ट्वान्टी २० शृंखला

आसिफ र अनिलको अर्धशतकमा नेपालको सान्त्वना जित

काठमाडौं । ओपनर आसिफ शेख र तेस्रो नम्बरका ब्याटर अनिल शाहको अर्धशतकप्रेरित नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी २० शृंखलाको अन्तिम खेलमा सान्त्वना जित हासिल गरेको छ ।

र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार नेपालले वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गरेको हो । जितका बावजुद नेपालले पाँच खेलको शृंखला ३-२ ले गुमायो ।

यसअघि नेपालले पहिलो खेलमा चार विकेटको जित निकालेको थियो । त्यसपछिका खेलमा भने वेस्ट इन्डिजले  १०, ७६ र २८ रनको जित हासिल गरेको थियो ।

शनिबार टस जितेर ब्याटिङ रोजेको इन्डिजले २० ओभरको समाप्तिमा ७ विकेट गुमाउँदै १७२ रन जोडेको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले १९ औं ओभरको पाँचौं बलमा लक्ष्य पूरा गरेको हो ।

इन्डिजका लागि एलिक अथानेजले २९ बलमा एक छक्का र तीन चौक्काको मद्धतमा सर्वाधिक ४२ रनको योगदान गरे । त्यस्तै कप्तान रोस्टन चेजले २३ बलमा पाँच चौक्का प्रहार गर्दै ३३ रन जोडे । त्यस्तै ओपनर जोन्सन चाल्र्सले २० बलमा समान दुई चौका र छक्का प्रहार गर्दै २० रन बनाए ।

मध्यक्रमका ब्याटर म्याथ्यु फोर्डेले २३ रन जोड्दा ओपनर कदीप एलिन र तेस्रो नम्बरमा आएका मार्क डिएलले समान ११ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि सागर ढकाल र सोमपाल कामीले समान तीन विकेट लिँदा अभिनास बोहराको नाममा एक विकेट रह्यो । ३९ रन खर्चेका दीपेन्द्र सिंह ऐरि सबैभन्दा महंगा बलर बने ।

कप्तान रोहित पौडेलको दर्शनीय क्याचमा नेपालले दोस्रो ओभरको चौंथो बलमा पहिलो विकेट लिएको थियो ।

सागरको ओभरमा अघिल्ला दुई बलमा क्रमशः छक्का र चौका प्रहार गरेका कदीम एलिन चौंथो बलमा ११ रन बनाएर पेभिलियन फर्किएका थिए ।

त्यसपछि दोस्रो विकेट पछ्याएको नेपाललाई दुईपटक भाग्यले साथ दिएन । सोमपालले पाँचौं ओभरमा डिएललाई दुई पटक बोल्ड गरेका थिए । तर, बलले मान्यता नपाउँदा मार्कले जीवनदान पाए ।

दोस्रो बलमा सोमपालले मार्कलाई पहिलो पटक बोल्ड गरेका थिए । तर, उक्त बललाई अम्पायरले नो बल दिए । त्यसलगत्तै सोमपालले वाइड बल फालेका थिए । त्यसको अर्को बलमा सोमपालले पुनः मार्कलाई बोल्ड गरे । जसले फेरि एकपटक मान्यता पाएन ।

आठौं ओभरमा नेपालले दोस्रो र तेस्रो  सफलता हासिल गर्यो । सागरले पहिलो र तेस्रो बलमा व्यक्तिगत दोस्रो र तेस्रो विकेट लिए ।

पहिलो बलमा ओपनर चाल्र्सलाई कट एण्ड बोल्ड गरेका सागरले तेस्रो बलमा मार्कलाई आउट गरे । छक्का प्रहार गर्ने क्रममा मार्क कप्तान रोहित पौडेलबाट क्याच भए ।

नेपालले चौंथो सफलताका रुपमा कप्तान चेजको विकेट प्राप्त गरेको थियो । १४औं ओभरको तेस्रो बलमा अभिनाशले चेजलाई सन्दीप जोराबाट क्याच गराए ।

१७ औं ओभरको तेस्रो बलमा फोर्डेलाई पेभिलियनको बाटो देखाएका सोमपालले व्यक्तिगत पहिलो विकेट लिए । सोमपालको बलमा फोर्डे कुशल भुर्तेलबाट क्याच भए । आफ्नो अन्तिम ओभरमा सोमपालले थप दुई विकेट लिन सफल भए । यसपाली फाबियन एलेन र गुडाकेश मोटी सोमपालको शिकार बन्न पुगे । उनीहरुले क्रमशः तीन र एक रन जोडे ।

नेपालले पहिलो विकेटका रूपमा ओपनर कुशल भुर्तेललाई १३ रनमा गुमाएको थियो ।

कुशललाई दोस्रो ओभरको चौथो बलमा ओबेड म्याकोयले हाइडेन वाल्सबाट क्याच गराएका थिए । त्यसपछि नेपालको पारी आशिफ र अनिलले सम्हालेका थिए । उनीहरुले ९६ रनको साझेदारी गरे ।

आसिफले ३२ बलमा दुई चौका र पाँच छक्का प्रहार गर्दै ५० रन पूरा गरेका थिए । तर, उनले अर्धशतकपछि तीन बल खेल्दा एक रन मात्र थप्न सके । आसिफलाई पनि ओबेडले नैपेभिलियनको बाटो देखाए । ओबेडको बलमा उनी फोर्डेबाट क्याच भए ।

त्यसपछि अनिल पनि ४१ बलमा समान चार चौका र छक्काको मद्धतमा ५८ रन बनाउँदै ओबेडको शिकार बने । ओबेडको बलमा अनिल मार्कबाट क्याच भए । शृंखलमा अनिल र आशिफको यो पहिलो अर्धशतक हो ।

त्यसपछि आएका कुशल मल्लले नटआउट ३७ रनको योगदान दिँदा दीपेन्द्रसिंह पाँच रनमा आउट भए । उनी फोर्डेको बलमा एलीनबाट क्याच भए ।

दीपेन्द्रको विकेटपछि धर्मराएको नेपालको इनिङ  कुशलले सम्हालेका थिए । इन्डिज जित उन्मुख रहँदा कुशलले १९औं ओभरमा एक छक्का र तीन चौका प्रहार गर्दै नेपाललाई जित दिलाए ।