काठमाडौं । राजनीतिमा जब नेतृत्व असफल हुन्छ, उसका गतिविधिहरू अस्वीकार्य बन्न थाल्छन् र आलोचनाका स्वरहरू सर्वत्र गुञ्जायमान हुन्छन् । त्यसपछि खराब राजनीतिज्ञहरूले आफ्नो सत्ता लम्ब्याउन विषयान्तरको रणनीति अवलम्बन गर्न थाल्छन् ।
राष्ट्रिय राजनीतिमा विषयान्तरको अभ्यास यति नियमित कृयाकलाप भइसक्यो कि गर्नेमात्र होइन, हुनेहरू पनि यसमा अभ्यस्त भइसके । एउटा ठूलो मुद्दा चर्किइरहेका बेला र त्यसले आफ्नो सत्ता हल्लाइरहेका बेला आम मानिसको ध्यान अन्यत्र मोड्न कृत्रिम रूपमा अर्को मुद्दा प्रायोजित तबरले उठाउने वा कुनै अर्को ठूलै घटना गराउने यस्ता विषयान्तरको अस्त्र अब राजनीतिमात्र नभई नेपाली खेलकुदमा पनि सामान्य हुन थालिसकेको छ ।
नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) देशभित्र खेलकुदमा विषयान्तरको मामिलामा सबैभन्दा अगाडि छ । खासमा विषयान्तर जसले गर्छ, उसले गर्नुपर्ने काम गरिरहेको हुँदैन । पछिल्ला वर्षहरूमा एन्फा पनि आफूले गर्नैपर्ने काम नगरेवापत विषयान्तरका लागि बाध्य भइरहेको छ या विषयान्तर नै रोजाइ बनिरहेको छ ।
एन्फाले यसै साता घोषणा गरेको राष्ट्रिय लिग समर्थक र आलोचकहरूको ध्यान मोड्न विषयान्तर गरिएको पछिल्लो उदाहरण हो । पछिल्लो ६ महिनाको एन्फाका गतिविधि नियाल्ने हो भने ठोकुवासाथ भन्न सकिन्छ, राष्ट्रिय लिगको यो घोषणा साँच्चिकै मैदानमा फुटबल गर्न भएकै होइन । यो पनि विगतजस्तै आलोचनाबाट घेरिँदा मानिसको ध्यान मोड्न गरिएको विषयान्तरमात्र हो ।
केही साताअघि मात्र एन्फाले हठात रूपमा सहिद स्मारक ‘ए’ डिभिजन लिग होम एन्ड अवे पद्दतिअनुसार पुसमा गर्ने भनेर एकतर्फी घोषणा गरेको थियो ।
यति ठोकुवाका साथ भन्न सकिन्छ कि एन्फाले यस्तो घोषणा गर्नुअघि राष्ट्रिय लिगलाई चाहिने कुनै गृहकार्य गरेको देखिन्न । राष्ट्रिय लिग खेल्नुपर्ने मोफसलका चार क्लब छान्ने प्रेसिडेन्ट्स कप पनि अहिलेसम्म हुन सकेको छैन । सहिद स्मारक लिगका शीर्ष ६ क्लब जसले राष्ट्रिय लिगमा सहभागिता जनाउँछन्, उनीहरूसँग पनि छलफल भएको देखिँदैन । मंगलबार एन्फाले गरेको पत्रकार सम्मेलनमा महासचिव किरण राई र सिइओ इन्द्रमान तुलाधरका परस्पर बाझिने भनाइहरूले त्यही बताइरहेको थियो ।

केही साताअघि मात्र एन्फाले हठात रूपमा सहिद स्मारक ‘ए’ डिभिजन लिग होम एन्ड अवे पद्दतिअनुसार पुसमा गर्ने भनेर एकतर्फी घोषणा गरेको थियो । प्रस्तावित मैदानका रूपमा १४ जिल्लाका १७ मैदान क्लबलाई भाग लगाउने योजना अघि सारेको थियो । जसको सर्वत्र आलोचना भयो । किनकि एन्फाले त्यो घोषणा पनि विना गृहकार्य गरेको थियो । एन्फाले निर्माणाधीन रंगशालालाई समेत प्रस्तावित मैदानका रूपमा प्रस्तुत गरेबाट उसको गृहकार्य छर्लङ्ग भएको थियो ।
तीन वर्षदेखि लिगको साइकलसमेत पूरा गर्न नसकेको आलोचनाबाट मानिसको ध्यान मोड्न एन्फालाई एउटा फण्डा आवश्यक थियो । त्यही फण्डाको रूपमा नेपाली फुटबल इतिहासमै पहिलो पटक होम एन्ड अवे पद्दतिमा लिग गर्ने घोषणा गरियो । तर, यति ठूलो घोषणा यति हचुवा पारामा गरिएको थियो कि सहभागी क्लबसँग त्यस विषयमा कुनै छलफल भएको थिएन । एउटा भएको रंगशाला स्याहार्न नसकेर वर्षौदेखि राष्ट्रिय टिमको होम खेलसमेत विपक्षीको मैदानमा खेलाइरहेको एन्फाले होम एन्ड अवे लिगका लागि प्रस्ताव गरेका कुनै पनि रंगशालाको अद्यावधिक अवस्था ऊसँग छैन । होम एन्ड अवेको फण्डा लिग गर्न नभई विवाद सिर्जना गराएर अन्यत्र मोडिनका लागि थियो भनेर एन्फालाई पहिल्यै थाहा थियो । गर्नै नपर्ने कामका लागि गृहकार्यको झन्झट किन बेहोर्नु ?
