काठमाडौं । आसन्न नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ मा यदी कुनै टिम सबभन्दा धेरै दबाबमा छ भने त्यो हो, सुदूरपश्चिम रोयल्स ।
अघिल्लो सिजन सानदार प्रदर्शनका साथ फाइनल पुगे पनि सुदूरपश्चिमले उपाधि भिडन्तमा कल्पनासम्म नगरेको हार भोग्नुपरेको थियो । समूह चरण र प्लेअफमा आफैले हराएको जनकपुर बोल्टसले फाइनलमा ५ विकेटले सुदूरपश्चिमको हुर्मत लिएको थियो ।
जनकपुरमाथि समूह चरणमा ७२ रन तथा प्लेअफमा सुदूपश्चिमले ८ विकेटको जित हासिल गरेको थियो । गतवर्ष एनपिएलको पहिलो सिजनमा ९ खेल खेल्दा सुदूरपश्चिमले दुई हारमात्र भोगेको थियो । फाइनलमा जनकपुरबाहेक समूह चरणमा चितवन राइनोजसँग भोगेको ३३ रनको हार मात्र पहिलो सिजनमा सुदूरपश्चिमको असफल पक्ष थिए ।
अघिल्लो सिजनमा सनसनीपूर्ण प्रदर्शन हुनाका बावजुद जित्न नसकेको उपाधि यसपाली जसरी पनि उचाल्नुपर्ने दबाब साविक उपविजेता टोलीसँग हुनेछ । किनकी सोमबार उद्घाटन खेलमा काठमाडौं गोर्खाजसँग पराजित भएपछि साविक विजेता जनकपुरका कप्तान अनिल शाहले ‘हामीले त एकपटक जितिसकेका छौं । दबाबमा त अरु टिम पो हुन्छन्’ भनेजस्तो सुविधा सुदूरपश्चिमसँग हुने छैन ।
सुदूरपश्चिमले भोग्नुपर्ने अर्को दबाब भनेको प्रदेशको चर्को क्रिकेट लोकप्रियता पनि हो । सुदूरपश्चिममा क्रिकेट निक्कै लोकप्रिय छ । त्यसको झलक टोलीका प्रत्येक खेलमा कीर्तिपुरमा गत सिजन देखिएको थियो । सुदूरपश्चिममा क्रिकेटको थेगिनसक्नु क्रेज छ । अनि टोलीका समर्थक सुदूरपश्चिम रोयल्सले हारेको हेर्न सक्दैनन् । गत सिजन जनकपुरका समर्थकमाथि सुदूरपश्चिमका समर्थकले गरेको दुर्व्यवहारले त्यसै भनिरहेको थियो ।

मैदानभित्र भने निक्कै अनुशासित टिमको छवि बनाएको सुदूरपश्चिमले बुधबार एनपिएल सिजन २ को यात्रा थाल्दैछ । जित्नैपर्ने दबाबका बीच यात्रा थाल्दा सुदूरपश्चिमको बाटोमा पहिलो तगारोको रुपमा स्थानीय टोली काठमाडौं गोर्खाज हुनेछ । जसले पहिलो खेलमै साविक विजेतालाई हराइसकेको छ । जुन नतिजा सुदूरका लागि अर्को टाउको दुखाईको विषय बन्न सक्छ ।
अघिल्लो सिजन सुदूरपश्चिमले काठमाडौंमाथि ७३ रनको फराकिलो अन्तरमा जित हासिल गरेको थियो ।
काठमाडौंविरुद्धको त्यो रवाफ कायम राख्नुपर्ने अर्को दबाब पनि बुधबार सुदूरपश्चिमले सामना गर्नुपर्नेछ । पहिलो खेलमा जित हासिल गरिसकेको काठमाडौंले भने सुदूरविरुद्ध नतिजा सुधार्ने लक्ष्यका साथ खेल्दा थोरै भए पनि कम दबाबमा खेल्न पाउनेछ ।
गतवर्ष ६ विकेटको क्षतिमा १६७ रन बनाएको सुदूरले जवाफी ब्याटिङमा आएको काठमाडौंलाई १५.४ ओभरमै ९४ रनमा रोकेर निरिह सावित गरिदिएको थियो ।
तर एक वर्षमा नेपाली क्रिकेटमा धेरैथोक बदलिएको छ । अघिल्लो सिजनको तुलनामा टिमहरुको स्वरुप पनि धेरै बदलिएका छन् ।
विश्व क्रिकेटका नाम चलेका खेलाडी नभएपनि काठमाडौंमा विदेशी र स्वदेशी खेलाडीको तालमेल राम्रो देखिन्छ । जुन जनकपुरविरुद्धको खेलमा देखियो ।

त्योभन्दा बढि कुनै समय नेपाललाई लगातार १२ मा ११ खेल जिताएर तहल्का मच्चाएका राष्ट्रिय टिमका पूर्व प्रशिक्षक भारतका मोन्टी देसाई यसपाली काठमाडौंको भरोसाका आधार हुन् । नेपाली खेलाडी र नेपालको मैदानबारे निक्कै जानकार भएकाले मोन्टीको रणनीतिले विपक्षीलाई मज्जासँग घुमाउने अनुमान छ ।
मुख्य प्रशिक्षकमा जगत टमाटाकै निरन्तरता तथा अधिकांश पुरानै टिममाथि विश्वास गरेको सुदूरपश्चिमको टोलीमा अस्ट्रेलियन ब्याटर क्रिस लिन सबैभन्दा ठूलो नाम हुन् । लिनबाहेक भारतीय मूलका अमेरिकी क्रिकेटर हर्मित सिंह, न्युजिल्यान्डका बलिङ अलराउन्डर स्कट कुगुलेइनलाई टोलीले अनुबन्ध गरेको छ । हर्मित र कुगुलेइनले पहिलो सिजन पनि सुदूरबाटै खेलका थिए ।
बुधबार काठमाडौं र सुदूरपश्चिमबीचको खेल दिउँसो ४ बजे सुरु हुनेछ ।
