पोखरा स्पोर्टस अवार्ड

सहारालाई उत्कृष्ट क्लबकाे अवार्ड

सहारा एकेडेमी

पोखरा । आठौं पोखरा स्पोर्टस अवार्ड अन्तर्गत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबतर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त गर्ने भएको छ ।

प्रतिभा छनोट समितिको सिफारिसलाई आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको कार्यसमिति बैठकले अनुमोदन गरेसँगै सहाराले अवार्ड प्राप्त गर्ने निश्चित भएको हो ।

छैटौं सस्करणसम्म यो विधामा खेल संघलाई मात्र अवार्ड प्रदान गरिदै आएकोमा सातौँ संस्करणबाट खेल संघ वा क्लब मध्येबाट उत्कृष्ट छान्ने व्यवस्था गरिएको थियो । यो अवार्ड पाउने सहारा पहिलो क्लब बनेको मञ्चका महासचिव राजाराम पौडेलले जनाए ।

सहारा क्लबको स्थापना २०५५ भादाै ३० गते भएको हो । क्लबले २०५७ मा  क्लबस्तरियत  सहारा कप फुटबल प्रतियोगिता संचालन गरेको थियो ।

क्लबले २०५८ सालमा ड्रिम प्रोजेक्टको रुपमा फुटबल एकेडेमी संचालन गर्यो । एकेडेमीका लागि २०६३ सालमा पोखरा १७ दोविल्लामा २६ रोपनी जग्गा खरिद गरि २०६९ सालमा फुटबल मैदानसँगै भवन निमार्ण सम्पन्न गरेको थियो  । अहिले सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमार्फत क्लबले अनाथ तथा असाहय बालकलाई पालनपोषणका साथमा फुटबल समेत सिकाउँदै आइरहेको छ ।

२०६५ सालमा फिफाले सहारा एकेडेमीको डकुमेन्ट्री बनाएको थियो । जुन डकुमेन्ट्रीलाई बिबिसी, इएसपिएन, स्टार स्पोर्टस, टेन स्पोर्टसले प्रसारण गरेका थिए । यसबाट क्लबको चर्चा विश्वभर फैलिएको थियो ।

२०५८ सालमा क्याराभान गोल्डकप फुटबल प्रतियोगिता आयोजना गरेको क्लबले त्यसपछि प्रत्येक वर्ष अन्तर क्लब आमन्त्रीत आहा रारा फुटबल प्रतियोगिता आयोजना गदै आएको छ ।

सहाराले खेल क्षेत्रमा काम गदै आएका पत्रकारहरुको हौसला बढाउन २०६३ सालबाट सहारा खेलकुद पत्रकारिता पुरस्कार वितरण गदै आएको छ ।

२०७२सालको भुकम्प पछि सहारा युके, सहारा हङकङ, अरुण फाउण्डेशन सँगको समन्वयमा गोरखाको घैरुङस्थित श्री गणेश प्राविमा आठ कोठे भवन, सिन्धुपाल्चोक हैबुङस्थित श्री हैबुङ महादेवस्थान माविमा पाँचकोठे भवन र कास्कीको सिदिङस्थित सरस्वती आधारभुत विद्यालयमा पुननिमार्णको लागि सहयोग समेत गरेको थियो ।

यसका अलावा थुप्रै सामाजिक कार्य र खेल गतिविधिका कारण क्लबले आफ्नो ओज बढाएको छ । यहीं वैशाख २८ गते शुक्रबार दिउँसो ३ बजेबाट पोखरा सभागृह हलमा आयोजना हुने भव्य कार्यक्रममा अवार्ड अर्पण गरिनेछ ।

अवार्ड कार्यक्रममा वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबसँगै, वर्ष उत्कृष्ट प्रशिक्षक, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी र वर्ष उत्कृष्ट खेल पत्रकारलाइ सम्मान गरिने मञ्चका महासचिव पौडेलले जनाए ।

मञ्चले वर्षको उत्कृष्ट महिला र पुरुष खेलाडीलाई एक÷एक थान टेलजी इलेक्ट्रिक स्कुटर प्रदान गर्ने जनाएको छ । त्यसबाहेक अन्य सबै विधाका विजेताले जनही ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।