बिर्तामोड, झापा । विभागीय टोली नेपाल पुलिस क्लबले शुक्रबार स्थानीय टोली कोशी प्रदेश भलिबल संघमाथि ३–० को सोझो सेटमा पराजित गर्दै अर्जुनधारा महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।
बिहीबार समूह ‘बी’ को पहिलो खेलमा न्यु डायमण्ड एकेडेमीमाथि जित हासिल गरेको पुलिस लगातार दोस्रो जित हासिल गरेपछि समूह विजेताको हैसियतमा अन्तिम चार प्रवेश गरेको हो ।
शनिबार हुने अन्तिम चारको खेलमा पुलिसले समूह ‘ए’ को उपविजेता अर्को विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्माी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । शनिबारै हुने अर्को सेमिफाइनलमा समूह ‘ए’को विजेता एपिएफले समूह ‘बी’ को उपविजेता न्यु डायमण्डसँग खेल्नेछ ।
अर्जुनधारा नगरपालिकास्थित लक्ष्मी माविको कोर्टमा जारी प्रतियोगिताअन्तर्गत समूहको आफ्नो अन्तिम खेलमा पुलिसले २५–१६, २५–१७, २५–११ को विजयी नतिजा निकालेको थियो । खेलमा पुलिसका लागि उच्च प्रदर्शन गरेकी आशिका क्षेत्री प्लेयर अफ दी म्याच चुनिइन । उनले पुरस्कारस्वरुप नगद ५ हजार रुपैयाँ प्राप्त गरिन ।
प्रतियोगिताको फाइनल आइतबार हुनेछ । प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले १ लाख तथा सेमिफाइनलमा पराजित हुने दुई टोलीले समान ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ पाउनेछ भने प्रत्येक खेलको प्लेयर अफ दी म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर र उत्कृष्ट लिबेरोले जनही १० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।
