राष्ट्रिय महिला भलिबल

पुलिसको पुनरागमन जित

फाइल तस्विर

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले शेरबहादुर खड्का स्मृति सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार सम्पन्न दोस्रो तथा अन्तिम खेलमा पुलिसले न्यु डायमन्ड स्पोर्टस क्लबविरुद्ध ३-१ सेटको पुनरागमन जित निकाल्यो ।

पहिलो सेट १८-२५ ले गुमाएको पुलिसले त्यसपछिका तीन सेट २५-२२, २५-२२,२५-१८ ले आफ्नो पक्षमा पार्यो ।

जितसँगै पुलिसले दुई खेलमा तीन अंक जोडेको छ । पराजित न्यु डायमन्डको पनि समान खेलबाट तीन अंक नै छ ।

पहिलो खेलमा पुलिस अर्को विभागीय टोली नेपाल एपिएफ क्लबसँग ३-१ को सेटमा पराजित हुँदा न्यस डायमन्डले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा हराएको थियो ।

बिहीबार नै सम्पन्न अर्को खेलमा एपिएफले आर्मीविरुद्ध ३-२ सेटको रोमाञ्चक जित निकाल्यो ।