काठमाडौं । भारतीय मूलका अमेरिकी खेलाडी हर्मित सिंहको अलराउन्ड प्रदर्शनप्रेरित साबिक उपविजेता सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा घरेलु टोली काठमाडौं गोर्खाजविरुद्ध २९ रनको रोमाञ्चक जित हासिल गरेको छ ।
बुधबार प्रतियोगिताको तेस्रो दिन दिनको एकमात्र खेलमा शीर्ष क्रम धरासायी बन्दा सामान्य लक्ष्यसमेत बनाउन नसक्ने स्थितिमा आठौं नम्बरमा ब्याटिङ गर्न आएका हर्मितले अर्धशतकीय पारी खेले । फलस्वरुप सुदूरपश्चिम काठमाडौंलाई १४८ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गर्न सफल भएको थियो । बलिङमा पनि उनले उत्तिकै सानदार प्रदर्शन गरे ।
काठमाडौंले १६.५ ओभरमा सबै विकेट गुमाउँदा मात्र ११८ रन बनाउन सक्यो ।
एकसमय सहज जिततर्फ अग्रसर देखिएको काठमाडौंका दुई खेलाडीलाई पवेलियनको बाटो देखाउँदै हर्मितले खेललाई उल्टाए । कुल तीन खेलाडीको विकेट लिएका हर्मितले १२औं ओभरको पाँचौं बलमा ‘सेट’ ब्याटर/ओपनर अकाश त्रिपाठीलाई आउट गरे । लगत्तैको बलमा मोहम्मद आदिल आलम ‘गोल्डेन डक’ भए । यहीँबाट सुदूरपश्चिमको बाटो मोडिएको हो ।

काठमाडौं १०औं ओभरको समाप्तिमा ९३/४ को स्थितिमा थियो । जितका लागि अब काठमाडौंलाई १० ओभरमा ६.५ को रनरेट आवश्यक थियो । तर, हर्मितको त्यो ओभर काठमाडौंलाई महंगो साबित भयो । त्यो दुई विकेटसँगै काठमाडौं ९६/६ को स्थितिमा पुग्यो ।
१५औं ओभरको तेस्रो बलमा अलउान्डर मिलिन्द कुमारको विकेटले झन सुदूरपश्मिलाई बल दियो । स्कोरबोर्डमा ११० रन हुँदा मिलिन्दलाई नरेन साउदले पवेलियनको बाटो देखाएका थिए । मिलिन्द कुगुलेइनबाट क्याच भए ।
त्यसपछि ८ रनमा काठमाडौंले तीन विकेट गुमायो ।
काठमाडौंका लागि आकाशले सर्वाधिक ३४ रन बनाए । त्यस्तै जोन सिम्पसनले २४ रन बनाउँदा भिम शार्कीले १२ र मिलिन्दले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । आकाश जोस ब्राउनबाट क्याच भएका हुन् भने सिम्पसनलाई इशान पाण्डेले एलबिडब्लुको शिकार बनाएका थिए ।

सुदूरपश्चिमका लागि हर्मितसँगै स्कट कुगुलेइन र हेमन्त धामीले समान दुई विकेट लिए । त्यस्तै इशानसँगै नरेन साउदको नाममा पनि एक विकेट रह्यो ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले २० ओभरको समाप्तिमा सबै विकेट गुमाउँदै १४७ रनको योगफल खडा गरेको थियो ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले २० ओभरको समाप्तिमा सबै विकेट गुमाउँदै १४७ रनको योगफल खडा गरेको थियो ।
सुदूरपश्चिमका लागि हर्मितले २० बलमा दुई चौका र ६ छक्कासहित ५३ रनको योगदान गरे । त्यस्तै कप्तान दीपेन्द्रसिंह ऐरिले ३० बलमा तीन चौका र एक छक्काको मद्धतमा ३९ रन बनाए । यसैगरि आरिफले २५ र इशान पाण्डेले ११ रन जोडे ।
काठमाडौंका लागि कप्तान करण केसीले ४ विकेट लिए । त्यस्तै मिलिन्द कुमार, सन्नी पट्टेल र रसिद खानको नाममा समान दुई विकेट रह्यो ।

सुदूरपश्मिको सुरुआत एकदमै खराब रह्यो ।
ब्याटिङ पावरप्लेमा सुदूरपश्चिमले चार विकेटको क्षतिमा मात्र २७ रन जोडेको थियो । करणले पहिलो ओभरमै ओपनरद्धय योस ब्राउन र विनोद भण्डारीलाई पवेलियनको बाटो देखाएका थिए । ब्राउन एलबिडब्लुको शिकार बन्दा विनोद भिम शार्कीबाट क्याच भए । दुबै ‘डक आउट’ भए ।
तेस्रो ओभरको पाँचौं बलमा क्रिस लिन पनि आउट भए । करणकै बलमा मिलिन्द कुमारबाट क्याच भएका अस्ट्रेलियन ब्याटर लिनले एक रनभन्दा बढी जोड्न सकेनन् ।
ब्याटिङ पावरप्लेको अन्तिम बलमा काठमाडौंले इशानको विकेट हासिल गर्यो । इशान मिलिन्दको बलमा मोहम्मद आदिल आलमबाट क्याच भए । त्यसपछि आएका दीपेन्द्रसिंह ऐरिले पाँचौं विकेटका लागि आरिफ शेखसँग २५ रनको साझेदारी गरे ।
१०औं ओभरको चौथो बलमा आरिफलाई रसिदले बोल्ड गरिदिए । त्यसपछि आएका नरेन साउद पनि धेरै बेर टिकेनन् । ६ रनमा ब्याटिङ गरिरहेका नरेन मिलिन्दको बलमा भिम शार्कीबाट क्याच भए ।

नरेन पवेलियन फर्किएपछि हर्मितले पारी उकासेका हुन् । हर्मितले ऐरिसँग मिलेर ५७ रनको साझेदारी गरे ।
१८औं ओभरको तेस्रो बलमा ऐरि रसिदको बलमा आलमबाट क्याच भए । जतिबेला स्कोरबोर्डमा सुदूरपश्चिमले १३३ रन जोडेको थियो । त्यसपछिका १५ बलमा सुदूरपश्चिमले १४ रन मात्र जोड्न सक्यो ।
प्रतियोगितामा काठमाडौंको यो पहिलो हार हो । यसअघि काठमाडौंले उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्समाथि ५ विकेटको प्रभावशाली जित हासिल गरेको थियो । सुदूरपश्चिमको यो पहिलो खेल हो ।
आफ्नो दोस्रो खेलमा सुदूरपश्चिमले शुक्रबार पोखरा एभेन्जर्ससँग खेल्नेछ । त्यस्तै काठमाडौंले आफ्नो तेस्रो खेलमा शनिबार विराटनगर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ ।
