटिभ नतिजाको प्रमाणपत्र लिनु अनिवार्य थियो ।  

जाने प्रक्रिया सुरु गर्दा दुई दिनको नेगेटिभ प्रमाणपत्र भए हुने स्थिति थियो । तर कोभिड–१९ संक्रमणको दोस्रो लहरले आक्रान्त नेपाल जाने बेलासम्म रेड जोनको माथिल्लो तहमा सूचीबद्ध भइसकेको थियो । जसका कारण हामी सबैको जाने, नजाने निर्णय पीसीआर रिपोर्टले गर्ने भयो । टोकियोका लागि उड्ने अघिल्लो दिन रातिसम्म पनि कसैको यात्रा सुनिश्चित थिएन ।

मोबाइल भरियो एप्लिकेसनले 

टोकियो ओलम्पिकका यात्रीको तयारी जाने १४ दिनअघिदेखि सुरु हुन्थ्यो । त्यसको तयारीस्वरूप यात्रीलाई आवश्यक ज्ञान दिन भ्रमण दलका चिकित्सक डा. नावेशमान प्रधान र नेपाल ओलम्पिक कमिटीका सुजनलाल श्रेष्ठले हामी सबैलाई चार थान मोबाइल एप्लिकेसन डाउनलोड गराए ।  

यात्रीमध्ये केहीको त मोबाइलले नै काम गरेन । टोली नेता सेभ दी मिसन रमेशकुमार सिलवालकै चलेन भने अन्य केही साथीको मोबाइलले पनि ती एप्लिकेसन सपोर्ट गरेन । 

अर्को प्रसंग जोडी हालौं, ओलम्पिकको समाचार संकलन गर्नेहरूका लागि मुख्य कार्यस्थल मेन प्रेस सेन्टर (एमपीसी) मा उच्च प्रविधिजडित तीव्र गतिको इन्टरनेट सेवा प्रदान गरिएको थियो । इन्टरनेट प्रयोग गर्नेलाई सोहीअनुरुप सेवा अनि वाईफाई पनि तीव्र गतिकै । मेरो करिब चार वर्ष पुरानो एन्ड्रोइड फोनले मरिगए टिपेन वाईफाई । दुई दिनको असफल प्रयासपछि हेल्प डेस्कमा गुहार माग्न गएको त ‘सर योर फोन डजनट सपोर्ट फाइभजी’ भन्ने जवाफ पाइयो ।   

लासा जानु, कुतीको बाटो 

यात्रा हाम्रो सुदूरपूर्वमा पर्ने जापानको राजधानी टोकियोको थियो, तर टिकट छ नेपालबाट पश्चिम पर्ने कतारको दोहा हुँदै । अरू देशले आफ्ना खेलाडीलाई राष्ट्रिय ध्वजाबाहक विमानमा चार्टर गरी पठाए । नेपाली खेलाडी दोहामा १६ घण्टे ट्रान्जिटमा अनिदो रहिसकेपछि अर्को ११ घण्टा उडेर थकित हुँदै टोकियो पुगे । 

यो मैले पनि भोगेकाले खेलाडीको नाममा उठाउन खोजेको विवाद नभई एक सौहार्द प्रश्नको रूपमा बुझिदिनुहोला । देशका राष्ट्रपतिदेखि रैतीसम्म ओलम्पिकमा सहभागी भएको आलै इतिहास भेटिन्छ । तर किन अरू बेलाभन्दा तीन गुणा बढी भाडा, त्यो पनि राज्यकोषबाट तिरेर जान बाध्य भए खेलाडी अनि परम्परागत रूपमा चार गुणा बढी पदाधिकारी ।  

देशको गौरवसँग जोडिन्छ ओलम्पिक सहभागिता । तर आफ्नो राष्ट्रिय ध्वजाबाहक थला परेर जान नसक्ने अनि मनपरी भाडा असुल्ने विदेशी एयरलाइन्सकै बोलवाला ? किन हुन्छ यस्तो ? यो मेरो नम्र जिज्ञासा मात्र हो । 

फोटो खिच्न सकस 

उद्घाटन समारोह हेर्न करिब तीन घण्टाअघि सञ्चारकर्मीलाई टोकियोको शिन्जुकुस्थित ओलम्पिक रंगशाला लगिएको थियो । 

