काठमाडौं । प्यारापिटसहितको त्रिवी क्रिकेट मैदान र फ्लड लाइटको उज्यालो अनि रातीको समय एनपिएल सिजन दुईले कीर्तिपुरको माहोल निक्कै चम्काइरहेको छ ।
प्रतियोगिताको दोस्रो दिन मंगलबार कीर्तिपुरमा दुई खेल हुनेछन् । पहिलो खेलमा बिहान पौने १२ बजे चितवन राइनोजले कर्णाली याक्सको सामना गर्नेछ । दिउसो ४ बजे सुरु हुने दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स आमने–सामने हुँदैछन् ।
गतवर्षको पहिलो सिजनतिर फर्कँदा मंगलबार मैदान उत्रिने तयारीमा रहेका कुनै पनि टिमले सन्तोषजनक नतिजा देख्दैनन् । यसकारण मंगलबार चारवटै टिम सुखद सुरुआतका साथ अघिल्लो वर्षको भन्दा राम्रो अवस्थामा रहेर सिजन टुंग्याउने लक्ष्यमा हुनेछन् ।
गतवर्ष चितवन र कर्णालीले प्लेअफसम्मको यात्रा गरेका थिए । इलिमिनेटरमा चितवनमाथि २१ रनको जित हासिल गर्दै कर्णाली अगाडि बढेको थियो । तर कर्णाली पनि दोस्रो क्वालिफायरमा पछि च्याम्पियन बनेको जनकपुर बोल्टससँग २ विकेटले पराजित भयो । समूह चरणमा पनि चितवनमाथि हावी हुने क्रममा कर्णालीले ६ विकेटको जित हासिल गरेको थियो ।
चितवनका लागि मंगलबारको खेल अघिल्लो वर्ष लगातार दुई पटक भोगेको हारको बदला लिने राम्रो अवसर बन्न सक्छ । कर्णालीका लागि भने चितवनविरुद्धको विजयी यात्रालाई निरन्तरता दिने दबाब हुनेछ ।
चितवनको मार्की खेलाडी युवा अलराउन्डर कुशल मल्ल हुन् । कुशलसहित रिजन ढकाल, कमलसिंह ऐरी, अमरसिंह राउटेला, दीपक बोहरा र गौतम केसीलाई रिटेन गरेको टोलीले मिनी अक्सनबाट देव खनाल, अर्जुन साउद, विपिन रावल, विपिन आचार्य र रञ्जित कुमारलाई अनुबन्ध गरेको थियो ।

विपिन रावल र रञ्जित कुमारले पहिलो सिजन पनि चितवनबाटै खेलेका थिए । पहिलो सिजनमा अर्जुनले लुम्बिनी र देवले कर्णालीको प्रतिनिधित्व गरेका थिए ।
विदेशी खेलाडीमा इङ्ल्यान्डका डेविड मलान, रवि वोपारा र सैफ जैब, पाकिस्तानका सोहेल तनवीर तथा युगान्डाका अलराउन्डर अल्पेश रामजानी चितवनसँग अनुबन्धित भइसकेका छन् । भोपारा र तनवीरले गत वर्ष पहिलो सिजनमा पनि चितवनको जर्सी लगाएका थिए । जैबले भने पहिलो सिजनमा सुदूरपश्चिम रोयल्सबाट खेलेका थिए ।
मलान र रामजानी भने पहिलो पटक नेपाली लिग खेल्दै छन् । अनुभवी विदेशी खेलाडीको आगमनपछि चितवनको टोली सन्तुलित देखिएको छ ।
पहिलो संस्करणमा शिखर भित्र्याएर चर्चाको शिखरमा रहेको कर्णालीले यसपटक विदेशी खेलाडीमा भारतका अर्का ब्याटर प्रियांक पन्चालमाथि विश्वास देखाएको छ । यस्तै, अफगानिस्तानका पूर्व कप्तान नजिबुल्लाह जद्रान, भारतका जयकिसन कोल्सावाल, अस्ट्रेलियाका विलियम बोसिस्टो, स्कटल्यान्डका जेम्स वाट र नेदरल्यान्ड्सका म्याक्स ओ डाओडलाई अनुबन्धित गरेको छ ।
कर्णालीले यसअघि पहिलो संस्करणमा टोलीको प्रतिनिधित्व गरेका सात खेलाडीलाई रिटेन गरेको थियो । जसमा मार्की सोमपालसँगै राष्ट्रिय टिममै रहेका नन्दन यादव, गुल्सनकुमार झा पनि छन् । यसैगरी विपिनप्रसाद जोशी, दीपेन्द्र रावत, अर्जुन घर्ति, युनिससिंह ठकुरी कर्णालीले रिटेन गरेका अरु युवा खेलाडी हुन् । त्यसपछि कर्णालीले अक्सनबाट भने पवन सर्राफ, युवराज खत्री, इमराख सेख र दीपक डुम्रेलाई भित्र्याएको थियो ।
