पोखरा स्पोर्टस अवार्ड

पोखरा स्पोर्टस अवार्डमा गायक सपुत र दाहालले प्रस्तुती दिने

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने आठौं पोखरा स्पोर्टस अवार्डमा गायक प्रकाश सपुत र निर्मल दाहालले प्रस्तुती दिने भएका छन् ।

बैशाख २८ गते शुक्रबार दिउँसो ३ बजेबाट पोखरा सभागृह हलमा आयोजना हुने कार्यक्रममा सपुतले आफ्ना चर्चित गीत सुनाउनेछन् । कार्यक्रम हेर्नको लागि प्रवेश निःशुल्क रहेको मञ्चका महासचिव तथा प्रचार प्रसार उपसमितिका संयोजक राजाराम पौडेलले जानकारी दिए ।

नेपाली सांगीतिक क्षेत्रमा स्थापित सपुत बागलुङमा जन्मिएका हुन् ।

यसैगरी काठमाडौंका गायक दाहालले खेलकुदप्रति समर्पित आफ्नो गीत ‘हार जित’ गाउने छन् । यसअघि उनले यो गीत नेपाल खेलकुद पत्रकार मञ्चद्धारा आयोजित अवार्ड कार्यक्रममा पनि प्रस्तुत गरेका थिए ।

यी दुईसँगै गायक सन्तोष बस्याल, नृत्यतर्फ तरेली साँस्कृतिक परिवारको लाठी नाच, कौरा र झ्याउरे नृत्य तथा बि बोइङ गण्डकीको प्रस्तुती रहने साँस्कृतिक कार्यक्रम उपसमितिका संयोजक मन क्षेत्रीले खुलाए ।  अवार्ड कार्यक्रममा उपस्थित हुन सबैलाई आयोजक मञ्च गण्डकीले अनुरोध गरेको छ ।

अवार्ड कार्यक्रममा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष दीननाथ बरालले जनाए ।

मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक/एक थान टेलजी इलेक्ट्रिक स्कुटर प्रदान गर्ने जनाएको छ । त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५ हजार रुपैयाँ प्रदान गरिने छ ।