काठमाडौं । अर्मेनियाविरुद्ध ९-१ को सानदार जित दर्ता गर्दै पोर्चुगलले आगामी वर्ष हुने फिफा विश्वकपमा छनोट भएको छ ।
जितसँगै ६ खेलमा १३ अंक जोडेको पोर्चुगल समूह ‘एफ’ को शीर्ष स्थानमा छ ।
डो ड्रागाओ रंगशालामा आइतबार सम्पन्न खेलमा घरेलु टोली पोर्चुगललाई जित दिलाउन जोआओ नेभेस, ब्रुनो फर्नान्डेजले ह्याट्रिक पूरा गरे । यसैगरी रेनाटो भेइगा, गोन्सालो रामोस र फ्रान्सिस्को कोन्सेइकाओले समान एक गोल गरे ।अर्मेनियाका लागि एडवार्ड स्पर्ट्स्यानले गोल फर्काए ।
खेलको सातौं मिनेटमा भेइगाको गोलमार्फत पोर्चुगलले अग्रता लिएको थियो । ११ मिनेटपछि स्पर्ट्स्यानले अर्मेनियालाई बराबरीमा ल्याए ।
२८औं मिनेटमा रोमासले गोल गर्दा पोर्चुगल २-१ ले अगाडि बढ्यो । ३० र ४१औं मिनेटमा नेभेसले गोल गरेपछि पोर्चुगलको अग्रता ४-१ मा पुग्यो ।
फर्नान्डेजले पहिलो हाफको इन्जुरी समय, ५१ र ७१औं मिनेट गोल गर्दै ह्याट्रिक पूरा गरे । पहिलो र तेस्रो गोल पेनाल्टीमार्फत भएको थियो ।
नेभेसले ८१औं मिनेटमा ह्याट्रिक गर्दा पोर्चुगल ८-१ ले अगाडि बढ्यो । खेलको इन्जुरी समयमा कोन्सेइकाओल टोलीका लागि नवौं गोल गरे ।
पोर्चुगल लगातार साताैं तथा समग्रमा नवाैं पटक विश्वकपमा छनोट भएको हो । यस्तै पोर्चुगल आगामी विश्वकपमा छनोट हुने चौथो युरोपियन तथा समग्रमा ३१औं राष्ट्र हो ।
यसअघि युरोपबाट इङ्ल्यान्ड, फ्रान्स र कोएसिया, अफ्रिकाबाट मोरक्को, ट्युनिसिया, इजिप्ट, अल्जेरिया, घाना, आइभोरी कोस्ट, केप भर्डे र सेनेगल, एसियाबाट अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, जोर्डन, उज्वेकिस्तान, कतार, साउदी अरेबिया र इरान, दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, इक्वेडर, उरुग्वे र पाराग्वे तथा ओसियन प्यासिफिकबाट न्युजिल्यान्डले छनोट चारण पार गरेर विश्वकपमा स्थान पक्का गरिसकेका छन् । यस्तै अमेरिका, क्यानाडा र मेक्सिकोले आयोजकका रूपमा सिधै विश्वकप खेल्दैछन् ।
४८ टोलीको सहभागिता रहने फिफा विश्वकप अगामी जुन ११ देखि जुलाई १९ सम्म हुँदैछ ।
