फाल्गुन ९, २०८२ शनिबार | ०२:३१:०४
एन्फा महिला च्याम्पियनसिपः उपाधिका लागि एपिएफ र आर्मी भिड्दै जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा एन्फा महिला च्याम्पियनसिपः उपाधिका लागि एपिएफ र आर्मी भिड्दै जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा
शनिबारको दिन

एन्फा महिला च्याम्पियनसिपः उपाधिका लागि एपिएफ र आर्मी भिड्दै

काठमाडौं । घरेलु महिला फुटबलकै सर्वाधिक सफल टोली सशस्त्र प्रहरी बलको एपिएफ एफसीले पछिल्लो डेढ वर्षमा आठौं उपाधि पछ्याउँदैछ । यसपाली एपिएफलाई अवसर छ, सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ(एन्फा)ले पहिलोपटक आयोजना गरेको नकआउट प्रतियोगिताको उपाधि जित्ने ।

उदयपुरको पूरानो गाईघाटस्थित थहुरट रंगशालामा शनिबार एन्फा महिला च्याम्पियनसिपको फाइनल खेल हुँदैछ । उपाधिका लागि एपिएफलाई चुनौती दिँदैछ अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबले ।

डेढ वर्षमा यी दुई नवौंपटक आमने–सामने हुँदैछन् । आठमध्ये ६ खेल एपिएफको पक्षमा गएको छ । पेनाल्टी सुटआउटलाई पनि जोड्ने हो भने आर्मीले एक खेल पनि जित्न सकेको छैन । त्यसैले शनिबारको ‘फेबरेट’ टोली एपिएफनै हो ।

एपिएफ कागजमा पनि बलियो टोली हो । पहिलो रोजाईमा खेल्ने सबै अन्तर्राष्ट्रिय एक्सपोजर भएका खेलाडी हुन् । केही वैकल्पिक खेलाडीले पनि राष्ट्रिय टोलीको जर्सी लगाइसकेका छन् ।

आर्मीको कुरा गर्ने हो भने पछिल्लोपटक दुई खेलाडीले मात्र राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । यी खेलाडी हुन् रक्षक विमला बिक र मिडफिल्डर दीपा शाही । अनुभवी अट्याकिङ मिडफिल्डर विमला चौधरी र स्ट्राइकर चन्द्रा भण्डारीले पछिल्लो समय राष्ट्रिय टोलीमा पर्न संघर्ष गरिरहेका छन् ।

एपिएफले यी आठ खेलमा आर्मीविरुद्ध १५ गोल गरेको छ । जवाफमा आर्मीले आठ गोल फर्काएको छ । एपिएफका पक्षमा गएका खेलहरु फराकिलो जित होइनन् । यी जितहरु साँघूरो र संघर्षपूर्ण छन् । केही खेलहरु रोमाञ्चले भरिएका छन् ।

पछिल्लोपटक यी दुईबीचको भेट झापा महिला गोल्डकपको सेमिफाइनलमा भएको थियो । आर्मीले स्ट्राइकर जेनिफर रानामगरको गोलमार्फत खेलको ६४औं मिनेटमा अग्रता बनाएको थियो । निर्धारित समयसम्म दबाबमा राखेपनि एपिएफले गोल फर्काउन सकेन । त्यसपछि ७ मिनेट अतिरिक्त समय थप गरिएको थियो । चौथो मिनेटमा कप्तान अनिता बस्नेतले सानदार फ्रिकिकमार्फत सनसनीपूर्ण ढंगमा खेललाई बराबरीमा ल्याइन् । पेनाल्टी सुटआउटमा एपिएफले बाजी मार्यो ।

एउटा लोभलाग्दो कुरा, पछिल्ला तीन खेलमा आर्मीले एपिएफविरुद्ध सुरुआती अग्रता लिएको छ । झापाअघि जितपुर सिमरा गोल्डकपको फाइनलमा आर्मीले सञ्जु कुमालको गोलमार्फत नवौं मिनेटमै अग्रता लिएको थियो । पछि दोस्रो हाफको मध्यतिर रश्मिकुमारी घिसिङले चार मिनेटमा दुई गोल गर्दै एपिएफलाई उपाधि दिलाइन् ।

