गोदावरी मेयर कप फुटबल प्रतियोगिता

गोदावरी मेयर कपः सेमिफाइनल समिकरण पूरा

काठमाडौं महानगरपालिका

ललितपुर काठमाडौं महानगरपालिका र मध्यपुर थिमि नगरपालिका प्रथम उपत्यका ब्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

यससँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । मंगलबार हुने सेमिफानइनलमा काठमाडौं र मध्यपुर थिमि तथा चन्द्रागिरी र महालक्ष्मी नगरपालिका भिड्ने छन् ।

गोदावरी १० स्थित झ्यालुन्टार मैदानमा शनिबार सम्पन्न खेलामा मध्यपुरले कीर्तिपुर नगरपालिकालाई ५-४ पराजित गर्यो ।

मध्यपुरका लागि दीपक बासानले चौथो र ५४ औं मिनेटमा गोल गरे । यसैगरी सुदर्शन श्रेष्ठले ४१ औं (पेनाल्टी), रोहन खड्गीले ५८औं र  कप्तान यमन राजबाहाकले ६०औं मिनेटमा गोल थपे ।

दीपक बासान

कीर्तिपुरका यमन महर्जनले ह्याट्रिक गरे पनि टोलीलाई जित दिलाउन भने सकेनन् ।  उनको यो प्रतियोगितामा दोस्रो ह्याट्रिक हो ।  

यसअघि यमनले तारकेश्वर नगरपालिकाविरुद्ध पनि ह्याट्रिक गरेका थिए ।  यमनले खेलको ४३, ६६ र ८२औं मिनेटमा गोल गरे । सन्जोग महर्जनले खेलको ८१ औं मिनेटमा गोल थपे ।  

शनिबार नै भएको अन्तिम क्वार्टरफाइनलमा काठमाडौं आयोजक गोदावरी नगरपालिका ‘बी’लाई  २-१ ले हरायो ।

काठमाडौंका लागि राज पौडेलले २० र ६५औं मिनेटमा गोल गरे । गोदावरीका लागि राजन मर्हजनले ९०औं  मिनेटमा गोल फर्काए ।