सुर्खेत । खेल्नकै लागि नेपाली खेलाडीले ठूलो संघर्ष गर्नुपर्छ । अझ महिलाको हकमा त त्यो संघर्ष झन् बयान गरिसाध्य हुन्न । तथापि केही नेपाली चेलीले त्यो साहस गरिरहेका छन् । त्यही साहसले त हो नेपाली खेलकुदमा महिला सहभागिता बढ्दो छ भन्ने सन्देश स्थापित भइरहेछ ।
खेल प्रशासकहरू निर्लज्ज भएर भन्छन्, ‘महिलामा नेपालको सम्भावना निकै राम्रो छ । हामी विश्वस्तरमै बलियो चुनौती पेस गर्न सक्छौं ।’
खेलकुदलाई हातमुख जोर्ने अनि विश्व सयर गर्ने माध्यम बनाइरहेका लबस्तरोहरूलाई यसो भन्ने मौका पनि सीमित चेलीहरूको त्यही साहसले दिएको हो ।
खेल्नकै लागि मात्र ठूलो तपस्या गर्ने महिलाको एउटा ज्वलन्त उदाहरण हुन् १६ वर्षीया किशोरी वर्षा ओली । कैलाली लम्कीकी वर्षा अहिले घरपरिवार र पढाइ थाँती राखेर कर्णाली प्रदेशको राजधानी सुर्खेत आइपुगेकी छन् ।
उनी यहाँ महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता खेल्न आएकी हुन् । दुई वर्षदेखि घरेलु फुटबल कोमामा रहँदा भुत्ते भइसकेका खुट्टालाई धार लगाउँदै मैदानसँगको साइनो नवीकरण गर्ने मौका उनका लागि अरू सबथोकभन्दा माथि थियो ।
कर्णालीको टिमबाट महिला लिग छनोटमा मैदान उत्रिएर फुटबलको भोक मेटाउने प्रयासमा रहँदा उनको प्रदर्शन पनि तारिफयोग्य छ ।
प्रतियोगिताका ६ खेलमा तीन गोल गरेकी वर्षाले बिहीबार गण्डकी प्रदेशविरुद्धको खेलमा निर्णायक प्रदर्शन गरिन् । राष्ट्रिय लिगमा पहिलो पटक छानिन अन्तिम खेलमा कर्णालीलाई जित अनिवार्य थियो । जहाँ कर्णाली २–० ले विजयी हुँदा प्लेयर अफ दी म्याच घोषित वर्षाले एक गोल गरेकी थिइन् ।
‘जे सोचेर आएको थियौं, त्योभन्दा धेरै राम्रो भयो,’ वर्षाले खेलाडी डटकमसँग भनिन्, ‘पहिलो पटक महिला राष्ट्रिय लिग खेल्न कर्णाली प्रदेश छनोट भएको छ । खुसी छौं ।’
कर्णालीजस्तै वर्षाका लागि पनि राष्ट्रिय महिला लिगको प्रतियोगिता पहिलो अनुभव हुनेछ । पहिलो पटक राष्ट्रिय लिग खेल्न पाउने अवसरलाई उनी उत्साही देखिन्छिन् ।
‘छनोट प्रतियोगिता राम्रो भयो । पहिलो पटक महिला लिग खेल्दै छु । त्यसमा पनि राम्रो गर्ने योजना छ,’ उनले धक खोलेर सुनाइन् ।
कर्णालीले पहिलो खेलमा बलियो मधेस प्रदेशलाई १–० ले हराउँदा एक मिनेट बित्न नपाउँदै वर्षाले प्रतियोगितामा आफ्नो पहिलो गोल गरेकी थिइन् । यही गोलको अग्रता जोगाउँदै कर्णालीले ३ अंक हासिल गरेको थियो । वर्षाको व्यक्तिगत दोस्रो गोल लुम्बिनी प्रदेशलाई ४–१ ले हराउँदा गरेकी हुन् । लुम्बिनीविरुद्ध समय सकिन ६ मिनेट बाँकी रहँदा वर्षाले गोल गरेकी थिइन् ।
