आश्विन १३, २०८२ मंगलबार | १८:३३:०४
वेस्ट इन्डिजविरुद्ध नेपाललाई ‘क्लिन स्विप’को अवसर अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियाे एभरटन जिनोआविरुद्ध लाजियोको सहज जित नेपाललाई ऐतिहासिक शृंखला दुई अर्धशतकमा नेपालले दियो वेस्ट इन्डिजलाई १७४ रनको लक्ष्य वेस्ट इन्डिजविरुद्ध ब्याटिङ गर्दै नेपाल एसियाली एक्वेटिक्स च्याम्पियनसिपः अथर्वको दुई राष्ट्रिय कीर्तिमान तेक्वान्दो संघको अध्यक्षमा दिपराज गुरुङ वेस्ट इन्डिजविरुद्धको शृंखला आफ्नो पक्षमा पार्ने लक्ष्यमा नेपाल नापोलीविरुद्ध एसी मिलान विजयी वेस्ट इन्डिजविरुद्ध नेपाललाई ‘क्लिन स्विप’को अवसर अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियाे एभरटन जिनोआविरुद्ध लाजियोको सहज जित नेपाललाई ऐतिहासिक शृंखला दुई अर्धशतकमा नेपालले दियो वेस्ट इन्डिजलाई १७४ रनको लक्ष्य वेस्ट इन्डिजविरुद्ध ब्याटिङ गर्दै नेपाल एसियाली एक्वेटिक्स च्याम्पियनसिपः अथर्वको दुई राष्ट्रिय कीर्तिमान तेक्वान्दो संघको अध्यक्षमा दिपराज गुरुङ वेस्ट इन्डिजविरुद्धको शृंखला आफ्नो पक्षमा पार्ने लक्ष्यमा नेपाल नापोलीविरुद्ध एसी मिलान विजयी
शनिबारको दिन काउन्टर अट्याक

गृहमन्त्रीलाई छोरा गुमाएकी आमाको प्रश्नः अब हामीले पनि न्याय पाउँछौं ?

काठमाडौं । उनका आँसु सुकिसकेका छन् । जबरजस्ती हाँस्न खोज्दा सुख्खा ओठ फुक्छन् मात्र । अनुहार फुङ्ग उडेको छ । प्रत्येक शब्दमा आक्रोश छ । अपेक्षा छ, समाजसँग । जसले मानवीय भावना बिर्सिइसकेको छ । आशा छ, प्रशासनसँग । जो आफ्नै स्वार्थको घेराभन्दा माथि उठ्नै सकेको छैन । विश्वास छ, राज्यसँग । जसका सबै अंग राजनीतिक र गुटगत स्वार्थले निकम्मा भइसकेका छन् । अनि सँगै एउटा यस्तो चरम निराशा छ, जहाँ पछिल्लो एक वर्षदेखि भोगेका राज्यहीन नागरिकको जस्तो अनुभव छ ।

न्याय र मानवता हराएको समाजमा दुई खुट्टा टेकेकै भरमा मानव हुनुको भ्रममा बाँचेकाहरूलाई भोग्नुपरेको छ । आफू पशुभन्दा पनि तल्लो भावका साथ प्रत्येक दिन ज्युँदै मर्नुपरेको भावनाका स्मरणहरू छन् । तथाकथित उपल्लो वर्ग र तहसँगको पहुँच नहुँदा त्यही वर्गबाट प्रत्येक दिन अपमानित हुनुपरेको, अन्याय भोग्नुपरेको र कहिल्यै खाटा नलाग्ने घाउमा झनै नुनचुक छरिँदाको असह्य पीडा निरन्तर छ ।