एन्फाले साधारणसभामा वार्षिक कार्यक्रम प्रस्तुत गर्दा पनि कुनै गृहकार्य नगरेको प्रस्ट देखिन्थ्यो । बितिसकेको समयमा नभएका प्रतियोगितालाई पनि आगामी कार्यक्रमका रूपमा प्रस्तुत गरिएको थियो ।
वर्षको सुरुमा एन्फाले धुलिखेलमा बडो तामझामका साथ साधारणसभा सम्पन्न गर्यो । एन्फामाथि कुशासन र भ्रष्टाचारको आरोप थियो । एएफसीका पूर्व अध्यक्ष मोहम्मद बिन हमामसँग पैसा लिएको अभियोगमा पूर्वअध्यक्ष गणेश थापाले फिफाबाट भोगेको १० वर्षे प्रतिबन्धको अवधि भर्खर सकिएको थियो । वर्तमान नेतृत्वविरुद्ध आक्रामक रूपमा प्रस्तुत भइरहेका थापालाई साधारणसभामा भाग लिन नदिन गरिएको प्रयासविरूद्ध अदालतले आदेश जारी गरेको थियो । त्यसका बावजुद थापालाई रोक्नु थियो । त्यसपछि हुन सक्ने आलोचनाको पूर्वानुमान गरेरै होला त्यतिबेला पनि विषयान्तरका लागि एन्फाले महत्त्वाकांक्षी क्यालेन्डर सार्वजनिक गरेको थियो ।
एन्फाले साधारणसभामा वार्षिक कार्यक्रम प्रस्तुत गर्दा पनि कुनै गृहकार्य नगरेको प्रस्ट देखिन्थ्यो । बितिसकेको समयमा नभएका प्रतियोगितालाई पनि आगामी कार्यक्रमका रूपमा प्रस्तुत गरिएको थियो । वैशाख २६ गते साधारणसभामा प्रस्तुत गरिएको वार्षिक क्यालेन्डरमा वैशाख २९ देखि जेठ ३ सम्म ए डिभिजन क्लबहरूबीच एन्फा कप लिगकम नकआउट प्रतियोगिता हुने उल्लेख थियो । जबकि अहिलेसम्म पनि त्यो प्रतियोगिता भएको छैन ।
जेठ ५ देखि २४ गतेसम्म प्रेसिडेन्ट्स कप गर्ने भनिएको थियो । त्यो पनि भएन । एन्फा कप र प्रेसिडेन्ट्स कपमात्र होइन, क्यालेन्डरमा भएका अधिकांश कार्यक्रम समयमा भएनन् या गर्नु जरुरी ठानिएन । किनकि ती कुनै पनि कार्यक्रम गर्न क्यालेन्डरमा समावेश गरिएको थिएन । ती सब फण्डाका लागि मात्र थिए । विषयान्तरका लागि थिए । गर्नकै लागि क्यालेन्डर बनाइएको थियो भने समयमै सबै कार्यक्रम हुन्थे । नभएका कार्यक्रम ‘यसकारण समयमा हुन सकेन, अब यो समयमा यसरी गरिन्छ’ भनेर एन्फाले स्पष्टीकरण दिन सक्थ्यो, जवाफदेहिताको नमुना पेस गर्थ्यो ।
वर्तमान नेतृत्वको विपक्षमा दरिलोसँग उभिएका पूर्वअध्यक्ष गणेश थापालाई सम्बोधन गर्दै भन्छन्, ‘तिमीले चाहिँ के गरेका थियौं र ?

तर बेथिति, विसंगति, भ्रष्टाचार र कुशासनको दलदलमा नराम्ररी जाकिएको एन्फाबाट जवाफदेहिता असम्भव हुँदै गएको छ । एन्फाको प्रशासनिक प्रमुखको जिम्मेवारीमा रहेका महासचिव किरण राईले लिगलाई विषयान्तर गर्न राष्ट्रिय लिगको घोषणा गर्दा आफ्नो कामलाई १० पूर्णांकमा पूरा १० नम्बर नै दिएका छन् । एन्फाका केही केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्षहरू छन्, जसले पूरा देशभर फुटबलमात्र भएको देख्छन् । नेपाली फुटबल अहिले इतिहासमै कहिल्यै नभएको स्वर्णकालमा चलिरहेको डिङ हाँक्छन् । अनि आफ्ना तमाम नालायकी छोप्न अघिल्ला नेतृत्वलाई सत्तोसराप गर्न पछि पर्दैनन ।
वर्तमान नेतृत्वको विपक्षमा दरिलोसँग उभिएका पूर्वअध्यक्ष गणेश थापालाई सम्बोधन गर्दै भन्छन्, ‘तिमीले चाहिँ के गरेका थियौं र ? हमामसँग पैसा लिएका कारण फिफाले तिमीलाई भ्रष्टाचार अभियोगमा १० वर्ष प्रतिबन्ध लगाएको होइन ?’