वर्षाको मुख्य भूमिका अट्याकिङ थर्डमा रहनु र बढीभन्दा बढी गोल गर्नु हो । तर, टोलीमा मिडफिल्डर नभएका कारण कहिले मिडफिल्डर त कहिले विंगर भएर खेल्नुपर्ने जिम्मेवारी उनले राम्ररी निर्वाह गरिन् ।
स्ट्राइकरको भूमिकामा केन्द्रित हुन नपाउँदा उनको गोलसंख्या बढ्न सकेन । उमेर समूहको राष्ट्रिय टिमबाट खेल्दा जस्तो वर्षाबाट गोलको वर्षा कर्णालीमा हुन सकेन ।
‘उमेर समूहमा त सधैं स्ट्राइकर भएरै खेलेको हो । तर, यहाँ टोलीको आवश्कताअनुसार धेरै मिडफिल्डबाट खेल्नुपर्यो । त्यसैले सोचेजस्तो धेरै गोल गर्न सकिएन,’ वर्षा चुक्चुकाउँछिन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले दुई वर्षभन्दा लामो समयदेखि रोकिएको महिला लिग गर्ने योजनासहित छनोट प्रतियोगिता खेलाएको थियो ।
सुर्खेतको निर्माणाधीन कर्णाली रंगशालामा भएको प्रतियोगितामा घरेलु टोली कर्णाली ६ खेलमा १२ अंकसहित तेस्रो रह्यो । अपराजित कोशी समान खेलबाट १६ अंकसहित शीर्षस्थान र समान १२ खेल भए पनि हेड टु हेडमा कर्णालीलाई पछि पार्दै सुदूरपश्चिम दोस्रो भयो ।
एन्फाका केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला फुटबल संघका अध्यक्ष रविन चन्द वर्षा प्रतिभावान खेलाडी रहेको र महिला लिगमा पनि टोलीमै समावेश गर्ने बताउँछन् ।
‘वर्षा प्रतिभावान खेलाडी हुन् । कर्णालीका लागि राम्रो खेलिन् । र, नतिजा पनि आएको छ । महिला लिगमा पनि उनी हाम्रो टोलीको मुख्य खेलाडी हुनेछिन्,’ चन्द भन्छन् ।
आमाबुवा बेंगलुरुमा वर्षाका आमा निर्मला र बुवा मीनबहादुर ओली हाल रोजगारी सिलसिलामा भारतको बेंगलुरुमा छन् । आमाबुवा नभएका कारण घरमा भाइ हेर्ने जिम्मेवारी वर्षाकै काँधमा छ । तर उनी फुपूलाई भाइ हेर्ने जिम्मा सुम्पिएर पढाइ भुलेर महिला लिग छनोट खेल्न सुर्खेत आइपुगेकी हुन् ।
‘आफ्नो पनि पढाइ थियो । भाइको पनि पढाइ छ । आमाबुवा भारतमा हुँदा भाइको जिम्मा फुपूदिदीलाई लगाएर आएको हो,’ वर्षाले अभावका बावजुद परिवारबाट फुटबल खेल्न दरिलो साथ पाएकी छन्, ‘फुटबल खेल्न भनेपछि मम्मीले जुत्ता पनि किनिदिनुहुन्छ । धेरै साथ दिनुभएको छ । त्यसैले पनि आज निर्धक्क खेलिरहेको छु ।’
सावित्रासँग खेल्ने धोको
नेपालको उमेर समूहबाट खेलिसकेकी वर्षाको सपना धेरै ठूलो छैन । खेल्नलाई परिवारको राम्रो साथ छ । ११ कक्षामा अध्ययनरत उनको अबको योजना पढाइ र फुटबल सँगसँगै अगाडि बढाउने हो ।