छोरालाई बिदाइ गर्दाका फोटाहरू छ मोबाइलमा । छोराले जर्सी लगाएर फुटबल बोकेको फोटो पनि त्यसमा छ । छोराकै मोबाइल । यसकारण त्यो मोबाइल उनका लागि आफूभन्दा पनि प्यारो छ । कारण, प्रविधिको उच्च विकासले दिएको त्यो निर्जीव उपहारले उनलाई छोराको स्मरण जीवन्त बनाइरहन्छ । कुनै त्यस्तो दिन छैन, उनले मोबाइलको स्क्रिन ५० पटकभन्दा कम अनलक गरेको र छोराले संकलन गरेका फोटाहरू नहेरेको ।

एउटी आमाको भावना यसैगरी उर्लिइरहन्छ । बर्खाको खहरे खोला जस्तै । ठ्याक्कै एक वर्षअघि उनको छोरासहित ६ जना कलिला फुटबलरको ज्यान लिएको बाढी जस्तै ।

हो, उनको दैनिकी त्यस्तै छ । चिनजान होस वा अन्जान, छरछिमेक होस वा अपरिचित चोक र गल्ली, जहाँ जो भेटिए पनि फ्याट्ट मोबाइलको स्क्रिन अनलक गरिहाल्छिन् र ती फोटाहरू देखाउन थाल्छिन् । ‘मेरो छोरा यति राम्रो खेल्थ्यो । सबैले मन पराउँथे । ज्ञानी थियो,’ उनी बर्बराइरहन्छिन । एउटी आमाको भावना यसैगरी उर्लिइरहन्छ । बर्खाको खहरे खोला जस्तै । ठ्याक्कै एक वर्षअघि उनको छोरासहित ६ जना कलिला फुटबलरको ज्यान लिएको बाढी जस्तै ।

एकेडेमीका लागि छनोट भएपछि विदाईपछि आमा कमला र दाजु विनयका साथ विकल (बीचमा) । तस्बिर सौजन्यः विकलको परिवार

आफैंले थाहा नपाउने गरी उनको मुखबाट भावनाहरू निस्किरहन्छ । मुखबाट छोराका स्मरणहरू भट्याइरहँदा उनको मुहारमा जति आक्रोश देखिन्छ । त्योभन्दा बढी छोरा गुमाउनुपर्दाको पीडा झल्किन्छ । शब्दले उनका भावना र भोगाइ वर्णन हुनै सक्दैन । तर कसैले बुझ्न खोज्यो भने सुन्नेले समेत आफूलाई सम्हाल्न सक्दैन । अनाहकमा १३ वर्षे कल्कलाउँदो छोरा गुमाएकी आमाको बिलौना सुन्ने जोकोही आफै भक्कानिन्छ । तर उनी स्वयंले भने आफूलाई धेरै हदसम्म सम्हालेकी छिन् ।

गत वर्ष असोज १२ गते पहिरोमा पुरिएर सिस्नेरीस्थित एन्फा एकेडेमीमा रहेर फुटबल खेलिरहेका विकल रेग्मी, आदित्य बलम्पाकी, प्रियांशु आचार्य, साइमन योन्जन, दिवस बानियाँ र अनुपम घलानको ज्यान गएको थियो ।  

समय सबैभन्दा ठूलो औषधि हो । समयले सबै घाउ विस्तारै पुर्छ भन्छन् । उनको हकमा चाहिँ यो एक वर्षको समयले पनि घाउ रत्तिभर पनि पुर्न सकेको छैन । यो पुरिने घाउ पनि होइन । तर सायद त्यो समयले उनलाई पीडा लुकाउने बानी भने लागिसकेको छ । यसकारण उनले पनि आफूलाई सम्हालेझै देखिएको चाहिँ हुनसक्छ ।

झन्डै दुई घण्टाको बसाइमा रेग्मीकी आमा कमलाले गरेको एकोहोरो बिलौना एउटा निरीह स्रोताको रूपमा सुनिरहँदा थुप्रै पटक मेरा आँखा रसाए । बोल्न खोज्दा आफैं भक्कानिएर शब्द निस्किएन । तर उनी निरन्तर बोलिरहिन् । उनी त्यति लामो कुराकानीमा पनि देखिने गरी एकपटक मात्र भक्कानिइन् । नदेखिने गरी त कहिले पो उनको मन शान्त छ र ?

