काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को प्लेअफ समीकरण पूरा भएको छ । शुक्रबार लुम्बिनीले आफ्नो अन्तिम खेलमा जनकपुरलाई हराएसँगै प्लेअफ पुग्ने सबै टोलीको टुंगो लागेको हो ।
र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा शुक्रबार लुम्बिनीले जनकपुरमाथि चार विकेटको विजयी हासिल गर्यो । जितसँगै लुम्बिनीले कम्तिमा पनि चौथो स्थान पक्का गर्यो । हारसँगै साबिक विजेता जनकपुरको प्लेअफ सम्भावना सकियो । जनकपुरसँगै कर्णाली याक्स र चितवन राईनोज पनि पहिलो चरणबाटै बाहिरियो । सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्सले यसअघि नै अर्को चरणमा पुगिसकेका थिए ।
जनकपुरले दिएको १३३ रनको सामान्य लक्ष्य लुम्बिनीले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ३४ र डार्सी सर्टले ३० रन बनाए । त्यस्तै योहानस स्मिथले २१ र निकोलस डिक्वेलाले १७ रनको योगदान गरे । दीलिप नाथले १५ रन जोडे ।
जनकपुरका लागि संगीत कूरेले तीन तथा मयन यादवले दुई विकेट लिए । एक विकेट संजय कृष्णमूर्तिको नाममा रह्यो ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको जनकपुरले २० ओभरको समाप्तिमा ६ विकेट गुमाउँदै १३२ रनको योगफल खडा गरेको थियो । जनकपुरका लागि संगीतले ४५ रनको पारी खेले । त्यस्तै मयनले २७ र आसिफ शेखले २० रन जोडे । कृष्णमूर्तिले १४ र शुभ कंशाकरले ११ रन बनाए ।
लुम्बिनीका लागि रोहित र शेर मल्लले समान दुई विकेट लिए । स्मिथ र रुवेन ट्रम्पलम्यानको नाममा समान एक विकेट रह्यो ।
