आइसिसी ट्वान्टी २० विश्वकप

ट्वान्टी-२० विश्वकप समूह ‘बी’: अस्ट्रेलिया र इङ्ल्यान्ड बलियो

काठमाडौं । आइसिसी ट्वान्टी-२० विश्वकप क्रिकेटमा समूह ‘बी’ को हाइलाइट्समा पूर्वविजेता अस्ट्रेलिया र इङ्ल्यान्ड रहेका छन् ।

इङ्ल्यान्ड विश्वकपको इतिहासमा सर्वाधिक दुई पटक उपाधि जित्ने टोली हो । अस्ट्रेलियाले एक पटक उपाधि जितेको छ । यही समूहमा रहेका स्कटल्यान्ड, नामिबिया र ओमानको सहभागिता भने खासै उपलब्धिमूलक हुन सकेको छैन ।

इङ्ल्यान्डले सन् २०१० र २०२२ को उपाधि जितेको हो । वेस्ट इन्डिजमा भएको तेस्रो विश्वकपको फाइनलमा अस्ट्रेलियालाई नै ७ विकेटले हराउँदै इङ्ल्यान्डले उपाधि जितेको थियाे । दोस्रो पटक अस्ट्रेलियामा आयोजना हुँदा पाकिस्तानलाई ५ विकेटले हराउँदै उपाधि हात पारेको थियो ।

समूह ‘बी’ का सबै खेल वेस्ट इन्डिजमा हुनेछ । 

अस्ट्रेलियाले सन् २०२१ मा युएई र ओमानले संयुक्त आयोजना गर्दा न्युजिल्यान्डलाई ८ विकेटले हराउँदै उपाधि जितेको थियो । आरोन फिन्चको कप्तानीमा पहिलो पटक अस्ट्रेलिया उपाधि जित्न सफल भएको हो ।

यसपटक अस्ट्रेलियाको कप्तान मिचेल मार्स छन् । उनको लक्ष्य इङ्ल्यान्ड र वेस्ट इन्डिजको नाममा रहेको दुई उपाधि बराबर गर्नेछ । टोलीमा एकदिवसीय विश्वकप जिताएका कप्तान प्याट कमिन्ससँगै नाथन इलिस, क्यामरन ग्रिन, जोस हेजलउड, ट्राभिस हेड, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, मार्कस स्टोनिइस, डेविड वार्नर र एडन जाम्पालगायतका खेलाडी छन् ।

इङ्ल्यान्डको कप्तानीमा जस बटलर छन् ।  टोलीमा मोइन अली, जोफ्रा आर्चर, जोनी बेरिस्टो, साम करन, टोम हार्टली, विल ज्याक्स, क्रिस जोर्डन, लियाम लिभिङस्टन, आदिल रशिदलगायत छन् ।

नामिबियाको कप्तानमा जेरार्ड इरस्मस छन् । उपकप्तानमा जेजे स्मिथ छन् । अलराउन्डर निकोल लोफ्टी इटोन, माइकल भान लिङ्गने, ज्याक ब्रासेललगायत छन् । ओमानले पहिलो पटक सन् २०२१ र दोस्रो पटक २०२२ को विश्वकप खेलेको थियो ।

जुन ८ मा बहुप्रतीक्षित भिडन्त अस्ट्रेलिया र इङ्ल्यान्डबीच हुनेछ । 

ओमानले अकिब इल्यासको कप्तानमा खेल्नेछ । जिसन मक्सुद, कश्यप प्रजापति, प्रतीक एथाभाले, आयान खान, साहिब खान, मोहम्मद नदिम, विलाल खान, करिमउल्लाहलगायत छन् । ओमानले सन् २०१६ र २०२१ पछि तेस्रो पटक विश्वकप खेल्न लागेको हो ।

स्कटल्यान्ड छैटौं पटक विश्वकप खेल्दै छ । तर टोली समूह चरणबाट माथि जान सकेको छैन । स्कटल्यान्डले पहिलो दुई संस्करण २००७ र २००९ पछि एकै पटक सन् २०१६ मा प्रतिस्पर्धा गरेको थियो । त्यसपछि लगातार तीन संस्करण खेलेको छ । यसपालि टोलीको कप्तानीमा रिची बेरिङ्टन छन् । म्याथ्यु क्रोस, ब्राड कुरी, क्रिस ग्रेभस, ओली हाइर्स, ज्याक्स जार्भिस, माइकल जोन्स, क्रिस सोल, सफ्यान सारिफलगायत छन् ।

समूह ‘बी’ का सबै खेल वेस्ट इन्डिजमा हुनेछ । पहिलो खेलमा नामिबिया र ओमानबीच जुन ३ मा प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल जुन ४ मा इङ्ल्यान्ड र स्कटल्यान्डबीच हुँदा जुन ६ मा अस्ट्रेलिया र ओमानबीच भिडन्त हुनेछ ।

जुन ७ मा नामिबिया र स्कटल्यान्ड हुनेछ भने जुन ८ मा बहुप्रतीक्षित भिडन्त अस्ट्रेलिया र इङ्ल्यान्डबीच हुनेछ । जुन ९ मा ओमान र स्कटल्यान्ड, जुन १२ अस्ट्रेलिया र नामिबिया, जुन १४ मा इङ्ल्यान्ड र ओमान, जुन १५ मा नामिबिया र इङ्ल्यान्ड, जुन १६ मा अस्ट्रेलिया र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुने तालिका छ ।