काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन दुईमा सट्टेबाजी गराउन खोज्ने एक भारतीयसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले जनाएअनुसार ह्वाट्सएप र इन्स्टाग्राममा खेलाडीहरुसँग सम्पर्क गरी हारजीतमा प्रभाव पार्न आर्थिक प्रलोभन देखाएको अभियोगमा भारतका दिलप्रित सिंह र बर्दियाकी रेविकासिंह ठकुरीलाई पक्राउ गरिएको हो ।
सोमबार सुरु भएर यही मंसिर २७ गतेसम्म आठ फ्रेन्चाइज टोलीको सहभागितामा चल्ने एनपिएलमा सहभागी टिमका खेलाडीहरुलाई सिंह र ठकुरीले ‘प्रायोजन गर्छु’ भन्दै सम्पर्क गरेर आर्थिक प्रलोभन देखाएर खेलको नतिजा प्रभावित गर्न प्रस्ताब गरेको बताइएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमध्ये दिलप्रित भारत हरियाणाको रानीमहल पानीपतका स्थायी बासिन्दा हुन् भने बर्दियाको बारबर्दिया नगरपालिका मगरगडीकी ठकुरी हाल भारतको चन्दीगढमा बसोबास गर्छिन ।
नेपाली क्रिकेट पनि पछिल्ला वर्षहरुमा सट्टेबाजहरुको निसानामा पर्दै गएको अवस्थामा पक्राउ परेकाहरुमाथि विशेष अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