त्यसअघि यी दुईको भेट भरतपुर, चितवनमा सम्पन्न महिला च्याम्पियनसिपमा भएको थियो । त्यहाँ विमला चौधरीले आर्मीलाई अग्रतामा ल्याइन् । पछि रश्मीको हेडर गोलमार्फत एपिएफ खेलमा फर्कियो । पेनाल्टी सुटआउटमा आर्मी अभागी बन्यो । जितपुरमा पनि रश्मीले दुबै गोल हेडरमार्फतनै गरेकी थिइन् ।

आर्मीको यो लयप्रति शर्तक एपिएफका मुख्य प्रशिक्षक जीवेशकुमार पाण्डे शर्तक छन् । भन्छन्, ‘पछिल्लो समय हामीले कमब्याक गर्नुपरिरहेको छ । हामी शनिबार आर्मीलाई सुरुआती गोल गर्न दिन्नौं । विगतका दिनमा गरेका गल्ती दोहोरिदैन ।’

गोल भएको खण्डमा नि ? उनले भने, ‘हामीलाई दबाब हुनेछ । तर, हामीले आर्मी र पुलिस मात्र होइन । अन्य टोलीहरुसँग खेल्दा पनि दबाब महसुस गर्ने गरेका छौं । सकेसम्म आर्मीको यो गोल गर्ने बानीलाई रोक्नेछौं । गोल खाइहाले पनि डराउनुपर्ने स्थिति बन्दैन ।’

झापामा आफ्नो फ्रिकिकअघि टोलीले मनोबल नघटाएको अनिता बस्नेतले बताइन् । फाइनलको पूर्व सन्ध्यामा शुक्रबार अनिताले भनिन्, ‘झापामा हामीले गोल त खायौं । तर, टोलीमा ‘बिलिफ’ थियो । मुख्य कुरा खेलाडीमा ‘प्यासेन्स’ थियो ।’

आर्मीको टचलाइन यसपटक नेपाली राष्ट्रिय टोलीका पूर्व मिडफिल्डर राजु तामाङले सम्हालिरहेका छन् । उनको नेतृत्वमा पहिलोपटक आर्मीले फाइनलको यात्रा तय गरेको छ । उनीसँगै कप्तान सुनीता कुमारी चौधरी पछिल्ला मोफसलका प्रतियोगितामा गरेका गल्तीहरु नदोहोर्याउनेमा विश्वस्त छन् । उनीहरु भन्छन्, ‘टोली निखारिएको छ । एपिएफ जस्तो बलियो टोलीसँग हामीले विगतका दिनमा जानी नजानी गल्ती गरेका छौं । त्यसलाई सुधार्नेछौं ।’

आर्मीका लागि फाइनलमा हेर्नलायक खेलाडी विमला (चौधरी) नै हुन् । इलाम र भरतपुरगरि दुई फाइनलमा गोल गरेकी विमलाले एन्फा राष्ट्रिय लिगमा पनि एपिएफविरुद्ध स्कोरसीटमा आफ्नो नाम लेखाएकी थिइन् । फेरि उनी स्कोरिङ लयमा पनि छिन् । सेमिफाइनलमा पुलिसविरुद्ध विमलाकै निर्णायक गोलमा आर्मी विजयी भएको थियो ।

एपिएफका लागि पछिल्ला दुई खेलमा १२ गोल गरिसकेकी रश्मी हेर्नलायक खेलाडी हुन् । उनले क्वार्टरफाइनलमा आरएस पोखराविरुद्ध ११ गोल गरेकी थिइन् । जुन खेलमा एपिएफ १९–० ले विजयी भएको थियो । संकटालाई सेमिफाइनलमा एपिएफले ३–० ले हरायो । सुरुआती गोल रश्मीले नै गरिन् ।

आर्मीले क्वार्टरफाइनलमा न्युरोड टिम (एनआरटी)माथि ६–१ को पुनरागमन जित हासिल गर्यो । खेलमा स्ट्राइकर जेनिफर रानामगरले ह्याट्रिक गरिन् । एपिएफ उनको आक्रमणप्रति पनि सजग रहनेछ । झापामा उनकै गोलमार्फत आर्मीले अग्रता लिएको कुरा एपिएफले विर्सिएको छैन ।