सिस्नेरी पहिरोमा पुरिएर मृत्युवरण गरेका विकल रेग्मीसहितका केही प्रतिभाशाली बाल फुटबलरका अभिभावकसँग डेढ महिनाअघि जम्काभेट हुँदाको अनुभव हो यो । झन्डै दुई घण्टाको बसाइमा रेग्मीकी आमा कमलाले गरेको एकोहोरो बिलौना एउटा निरीह स्रोताको रूपमा सुनिरहँदा थुप्रै पटक मेरा आँखा रसाए । बोल्न खोज्दा आफैं भक्कानिएर शब्द निस्किएन । तर उनी निरन्तर बोलिरहिन् । मैले त उनको पीडा बुझ्ने मात्र प्रयास गरेको थिएँ । उनले आफैं भोगेकी थिइन् । तैपनि उनी त्यति लामो कुराकानीमा पनि देखिने गरी एकपटक मात्र भक्कानिइन् । नदेखिने गरी त कहिले पो उनको मन शान्त छ र ?

जितेको ट्रफीका साथ साथ विकल । तस्बिर सौजन्यः विकलको परिवार

‘कहिलेकाहीं मरौं मरौं लाग्छ । तर ठूलो छोरा सम्झिएर त्यसो गर्न पनि सक्दिनँ । ठूलो छोरा पनि भाइ बितेदेखि डिप्रेसनमा छ । मेरो काखमा टाउको बिसाएर मम्मी दुवैजना एकैचोटि खोलामा हाम्फालेर मरौं भन्छ । भाइ नभएपछि मेरो के काम भन्छ । उसलाई बाँच्न मनै छैन । उसलाई छोडेर कहीँ जान सक्दिनँ । श्रीमान काममा जानुपर्छ । उसको कसले हेरविचार गर्नु ?’ पूरा दुई घण्टा उनी रोकिइनन्, ‘म सम्झाउँछु । भाइ त गयो, अब तँ पनि यस्तो कुरा नगर भन्छु । तँ पनि भएन भने म कसलाई हेरेर बाँच्ने भनेर सम्झाउँछु । अनि रातभर कान्छोलाई सम्झिएर आमाछोरा रोएरै बिताउँछौं ।’

कमलाको पेसा खोलाले बगाइ ल्याएका दाउरा बगरबाट बटुलेर बेच्ने हो । दिनमा तीन ठेलासम्म दाउरा जम्मा गर्थिन् । वर्षा लागेर खोलामा बाढी आएपछि दाउरा बटुल्ने काम हुँदैनथ्यो । वर्षातको समय रेग्मी परिवारलाई आर्थिक समस्याले थप पिरोल्थ्यो । जसोतसो हातमुख जोर्ने काम भने चलिरहन्थ्यो । दुवै छोरा फुटबल भनेपछि हुरुक्कै । खेल्ने हथौडी भने कान्छोमा बढी थियो । जेठोलाई थाहा थियो, ‘भाइ मभन्दा राम्रो फुटबल खेल्छ । खेल्न बढी मन गर्छ ।’

भाइलाई राम्रो खेलाडी बनाउने तीव्र इच्छा थियो, दाजुमा । यही भएर विनयले सानै उमेरमा आफ्ना इच्छाहरू दबाएर भाइमाथि सपना देखेको थियो । ‘खोलामा बाढी आएपछि मेरो काम हुँदैनथ्यो । काम नभएपछि पैसा हुने कुरै भएन । सानोलाई बुट किन्न सक्दिनथेँ । तर १४ वर्षको दाजुले राति १ बजे उठेर ट्याक्टरमा बालुवा लोड गरेर भाइलाई बुट किनिदिन्थ्यो,’ आधा दर्जनभन्दा बढी खेल पत्रकारका आँखा रसाउने गरी कमला भक्कानिइन्, ‘मम्मी तपाईंले नसकेका बेला म गर्छु नि । भाइलाई खेलाडी बनाउनै पर्छ । उसको इच्छा मर्न दिनुहुन्न भन्थ्यो । तर भाइ नै मरेपछि अब ऊ पनि बाँच्न मन गर्दैन ।’ यत्ति भनिसकेपछि उनले धेरैबेरदेखि रोकेका आँसुको भेल बग्न थाल्यो । पुत्रवियोगले फुस्रा पारेका गालाबाट चिउडोसम्मै आँसुका घेरा लाग्यो ।