प्राविधिक रूपमा उत्कृष्ट उद्घाटन समारोहभर आफ्नो ध्यान भने नेपालको झन्डा कति बेला मार्चपासमा आउँछ भन्नेमा बढी केन्द्रित थियो । रिपोर्टरको सूचीमा दर्ता भए पनि एसएलआर क्यामेरा र टेली लेन्स बोकेको थिएँ । 

हामीलाई निर्धारित गरिएको बस्ने स्थानमा क्यामेरा अनि लेन्स देख्ने बित्तिकै द्वारपाल सरी यत्रतत्र छरिएका ओलम्पिक स्वयंसेवकले कर्के नजर लगाइहाल्थे । थाहा नभएको त हैन तर पनि मैले बेलाबेलामा क्यामेरा तेर्साइरहेँ । तर क्यामेरा तेर्साउनेवित्तिकै पछाडिबाट मधुरो आवाज आइहाल्थ्यो ‘नो फोटो सर’ ।

के आपत् आइलाग्यो अब । मार्चपासको झन्डावाला फोटो खिचेर नेपाल पठाउन पाए सबै साथीहरूले आफूले खिचेको फोटो टिभी, अनलाइन, पत्रिकामा मुख्य बनाउँथे भन्ने लोभ मनमा लागिरहेको छ । 

तर दुर्भाग्य मार्चपास गर्ने टोली हामी बसेको ठाउँभन्दा ठ्याक्कै फरक दिशाबाट जाने रहेछ । अटेर गरेरै भए पनि १–२ फोटो त खिचिन्थ्यो, तर कता खिच्ने खोइ ? फोटोग्राफीको भाषामा साइड एंगल र प्रोफाइल शट जस्तो । फेरि नेपालको पालो कतिबेला आउने हो पनि अनुमानै सकिएन ।  जापानी लिपिअनुसार मार्चपास हुने त पढेको थिएँ, तर आफूलाई उनीहरूको लिपि कहाँ आउँथ्यो र ।  

मनमा यस्तै कुरा खेल्दाखेल्दै अचानकै नेपालको झन्डा देखियो । मैले हतार हतार क्यामेरा निकालेर, दुई/चारवटा फोटो खिचिहालेँ, तर रूप न रंगका । के मुख देखाउने साथीभाइलाई । यसैबीच ठूलो डिजिटल स्क्रिनमा फ्रन्ट एंगलबाट ढाका पारीको साडीमा झन्डावाहक गौरिका सिंह र दौरासुरुवालमा सजिएका एलेक्स शाहको नेतृत्वमा नेपाली टोली देखें । यसैले काम चलाएँ मैले । साथीहरूले यता त्यसलाई राम्रै स्थान दिनुभएछ । आभारी छु । फोटोपत्रकार बनिटोपल्ने मेरो लोभ पूरा भयो । 

लगभग सबै खेलस्थलमा त्यही कथा दोहोरियो । पौडीमा त साथी राजु घिसिङले द्वारपाल भएर स्वयंसेवकलाई गफमा भुलाउने अनि मैले फटाफट दुई÷चार क्लिक हानिहाल्ने पनि गरियो ।

महामहिमको अन्तर्वार्ता  

जापान सरकारको नियमअनुसार विदेशी नागरिक १४ दिनसम्म क्वारेन्टाइन पूरा गरेपछि सार्वजनिक सवारी प्रयोग र अन्य बाहिरी सामान्य जीवनयापनका लागि निस्किन मिल्ने थियो । 

यसैबीच जापानका लागि महामहिम नेपाली राजदूत प्रतिभा राणाले ओलम्पिकमा सहभागी नेपाली पदाधिकारीसँग भेटघाट गर्ने इच्छा गर्नुभएको सन्देश प्राप्त भयो । महामहिमको विशेष अनुरोधमा सहभागी पत्रकारसँग भेटघाट अनि अन्तर्वार्ताको कार्यक्रम थियो । तर यसमा मैले एउटा सर्त राखें, नेपाली खाना खुवाउनुपर्ने । त्यो सर्त तत्काल मञ्जुर भयो ।

