शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता

रोमाञ्चक जित निकाल्दै एपिएफ फाइनलमा

फाइल तस्विर

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लब शेरबहादुर खड्का स्मृति सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार सम्पन्न लिग चरणको अन्तिम खेलमा एपिएफले न्यु डायमन्ड स्पोर्टस क्लबविरुद्ध ३-२ सेटको रोमाञ्चक जित निकाल्यो ।

जितसँगै तीन खेलमा सात अंक जोडेको एपिएफ शीर्ष स्थानमा रह्यो । पराजित न्यु डायमन्डले समान खेलबाट चार अंक जोड्यो ।

एपिएफले सुरुआती दुई सेट २५-१६, २५-१८ ले आफ्नो पक्षमा पारेको थियो । त्यसपछिका दुई सेटमा न्यु डायमन्ड २५-१९, २५-१३ ले विजयी हुँदा खेल पाँचौं सेटसम्म लम्बियो ।

एपिएफले उपाधिका लागि शनिबार अर्को विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिसले त्रिभुवन आर्मी क्लबलाई २१-१९, १७-२५, २५-१५, २५-१३ ले हराउँदै फाइनल यात्रा तय गरेको हो ।

यसैगरी तेस्रो स्थानका लागि न्यु डायमन्ड र आर्मी भिड्नेछन् ।