न्यायको मागसहित धर्नामा बसेका सिस्नेरी पीडित अभिभावक । फाइल तस्बिर

त्यसपछि उनले खुम्चिएको मैलो सलले आँसु पुछिन् । र, फेरि छोरा गुमाउनाको पीडा, त्यसपछिका परिस्थितिहरू र अग्लिँदै गएका समस्याका पहाडहरूका स्मरणले उनलाई बेचैन बनाइरह्यो । बाँचेको ठूलो छोरा पनि डिप्रेसनको सिकार भएको वर्तमानले झन पिरोल्नु स्वाभाविक थियो । विनयले मानसिक अस्पतालको उपचारपछि डिप्रेसनको औषधि सेवन गरिरहेका छन् ।

श्रीमान काममा नगए हातमुख जोर्न सकिन्न । एन्फाले सिस्नेरी पहिरोका पीडित परिवारलाई बैठकका लागि भनेर बोलाएपछि उनी डिप्रेसनमा पुगेको छोरालाई एक्लै छोडेर काठमाडौं आएकी थिइन् । शरीर यहाँ भए पनि उनको मन निजगढमै थियो । सधैं ‘मर्छु मर्छु’ भन्ने ठूलो छोराले कुनै अप्रिय कदम पो चाल्ने हो कि ! उनको मन तर्सिइरहन्छ । छोरालाई फोन गर्न पनि मोबाइलमा ब्यालेन्स छैन । त्यहीं भएका एकजनाले मोबाइलमा ब्यालेन्स हालिदिएपछि छोरालाई फोन लगाइन । छोरासँग कुरा भएपछि केहीबेरका लागि ढुक्क भएर सन्तोषभावसहित लामो सास लिइन् ।

आफ्नो छोरा मरेको छ । खासमा त्यो मरेको होइन । किनकि त्यो प्राकृतिक विपत्तिमात्र थिएन । विपत्तिले मरेको भए अरू पनि क्षति हुन्थ्यो होला । पूरा सिस्नेरीमा एउटा कुखुरा पनि मरेको छैन । तर हाम्रा बच्चाहरूमात्र किन ? कुलेखानीले तीन दिनदेखि तलका बस्ती खाली गर्न सूचना गरेको थियो । सिस्नेरीमा सबै सुरक्षित ठाउँमा जाँदा हाम्रा बच्चालाई जिम्मा लिएर लगेको एन्फाले किन त्यहीँ राखेको ?

‘आफ्नो छोरा मरेको छ । खासमा त्यो मरेको होइन । किनकि त्यो प्राकृतिक विपत्तिमात्र थिएन । विपत्तिले मरेको भए अरू पनि क्षति हुन्थ्यो होला । पूरा सिस्नेरीमा एउटा कुखुरा पनि मरेको छैन । तर हाम्रा बच्चाहरूमात्र किन ? कुलेखानीले तीन दिनदेखि तलका बस्ती खाली गर्न सूचना गरेको थियो । सिस्नेरीमा सबै सुरक्षित ठाउँमा जाँदा हाम्रा बच्चालाई जिम्मा लिएर लगेको एन्फाले किन त्यहीँ राखेको ? हामीलाई भनेको भए आफैं आफ्ना बच्चाको उद्दार गर्न जान्थ्यौं नि ! हामीले बारम्बार फोन गर्दा किन नउठाएको ?,’ कुरा गर्दागर्दै उनी बहकिन्छिन् । किनकि उनको मस्तिष्कमा अनगिन्ती प्रश्न अनुत्तरित छन् ।