फुटबलमा अगाडि बढ्दै जाँदा सशस्त्र प्रहरी बलको विभागीय टोली एपिएफमा आबद्ध भएर ‘गोलमेसिन’ साम्बा अर्थात सावित्रा भण्डारीसँगै खेल्ने हो ।
‘बाआमाले खेल्न साथ दिनुभएको छ । अब सशस्त्रबाट सावित्रा दिदीसँगै खेल्ने सपना छ,’ वर्षाले भनिन्, ‘दिदीजस्तै त बन्न सकिँदैन होला । तर, राम्रो गर्ने प्रयास गर्नेछु ।’
उमेर समूहमा देशको प्रतिनिधित्ववर्षाले खेल्न सुरु गरेको पनि धेरै भएको छैन । तीन वर्ष अगाडि कोभिड–१९ महामारीका कारण लकडाउन भएका बेला लम्कीमै उनले हल्काफुल्का फुटबल खेल्न सुरु गरेकी हुन् ।
९ कक्षामा पढ्दै गर्दा यु–१४ फुटबल छनोट कैलालीमा हुने भयो । प्रशिक्षक मोहन चौधरीको सल्लाहमा धनगढीमा भएको छनोटमा सहभागी हुन पुगिन् । धनगढीमा भएको छनोटमा प्रशिक्षको रोजाइमा परिन् ।
उनमा फुटबलिङ क्षमता राम्रै थियो । यही कारण जिल्ला, प्रदेश हुँदै केन्द्रीय छनोटसम्म उनको यात्रा सहजै सम्भव भयो । विभिन्न जिल्ला र प्रदेशबाट दुई सयभन्दा बढी खेलाडी राष्ट्रिय टिममा छानिन एन्फा मुख्यालय सातदोबाटो आइपुगेका थिए ।
भगवती थापा मुख्य प्रशिक्षक थिइन् । दुई सयभन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दै वर्षा २३ सदस्यीय राष्ट्रिय युवा टिममा स्थान बनाउन सफल भइन् ।
त्यो त्यही टोली थियो, जसले २०७९ कात्तिकमा बंगलादेशमा भएको साफ यु–१५ महिला च्याम्पियनससिपको उपाधि जितेको थियो । वर्षा एक्लैले प्रतियोगितामा ५ गोल गरेकी थिइन् ।
भुटानविरुद्धको पहिलो खेलमा ७–० को जित निकाल्दा वर्षा एक्लैले ४ गोल गरिन् । दोस्रो खेलमा बंगलादेशलाई १–० ले हराउँदा पनि वर्षाले नै ८७औं मिनेटमा गरेको गोल निर्णायक भएको थियो ।वर्षाले १७ वर्षमुनिको महिला राष्ट्रिय टिमबाट पनि खेलिन् । ढाकामा २०७९ सालमै भएको साफ यु–१७ च्याम्पियनसिपमा आमन्त्रित टोली रसिया च्याम्पियन भएको थियो । वर्षाले भारतविरुद्ध एक र भुटानविरुद्ध दुई गरी तीन गोल गरेकी थिइन् । राउन्ड रोबिन आधारमा भएको प्रतियोगितामा रुस आमन्त्रित टोलीको रूपमा विजेता हुँदा नेपाल चौथो भएको थियो ।
०८० वैशाख १५ गते भएको एएफसी यु–१७ महिला एसियन कप छनोटमा पनि वर्षाले जोर्डनविरुद्ध ४–१ को जितमा एक गोल गरिन् ।
विभिन्न उमेर समूहका राष्ट्रिय टिमबाट खेलिसकेकी वर्षाको योजना भने महिला लिगमा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टोलीबाट खेल्ने रहेको छ ।
‘पहिला त महिला लिगमा उत्कृष्ट प्रदर्शन गर्ने सोच बनाएको छु । हरेक खेलाडी झै मेरो पनि राष्ट्रिय टोलीबाट खेल्ने योजना छ । अब, त्यसैमा केन्द्रित हुन्छु,’ वर्षाले सुनाइन् ।