काठमाडौं । जय ट्रफी मेन्स एलिट कपको फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबले खराब सुरुवात गरेको छ ।
फाइनल खेलको पहिलो दिनको समाप्ती तिर आफ्नो इनिङको सुरुवात गरेको पुलिसले खराब सुरुवात गरेको हो । अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई कम योगफलमा समेटेर आफ्नो इनिङको सुरुवात गरेको पुलिसका लागि दिनको समाप्ती सुखद रहन सकेन ।
पहिलो दिनको खेल सकिदा पुलिसले ११ ओभर खेल्दै ३ विकेट गुमाएर ४१ रन बनाएको छ । पुलिसका ओपनर दिनेश खरेल ११ तथा राशिद खान ३ रनमा अविजित छन् । पुलिसका लागि दोस्रो दिनको सुरुवात दिनेश र राशिदले गर्नेछन् ।
पुलिसले कुशल भुर्तेललाई १८ तथा अमित श्रेष्ठ र दिल्साद अलिलाई समान १ रनमा गुमाएको थियो । आर्मीका लागि सोमपाल कामीले २ तथा आकाश चन्दले १ सफलता दिलाएका थिए ।
पुलिसले टस जितेर बलिङ रोजेपछि आर्मीले पहिला ब्याटिङ गरेकोमा २२१ रन जोड्दा सबै विकेट गुमाएको थियो । आर्मीका लागि ओपनर इम्रान शेख सर्वाधिक ५० रनको अर्धशतकीय इनिङ खेल्दै आउट भए । भीम सार्की ३९, कुशल मल्ल ३८, तृतराज दास ३२ तथा बसिर अहमद ३० रनमा आउट भए ।
पुलिसका लागि राशिद खानले ४ तथा करण केसी र ललित राजवंशीले समान ३ विकेट लिए । बुधबार नै दुई विभागीय टोलीहरु पुलिस र त्रिभुवनबीच काठमाडौंको माथिल्लो मुलपानीमा मैदानमा फाइनल खेल सुरु भएको हो ।
ट्रफीको लिग चरणको खेलहरु दुई दिवसिय स्वरुपमा भएकामा फाइनल भने तीन दिवसीय हुदैछ । गत महिनाको १७ देखि १९ गतेसम्म तोकिएको फाइनल खेल प्रतिनिधी सभा निर्वाचनका कारण सारिएको थियो ।
गत संस्करणको प्रधानमन्त्री कपको शीर्ष ४ मा रहेका पुलिस, आर्मी, नेपाल एपिएफ क्लब र बागमती प्रदेश प्रतियोगितामा सहभागी रहेका थिए । आर्मी र पुलिस शीर्ष २ मा रहेर फाइनल खेलीरहेका हुन् । गत संस्करणमा पनि फाइनलमा यही २ टोलीबीच नै खेल भएको थियो । आर्मीलाई हराउँदै पुलिसले उपाधी जितेको थियो ।
