काठमाडौं । विवेक राना मगरको अलराउण्ड प्रदर्शनमा ललितपुर जिल्ला काठमाडौंलाई पराजित गरेर राजधानीमा सम्पन्न प्रधानमन्त्री कप एकदिवसिय प्रतियोगिताको बागमती प्रदेश छनोटको च्याम्पियन भएको छ ।
मंगलबार तल्लो मुलपानी क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा काठमाडौंलाई ६ विकेटले पराजित गर्दै ललितपुर च्याम्पियन भएको हो । पहिले ब्याटिङ गरेको काठमाडौंले ४८ दशमलब ४ ओभरमा सबै विकेट गुमाएर २१० रनको योगफल तयार गर्यो ।
काठमाडौंका लागि कप्तान इशान पाण्डे सर्वाधिक ४४ तथा रित गौतम ४२ रनमा आउट भए । ललितपुरका लागि विवेक राना मगर, सुर्य तामाङ र सचिन लेखकले समान २ तथा तिलकराज भण्डारीले १ विकेट लिए ।
२११ रनको लक्ष्य ललितपुरले ३८ दशमलब ३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । ललितपुरको जितमा विवेकले ७३ रनमा अविजित रहँदा सचिन लेखक ६३ रनमा आउट भए । काठमाडौंका लागि सन्दीप पराजुलीले २ तथा धिरज देउवा तथा कप्तान इशानले समान १ विकेट लिए ।
प्रतियोगितामा बागमती प्रदेशका ६ (काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र नुवाकोट) जिल्ला तथा त्रिभुवन विश्वविद्यालयको टोली सहभागीता रहेको थियो । सहभागी टोलीबीच सिङ्गल राउण्ड रोबिन लिगका आधारमा खेल भएपछि लिग चरणको समाप्ती पछि शीर्ष २ मा रहका काठमाडौं र ललितपुरबीच फाइनल भएको थियो ।
टियु क्रिकेट रंगशाला र माथिल्लो तथा तल्लो मुलपानीमा संचालन हुने प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय प्रतियोगितामा बागमती प्रदेशको प्रतिनिधित्व गर्नेछन् ।
