काठमाडौं । आगामी शनिबारबाट प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुदैछ ।
प्रतियोगितामा ३ विभागीय (नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब) र ७ प्रदेश (कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदरपश्चिम) का गरि जम्मा १० टोलीको सहभागीता रहन्छ । २८ दिनसम्म चल्ने प्रतियोगितामा फाइनल सहित ४६ खेल आयोजना हुदैछ । लिग चरणमा सबै टोलीले एक आपससँग खेले पछि शीर्ष २ मा रहने टोलीका बीचमा फाइनल खेल हुनेछ ।
यसपटकको प्रतियोगिता काठमाडौंका २ तथा मधेश प्रदेशका २ क्रिकेट मैदानमा हुदैछन् । काठमाडौंको टियु क्रिकेट रंगशाला र मुलपानी क्रिकेट मैदानमा समान ५ तथा फाइनल सहितका खेलहरु मधेश प्रदेशको पर्सा र जनकपुरमा हुदैछ ।
सन् २०१७ बाट सुरु भएको यसप्रतियोगिताको हालसम्म ८ संस्करण समाप्त भइसकेको छ । सन् २०२२ को जनवरीमा भएको प्रतियोगिता भने ट्वान्टी २० फर्म्याटको रहेको थियो । अन्य संस्करण भने ५० ओभरमा भएका छन् ।
प्रतियोगिताको हालसम्मको संस्करण यसप्रकार रहेका छन्:
सन् २०१७
यस प्रतियोगिताको पहिलो संस्करण सन् २०१७ मा आयोजना भएको थियो । प्रतियोगितामा ५ विकास क्षेत्र र ३ विभागीय टोलीहरुको सहभागीता रहेको थियो । सहभागी ८ टोलीलाई २ समूहमा विभाजन गरिएको थियो । हरेक समूहमा शीर्ष २ मा रहने टोलीले सेमिफाइनलमा स्थान बनाएका थिए ।
सेमिफाइनलका २ बिजेता नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबकाबीचमा फाइनल खेल भएको थियो । वर्षाका कारण खेल पूरा हुन नसके पछि पहिलो संस्करणको ट्रफी दुवै टोलीले सेयर गरेका थिए । फाइनल खेल ८ जुन २०१७ मा भएको थियो ।
सन् २०१८
देशमा संघियता कार्यान्वयनका कारण २०१८ देखिका हरेक प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोलीको सहभागीता रहदै आएको छ । प्रतियोगितामा सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरिएको थियो । हरेक समूहमा शीर्ष २ मा रहने टोलीले सेमिफाइनलमा स्थान बनाएका थिए ।
सेमिफाइनलका २ विजेता नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबका बीचमा फाइनल खेल भएको थियो । आर्मीलाई ६ विकेटले हराउँदै एपिएफ प्रतियोगिताको पहिलो च्याम्पियन भएको थियो । यस पटकको फाइनल खेल ११ जुन २०१८ मा भएको थियो ।
सन् २०१९
सन् २०१८ मा जस्तै यस संस्करणमा पनि ७ प्रदेश र ३ विभागीय टोलीको निरन्तरता थियो । सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरिएको थियो । हरेक समूहमा शीर्ष २ मा रहने टोलीले सेमिफाइनलमा स्थान बनाएका थिए ।
सेमिफाइनल २ विजेता पुलिस क्लब र आर्मी क्लब ८ जुन २०१९ मा उपाधीका लागि खेलेका थिए । फाइनल खेलमा आर्मीलाई ४ विकेटले हराउँदै पुलिस च्याम्पियन भएको थियो ।
सन् २०२१
सन् २०२० मा विश्वव्यापी कोरोना भाइरसका कारण प्रतियोगिता हुन सकेन । त्यसकारण सन् २०२१ को सुरुवातमै प्रतियोगिता आयोजना भएको थियो । प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोलीको सहभागीता रहेको थियो ।
सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरिएको थियो । हरेक समूहमा शीर्ष २ मा रहने टोलीले सेमिफाइनलमा स्थान बनाएका थिए । सेमिफाइनलका २ विजेता आर्मी र एपिएफले ३० जुन २०२१ मा उपाधीका लागि खेलेका थिए । फाइनलमा एपिएफलाई ३३ रनले हराएर आर्मी च्याम्पियन भएको थियो ।
सन् २०२२
सन् २०२२ मा २ पटक प्रतियोगिताको आयोजना भयो । पहिलो प्रतियोगिता ट्वान्टी २० फर्म्याटमा भएको थियो । समान १० टिम र २ समूहमा भएको प्रतियोगिताको उपाधी एपिएफले पुलिसलाई पराजित गरि जितेको थियो ।
यसै वर्ष भएको दोस्रो प्रतियोगिता नियमित रहेको थियो । प्रतियोगितामा समान १० सहभागी रहेकामा २ समूह विभाजन गरिएकोमा थियो । हरेक समूहमा शीर्ष २ मा रहने टोलीले सेमिफाइनलमा स्थान बनाएका थिए । सेमिफाइनलका २ विजेता एपिएफ र आर्मीले १२ नोभेम्बर २०२२ मा उपाधी भिडन्त भएको थियो । फाइनलमा आर्मीलाई पराजित गर्दै एपिएफ च्याम्पियन भएको थियो ।
सन् २०२४
पहिलो पटक प्रतियोगिता राउण्ड रोबिन लिगका आधारमा संचालन भएको थियो । पहिलो पटक यस प्रतियोगिताका केही खेल उपत्यकाबाहिर पनि आयोजना भएको थियो । ७ प्रदेश र ३ विभाग गरि जम्मा १० टिमबीच एकआपसमा सबैले सबैसँग खेले पछि शीर्ष २ मा रहेकाबीच फाइनल खेल भएको थियो ।
शीर्ष स्थानमा रहेका पुलिस र आर्मीबीच उपाधीका लागि भिडन्त भएको थियो । ३ फेब्रुअरी २०२४ मा सम्पन्न फाइनलमा आर्मीलाई ६ विकेटले पराजित गरि पुलिस च्याम्पियन भएको थियो ।
सन् २०२५
यस संसकरणमा पहिलो पटक प्रतियोगिताका सबै खेलहरु उपत्यका बाहिर आयोजना भएका थिए । अघिल्ला संस्करणमा झै यस प्रतियोगितामा पनि १० टोलीबीच राउण्ड रोबिन लिगको नियममा खेल भइ शीर्ष २ मा रहेका टोलीबीच फाइनल भएको थियो ।
शीर्ष २ मा रहेका आर्मी र पुलिसबीच फाइनल भिडन्त २९ मार्च २०२५ मा भएको थियो । फाइनल खेलमा आर्मीलाई ६ विकेटले पराजित गर्दै लगातार दोस्रो पटक च्याम्पियन भएको थियो ।