पोखरालाई विराटनगरको चुनौती
मंगलबार आमने सामने हुने तयारीमा रहेका अन्य दुई टिम पोखरा र विराटनगरका लागि अघिल्लो वर्षको प्रतियोगिता विर्सनलायक थियो । दुवै टोली समान दुई जित तथा पाँच हारको नतिजाका साथ पुछारका दुई स्थानमा चित्त बुझाउँदै समूह चरणबाटै बाहिरिएका थिए ।
यी दुईबीचको खेलमा चाँही पोखराले सुपर ओभरमा पुगेर सफलता हासिल गरेको थियो । विराटनगरले सात विकेट गुमाउँदै १३९ रनको योगफल तयार गरेको थियो । जवाफमा पोखराले पनि पूरा २० ओभर खेल्दै ६ विकेट गुमाएर १३९ रन नै बनायो ।
सुपर ओभरमा पोखराले १८ रन जोडेको थियो । विराटनगर भने पाँच रनमै सीमित भएपछि पोखरा जितको भागिदार बनेको थियो ।
मंगलबारको खेल पोखराका लागि विराटनगरमाथिको रवाफ कायम राख्न र विराटनगरका लागि पोखरासँग बदला लिने लक्ष्यका लागि थलो बन्नेछ ।
विराटनगरले यसपालि गत सिजनका च्याम्पियन प्रशिक्षक पुबुदु दासानायकेलाई नेतृत्व सुम्पिएको छ । कन्सल्टेन्ट प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्वबलिङ कन्सल्टेन्ट धम्मिका प्रसाद छन् ।
एनपिएलको पहिलो सिजन भित्रिने विदेशी खेलाडीमा न्युजिल्यान्डका मार्टिन गप्टिल ठूला नाममध्ये एक थिए । यसपालि पनि विराटनगरले गप्टिलको सम्झौता नवीकरण गरेको छ । गप्टिलले यसपालि आफ्ना अन्तर्राष्ट्रिय करिअरका प्रतिद्वन्द्वी फाफ डु प्लेसिसलाई सहकर्मीका रूपमा पाएका छन् । डु प्लेसिस दोस्रो सिजनको एनपिएलमा अनुबन्धित सबैभन्दा चर्चित नाम हो ।

विराटनगरले विदेशी खेलाडीको कोटा पूरा गरिसकेको छ । यी दुईबाहेक विराटनगरले दक्षिण अफ्रिकाका बलर मर्चेन्ट डे लाङ्ग, अस्ट्रेलियाका ब्याटर साम हिजलेट, स्कटल्यान्डका ब्याटर जर्ज मुन्से अनि अमेरिकाका अलराउन्डर शुभम रन्जानेलाई अनुबन्ध गरेको छ ।
विराटनगरले मार्की सन्दीप लामिछानेसहित लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट र सुवास भण्डारीलाई रिटेन गरेको छ । मिनी अक्सनबाट सूर्य तामाङ, शाहिल पटेल, नारायण जोशी, श्रवण किस्कु र शंकर रानालाई अनुबन्ध गरेको थियो ।
कुशल भुर्तेल मार्की रहेको पोखराले सागर ढकाल, आकाश चन्द, किरण ठगुन्ना, विपिन खत्री, तृतराज दास र दिनेश खरेललाई टोलीमै राखेको छ । मिनी अक्सनबाट चाहिँ टोलीले अर्जुन कुमाल, अभिषेक तिवारी, कृष्ण पौडेल र सन्दीप केसीलाई अनुबन्ध गरेको थियो ।
पोखराले विदेशी खेलाडीका रूपमा न्युजिल्यान्डका अलराउन्डर जिम्मी निसम, इङ्लिस ब्याटर जेसन रोय, विकेटकिपर एडम रोसिङटन र अलराउन्डर ड्यानियल डाउथवेट तथा बार्बाडोसका अलराउन्डर रेमन रेइफरलाई भित्र्याएको छ । टोलीले अझै एक विदेशी खेलाडी अनुबन्ध गर्न बाँकी छ ।
प्रतियोगिताको पहिलो दिन सोमबार भएको एकमात्र खेलमा काठमाडौं गोर्खाजले विजयी सुरुआत गर्ने क्रममा साविक विजेता जनकपुर बोल्टसलाई ५ विकेटले मात दिएको थियो ।