उनीहरूको शैली र आशय लाग्छ, ‘तिमीले पनि गल्ती गरेका थियौं । हामीले चाहिँ नपाउने ? तिमीले खायौं, हामीले खान नपाउने ?’
उनीहरू नेपालमा फुटबल भएन, लिग भएन, राष्ट्रिय टिमले होम म्याच पनि विपक्षीको मैदानमा गएर खेल्नुपर्ने दयनीय अवस्थाको अन्त्य हुनुपर्छ भनेर आवाज उठाउने हरेक फुटबलप्रेमीमा गणेश थापा र कर्माछिरिङ शेर्पाहरू देख्छन् । यी जुकाहरुलाई कुनै पनि मान्छेको स्वतन्त्र अस्तित्वमा विश्वास नै छैन । उनीहरु बाँकी दुनियालाई पनि आफूजस्तै अरु कसैको दासमात्र देख्छन् । जताततै षडयन्त्रमात्र देख्ने उनीहरू अनि फेसबुकका निर्जीव भित्ताले पनि सकस मान्ने गरी सत्तोसरापमा उत्रन्छन् । जुन हेर्दा लाग्छ, नेपाली फुटबल उनीहरूको पेवा हो । तीन वर्षअघिको साधारणसभामा जितेको निर्वाचनले फुटबलको सबैखाले स्वामित्व उनीहरूको नाममा गरिदिएको छ । जसमा प्रश्न गर्ने अधिकार कसैको छैन । उनीहरूसँगै एउटै टिमबाट चुनाव जितेका कार्यसमितिकै अरू पदाधिकारीसँग पनि नेतृत्वमाथि औंला उठाउने कुनै अधिकार छैन ।
आम फुटबलप्रेमीको एउटा प्रश्न एन्फा नेतृत्वलाई ‘चारवर्षे कार्यकालमा दुई पटक विश्वकपको तर मार्ने योजना बनाइरहँदा आफूले चाहिँ प्रत्येक वर्ष हुनुपर्ने लिग समेत नगर्दा तपाईंहरूलाई लाज लाग्दैन ?
आफैले आफूलाई १० मा १० नम्बर दिने र देश फुटबलको स्वर्णकालमा रमाइरहेको भ्रमको डंका पिट्नेहरूले बुझ्नुपर्ने कुरा के हो भने खेलकुदमा समयको अनुशासन सबैभन्दा महत्वपूर्ण हुन्छ । अझ फुटबलमा त समयको झन बढी महत्व हुन्छ । फुटबलमा सुशासन स्थापना भएका कुनै पनि देशमा पूरा वर्षभरको क्यालेन्डरमा उल्लेखित हजारौं खेलमा कहिँकतै एक दिन पनि फरक पर्दैन । दिनमात्र होइन, ठूलै कुनै प्राकृतिक विपत्ति वा संकट आइलाग्दा बाहेक खेलको किकअफमा समेत मिनेट फरक पर्दैन ।

तीन वर्षमा एकपटक लिगको साइकल पूरा गराउन नसकेका महासचिव र देशैभर फुटबलमात्र देख्ने जुकाहरूले के सम्झनुपर्छ भने उनीहरू निर्वाचित भइसकेपछि कतारमा विश्वकप भएको थियो । त्यही विश्वकपको अर्को संस्करण वर्तमान एन्फाको कार्यकाल असार ४ मा सकिनुअघि नै जेठ २८ मा सुरु भइसक्छ । अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकपको आसन्न संस्करणमा डाडुपन्यू चलाएर अर्को चुनाव पनि प्रभावित गर्ने योजनामा एन्फाले कार्यकाल केही महिना लम्ब्याउन चलखेल सुरु गरेको चर्चा छ । उता वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का भने अर्ली इलेक्सनमा जानुपर्ने बताउँदै छन् ।
कार्यसमितिको कार्यकाल लम्ब्याउने वा छोट्याउनेमा आम फुटबलप्रेमीको कुनै चासो रहने छैन । तर आम फुटबलप्रेमीको एउटा प्रश्न एन्फा नेतृत्वलाई ‘चारवर्षे कार्यकालमा दुई पटक विश्वकपको तर मार्ने योजना बनाइरहँदा आफूले चाहिँ प्रत्येक वर्ष हुनुपर्ने लिग समेत नगर्दा तपाईंहरूलाई लाज लाग्दैन ? फुटबल सुकाएर आफू चाँही ढाडिने यो कस्तो शुसासन हो ?’