जयकुमार नाथ शाह स्मृति यु-१६ क्रिकेट

मोक्षदाको लगातार दोस्रो जित

काठमाडौं । जयकुमार नाथ शाह स्मृति यु-१६ ट्वान्टी २० अन्तर विद्यालय क्रिकेट प्रतियोगितामा मोक्षदा स्कुलले लगातार दोस्रो जित निकालेको छ ।

मुलपानी क्रिकेट मैदान (माथिल्लो)मा शनिबार मोक्षदाले लर्निङ रियलम इन्टरनेसनल स्कुललाई सात विकेटले पराजित गर्यो ।

जितसँगै समूह ‘डी’ को मोक्षदाले दुई खेलमा चार अंक जोडेको छ । पराजित लर्निङको समान देलबाट दुई अंक छ ।

लर्निङले प्रस्तुत गरेको ६८ रनको लक्ष्य मोक्षदाले १२.२ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो । मोक्षदाका लागि सम्यम नेपालले ३८ र शौर्यवीर चन्दले १८ रन बनाए ।

लर्निङका लागि समृद्ध केसीले दुई र निश्चल रोकाले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको लर्निङले १८.३ ओभरमा सबै विकेट गुमाउँदै ६७ रनको योगफल तयार पार्यो । लर्निङका लागि निश्चल रोका र अनुप सिंहले समान १५ रन बनाए ।

मोक्षदाका लागि नितिश बुढाथोकी र अवी राजपुतले समान तीन तथा सम्यम नेपालले एक विमेट लिए ।

शनिबार नै सम्पन्न खेलमा रत्नराज्य स्कुलले नेक्सस एकेडेमीलाई ९६ रन, केएमसीले अपि स्कुललाई सुपर ओभरमा तथा एन्जल हार्ट स्कुलले जेम्स स्कुललाई १० विकेटले पराजित गरे ।