भेटको सहजीकरण गरेका थिए, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घलेले । घले नेपालमा हुँदा नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष थिए । संस्थापक अध्यक्षका रूपमा उनले कास्की र समग्र तत्कालीन पश्चिमाञ्चल हालको गण्डकी प्रदेशमा खेलकुद पत्रकारिताको राजमार्ग फराकिलो पार्न निकै योगदान गरेका थिए । त्यतिबेला पनि घलेसँग नेपाली खेलकुद र पत्रकारिताकाबारे धेरै छलफल हुन्थे । पत्रकारितामार्फत नेपाली खेलकुदलाई कसरी माथि उठाउन सकिन्छ भन्नेमा उनीसँग गरेका लामा छलफल अहिले पनि ताजै छन् । 

तर, अहिले फरक परिस्थितिमा भेट हुने सुखद संयोग जुरेको थियो । अहिले उनी जापानमा बस्ने सम्पूर्ण नेपाली पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघ जापानको नेतृत्वमा छन् । म पनि सम्पूर्ण नेपाली खेल पत्रकारको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चको अध्यक्षका हैसियतमा जापान पुगेको थिएँ । अनि कुनै बेला नेपाललाई ठूला अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पदक जित्न कसरी सक्षम बनाउने भनेर घण्टौं घोरिने हामी (घले र म) विश्व खेलकुदकै सबैभन्दा ठूलो मेलामा उपस्थित थियौं, नेपालको निरीह सहभागिताको साक्षी बन्नका लागि ।

दूतावासले नै पठाएको गाडीमा घलेको नेतृत्वमा हामी महामहिम निवास पुग्दा अरू कोही आएका थिएनन् । मैले पनि सुरुमै अन्तर्वार्ता गरौं भनेर क्यामेरा खोलें । करिब आधा घण्टा महामहिमसँग भलाकुसारी गरियो । यता नेपाल ओलम्पिक कमिटी अध्यक्ष जीवनराम श्रेष्ठलगायतको टोलीले अन्तर्वार्ता चलेका कारण करिब आधा घण्टा ढोकाबाहिर पर्खिनुपरेछ ।  

अन्तर्वार्ता सकियो । सबै नेपाली प्रतिनिधिमण्डल पनि आइपुगेछ । त्यसपछि महामहिम आफैंले बनाएको नेपाली स्वादको परिकार हामीले जिब्रो फड्कार्दै खायौं । धेरै दिनपछि नेपाली स्वाद फर्कियो मुखमा । मेरो मुख मीठो भए पनि अन्तर्वार्ताका कारण बाहिर कुर्नुपरेका अरूलाई भने त्यो खानाको त्यति स्वाद परेन जस्तो लाग्यो मलाई ।

चुरोट खाने लाइन 

फेरि दोहोर्‍याउन मन लाग्यो । जापान थियो र त ३२ औं गृष्मकालीन ओलम्पिक भयो । कोभिड कहरबीच विश्वभरका ३० औं हजार खेलाडी, पदाधिकारी अनि सञ्चारकर्मीलाई आतिथ्यता प्रदान गर्नु निकै चुनौतीपूर्ण थियो । त्यो पनि देशभित्र विरोध सामना गरेर स्वास्थ्य सुरक्षाको हिसावले सुरक्षित पक्कै थिएन । 

तर त्यस्तो ठूलो आपत् आएन । किनकि जापानी शैलीको धैर्य अनि नियम पालन सबैबाट अपेक्षित थियो । जापानी नागरिकले त गर्ने नै भए सबै विदेशी पाहुनाले पनि त्यसको अनुकरण गरेको देखियो । यतिसम्म कि एमपीसीमा रहेको एकमात्र ‘आउटडोर स्मोकिङ जोन’ अर्थात धुम्रपान क्षेत्रको क्षमता ६ जना रहेछ । खाना खाने समयआसपास झन्डै आधा घण्टासम्म टन्टलापुर घाममा एक खिल्ली चुरोट खाने पालो कुरेर लाइन बसेको लगभग हरेक दिन देख्न पाइयो । 

प्रसंग चुरोटको भए पनि हरेक काम र क्षेत्रमा त्यत्तिकै स–सानो कुरालाई ध्यान दिइएको थियो । हजारौं मान्छेको सहभागितामा पनि कसैले कसैको पालो मिचेको देखिएन । स्वास्थ सतर्कता अनि सावधानी सबैले अक्षरशः पालना गर्न गरे । 

अनि सफलतापूर्वक सम्पन्न भयो टोकियो ओलम्पिक । 

(लेखक नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष हुन्) 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||