एकेडेमीमा विकल । तस्बिर सौजन्यः  विकलको परिवार

‘एन्फाले बोलाएपछि आउनै पर्यो । नआए यिनीहरूले मन लागेको गर्छन् । मरेका त हाम्रा सन्तान हुन् । यिनीहरुलाई त्यसको के चिन्ता ? तर आउँदा पनि ठूलो छोराको चिन्ताले पिरोलिरहन्छ । उसलाई पनि ल्याउ भने टाटा सुमोमै आउजाउ भाडा र बाटो खर्च गरेर २ हजार लाग्छ । काठमाडौंमा एक रात बस्दा अर्को २ हजार जान्छ । चार हजार रुपैयाँ कहाँबाट ल्याउनु ? त्यति पैसा भए त मेरो परिवार एक महिना चल्छ,’ परिस्थितिले उनको अझै कडा परीक्षा लिइरहेकै छ ।

अकालमा एउटा छोरा गुमाएपछि बाँकी रहेको अर्को मानसिक समस्याको सिकार हुँदा आर्थिक संकटले समेत घेरेपछि कस्तो होला एउटी आमाको अवस्था ? कमलालाई भेट्ने हो भने साहित्यका कुनै ठेली पढ्नै पर्दैन । हजारौं पृष्ठको एउटा पुस्तक पढेभन्दा बढी यथार्थपरक अनुभूति पाइन्छ ।

‘बेलुन फुटेर ठूला मान्छे घाइते हुँदा तुरुन्तै छानबिन समिति बनेर कारबाही हुन्छ । इँटा भट्टामा मान्छे पोल्नेलाई फुलमाला लगाएर बाहिर निकालिन्छ । अनि हामी गरिबका ६ जना नाबालकले अनाहकमा ज्यान गुमाउँदा चाहिँ कसैलाई छुँदैन । निष्पक्ष छानबिन समिति पनि बन्दैन,’ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र पूर्वप्रधानमन्त्री माधव नेपाललाई समेत भेटिसकेपछि पनि आश्वस्त हुन नसकेकी उनको मन यसैगरी रोइरहन्छ ।

एन्फामा पनि कुशासन भएकै कारण, नेतृत्व भ्रष्टाचारमा लिप्त भएकै कारण, संस्थाभित्र बेथिति र विसंगति व्याप्त भएकै कारण उनीलगायत ६ परिवारले आफ्ना सन्तान गुमाउनुपरेको थियो । राष्ट्रिय खेलाडी बनेर देशको सेवा गर्ने उद्देश्य बोकेका ६ जना होनहार कलिला मुना निमोठिएका थिए । अनि त्यसलाई प्राकृतिक विपत्तिको लेप लगाएर छोपिएको थियो । छोपिइरहकै छ ।

एकेडेमीमा विकल । तस्बिर सौजन्यः  विकलको परिवार

तर अहिले भने देशको परिस्थिति बदलिएको छ । राजनीतिक रुपमा उथलपुथल नै भएको छ । हिजोका ठालु र शक्तिशालीहरु आफैं डरले दुलो पसेका छन् । पुराना बेथिति, कुशासन र भ्रष्टाचारविरुद्ध भएको विद्रोहले देशमा जेन्जीको नयाँ शासन स्थापित गरेको छ । उनको छोरा पनि जेन्जी नै थियो । गरिब परिवारमा जन्मिएका कारण व्यक्त गर्न नसके पनि जेन्जी भावनाकै थियो । एन्फामा पनि कुशासन भएकै कारण, नेतृत्व भ्रष्टाचारमा लिप्त भएकै कारण, संस्थाभित्र बेथिति र विसंगति व्याप्त भएकै कारण उनीलगायत ६ परिवारले आफ्ना सन्तान गुमाउनुपरेको थियो । राष्ट्रिय खेलाडी बनेर देशको सेवा गर्ने उद्देश्य बोकेका ६ जना होनहार कलिला मुना निमोठिएका थिए । अनि त्यसलाई प्राकृतिक विपत्तिको लेप लगाएर छोपिएको थियो । छोपिइरहकै छ ।

