काठमाडौं । युरोपियन छनोटमा स्लोभाकियाविरुद्ध ६-० को सानदार जित निकाल्दै जर्मनीले आगामी वर्ष हुने फिफा विश्वकपमा स्थान पक्का गरेको छ ।
जितसँगै ६ खेलमा १५ अंक जोडेको जर्मनी समूह ‘ए’ को शीर्ष स्थानमा रह्यो ।
रेडबुल एरिनामा घरेलु टोली जर्मनीलाई जित दिलाउन लिरोय सानले दुई तथा निक वोल्टेमेड, सर्ज गिनाब्री, रिडल बाकु र असान ओएड्रागोले समान एक गोल गरे ।
खेलको १८औं मिनेटमा वोल्टेमेडको गोलमार्फत जर्मनीले अग्रता लिएको थियो । ११ मिनेटपछि गिनाब्रीले टोलीको अग्रता दोब्बर बनाए ।
सनले ३६ र ४१औं मिनेटमा गोल गरेपछि जर्मनीले पहिलो हाफमै ४-० को आरामदायी अग्रता लिएको थियो ।
बाकुले ६७औं मिनेटमा टोलीका लागि पाँचौं गोल गरे । ७९औं मिनेटमा ओएड्रागोले गोल गर्दा जर्मनीले ६-० को एकतर्फी जित निकाल्यो ।
जर्मनी आगामी विश्वकपमा छनोट हुने छैटौं युरोपियन तथा समग्रमा ३३औं राष्ट्र हो ।
यसअघि युरोपबाट इङ्ल्यान्ड ,फ्रान्स, कोएसिया, पोर्चुगल र नर्वे, अफ्रिकाबाट मोरक्को, ट्युनिसिया, इजिप्ट, अल्जेरिया, घाना, आइभोरी कोस्ट, केप भर्डे र सेनेगल, एसियाबाट अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, जोर्डन, उज्वेकिस्तान, कतार, साउदी अरेबिया र इरान, दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, इक्वेडर, उरुग्वे र पाराग्वे तथा ओसियन प्यासिफिकबाट न्युजिल्यान्डले छनोट चारण पार गरेर विश्वकपमा स्थान पक्का गरिसकेका छन् । यस्तै अमेरिका, क्यानाडा र मेक्सिकोले आयोजकका रूपमा सिधै विश्वकप खेल्दैछन् ।
४८ टोलीको सहभागिता रहने फिफा विश्वकप आगामी जुन ११ देखि जुलाई १९ सम्म हुँदैछ ।
