काठमाडौं । लिक्टेनस्टाइनविरुद्ध ७-० को एकतर्फी जित निकाल्दै बेल्जियमले आगामी वर्ष हुने फिफा विश्वकपमा स्थान बनाएको छ ।
जितसँगै बेल्जियम आठ खेलमा १८ अंकका साथ समूह ‘जे’ को शीर्ष स्थानमा रह्यो ।
मंगलबार मौरिस डुफ्रास्ने रंगशालामा घरेलु टोली बेल्जियमलाई जित दिलाउन जेरिमी डोकु र चार्ल्स डी केटेलेरले समान दुई तथा हान्स वानाकेन, ब्रान्डन मिचेल र एलेक्सिस सेलेमेकरले समान एक गोल गरे ।
यसैगरी स्पेन, स्विट्जरल्यान्ड, अस्ट्रिया र स्कटल्यान्डले पनि फिफा विश्वकपको यात्रा तय गरेका छन् ।
यससँगै विश्वकपमा स्थान बनाउने ३९ टोलीको टुंगोल लागेको छ । अब बाँकी ९ स्थानको टुंगो प्लेअफबाट लाग्ने छ ।
यसअघि युरोपबाट इङ्ल्यान्ड ,फ्रान्स, कोएसिया, पोर्चुगल, नर्वे, जर्मनी र नेदरल्यान्ड्स , अफ्रिकाबाट मोरक्को, ट्युनिसिया, इजिप्ट, अल्जेरिया, घाना, आइभोरी कोस्ट, केप भर्डे र सेनेगल, एसियाबाट अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, जोर्डन, उज्वेकिस्तान, कतार, साउदी अरेबिया र इरान, दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, इक्वेडर, उरुग्वे र पाराग्वे तथा ओसियन प्यासिफिकबाट न्युजिल्यान्डले छनोट चारण पार गरेर विश्वकपमा स्थान पक्का गरिसकेका छन् । यस्तै अमेरिका, क्यानाडा र मेक्सिकोले आयोजकका रूपमा सिधै विश्वकप खेल्दैछन् ।
४८ टोलीको सहभागिता रहने फिफा विश्वकप आगामी जुन ११ देखि जुलाई १९ सम्म हुँदैछ ।