खासमा कमलाको ममताले छोरालाई आफूभन्दा टाढा पठाउन मन गरेकै थिएन । यही कारण उनले एन्फामा छनोट भइसकेपछि पनि नजाओस भनेर जन्मदर्ता लुकाइदिएकी थिइन । ‘श्रीमान विदेशमा सामान्य मजदुरीमा हुनुहुन्थ्यो । मैले ठेलामा दाउरा बेचेर दुईवटा बच्चा हुकाएको हो । तर छोराले मान्दै मानेन । त्यसपछि हार खाएर पठाएकी हुँ । उसलाई सिस्नेरी छोडेर फर्किएको दिन रातभर नियास्रोले सुत्न सकेको थिइनँ । अब त एन्फाको लापरबाहीका कारण पूरा जीवन नियास्रोमै बिताउनुपर्ने भयो,’ कमलाको मन मानिरहेकै छैन ।

अनाहकमा आफ्ना सन्तान गुमाउनुको पीडाबाट गुज्रिइरहेको पीडित परिवारलाई एन्फा उपकारको शैलीमा ‘हाम्रो कुनै गल्ती छैन । तै पनि क्षतिपूर्तिस्वरुप ८ लाख रुपैयाँ लिएर जाउ’ भनेर पन्छिन खोज्छ । जसले छोरा गुमाउनुपरेको उनको घाउमा झन सुहिरोले रोपेझै हुन्छ ।

दिवंगत छोरा त फर्किने छैन । तर कम्तीमा निष्पक्ष छानबिन गरेर दोषीमाथि कारबाही हुने आशा भने उनमा फेरि पलाएको छ । त्यही उमेर समूहले पूरा देशको बेथिति, विसंगति, कुशासन र भ्रष्टाचारका ‘नाइके’हरूलाई ठेगान लगाइसकेको अवस्थामा आफ्नो छोरालाई पनि न्याय दिने आशा जागेको छ ।

एकेडेमीमा विकल । तस्बिर सौजन्यः  विकलको परिवार

नयाँ राजनीतिक घुम्तीले न्याय, सुशासन र भ्रष्टाचारमुक्त देश बनाउने म्यान्डेटसहित नागरिक सरकार स्थापित भएको छ । गरिब र अनपढ हुनाका कारण जेन्जी भन्ने शब्दावली नजाने पनि आफ्नै छोराको उमेरका किशोरहरूले यो सब गरेको कमलालाई थाहा छ । दिवंगत छोरा त फर्किने छैन । तर कम्तीमा निष्पक्ष छानबिन गरेर दोषीमाथि कारबाही हुने आशा भने उनमा फेरि पलाएको छ । त्यही उमेर समूहले पूरा देशको बेथिति, विसंगति, कुशासन र भ्रष्टाचारका ‘नाइके’हरूलाई ठेगान लगाइसकेको अवस्थामा आफ्नो छोरालाई पनि न्याय दिने आशा जागेको छ ।

सन्तान गुमाउने परिवारमा अब यसपालिमात्र होइन, प्रत्येक वर्ष दशैंको रौनक हुने छैन । तर, कमला र दिवंगत ६ बाल खेलाडीका परिवारको आशा पूरा होस् ! सम्पूर्ण नेपाली फुटबलले देखेको विकास र समृद्धिको सपना यथार्थमा परिणत होस् !नेपाली खेलकुदमा दण्डहीनताको अन्त्य होस् ! सुशासन स्थापित होस् !

अनाहकमा ज्यान गुमाएका ६ जना होनहार ‘छोरा’हरूको आत्माले शान्ति पाओस् !

विजया दशमीको शुभकामना !